Logo

राष्ट्रिय प्रशारण लाइन डोल्पामा जोडियो

डोल्पामा ११ केभी विद्युत प्रशारण लाइन जोडिएको छ । रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाको गोतामकोटबाट त्रिवेणी हुँदै डोल्पामा ११ केभी विद्युत प्रशारण लाइन पुगेको हो । डोल्पाको जुफाल, त्रिपुराकोट, सुँ, जिउँलगायतका बस्तीमा राष्ट्रिय प्रसारण लाइनको परीक्षण गरिएको नेपाल विद्युत् प्राधिकरण कर्णाली प्रदेशका प्रमख शम्भु कुसियात यादवले बताए ।

त्रिपुराकोट, जुफाल, सुँ, जिँउलगायतका बस्तीमा बिहीबार दिउँसो ११ केभी प्रसारणको विद्युत बलिसकेको डोल्पा विद्युत प्राद्यिकरणले पुष्टि गरेको छ । दुनैसम्म विद्युत सेवा पुर्‍याउने कार्य भइरहेको प्रदेश कार्यालयले जनाएको छ । त्रिपुराकोटमा सब स्टेशन निर्माणको काम सुरु भएकाले एक वर्ष भित्र पालिकामा समेत विस्तार गर्ने योजना रहेको छ । अहिले पालिकामा ठेक्का खोलेर सर्बेको काम भइरहेको प्रदेश कार्यालयले जनाएको छ ।

मुसीकोट हुँदै गोतामकोटबाट डोल्पा जोडिएको ११ केभी प्रशारण लाइन जाजरकोटको चौखामा निर्माणधिन सबस्टेशन पुरा हुने वित्तिकै अर्को लाइनमा समेत डोल्पा जोडिने छ । अहिले चौखामा तीव्र रुपमा काम भइरहेको छ । जाजरकोटकै सांसद शक्तिबहादुर बस्नेत उर्जामन्त्री भएपछि कामले तीव्रता पाएको हो । ४०० केभी प्रशारण लाइन निर्माणका लागि १५ अर्ब लागतको अनुमानसहित भारतीय बैंकसँग सहकार्य भइरहेको राष्ट्रिय प्रशारण ग्रिट कम्पनी लिमिटेडका सिइओ डा नेत्र ज्ञवालीले बताए ।

उनका अनुसार भारतीय एक्जिम बैंकसँग सहकार्य गर्ने विषयमा वार्ता भैरहेको छ । ४०० केभी प्रशारण लाइनका जाजरकोटको दानी पिपलमा मुख्य सबस्टेशन निर्माण गर्न जग्गा अधिग्रहणको काम भइसकेको छ । त्यस्तै सुर्खेतको मैनतडामा समेत जग्गा अधिग्रहणको काम भइसकेको छ । भेरी नदीबाट निर्माण हुने विद्युत आयोजना, जगदुल्ला जलविद्युत आयोजना १०६ मेगावाट, जगदुल्ला जलविद्युत आयोजना ८२.३ मेगावाट, नलगाड जलविद्युत आयोजना ४१७ मेगावाट विद्युत र सानीभेरी नदीबाट उत्पादित विद्युत नलगाड नगरपालिकाको दानीपिपलमा जम्मा गरेर सुर्खेतको मैनतडा सबस्टेसनमा पठाएर राष्ट्रिय प्रसारणमा जोडिने लक्ष्य छ ।

भेरी करिडोरमा निर्माण हुने प्रसारणलाइन र सबस्टेसन निर्माण गर्न भारतीय एक्जिम बैंकले इच्छा जाहेर गरेको अधिकृत ज्ञवालीले बताए । ४०० किलोभोल्ट प्रसारणलाइन परियोजनामा लगानी गर्न उक्त बैंकले इच्छा जाहेर गरेपछि अहिले आवश्यक कागजात उपलब्ध गराउने काम भइरहेको उनले बताए । छलफल अनुसार काम भए अर्को वर्ष निर्माण चरणमा जाने सम्भावना रहेको उनले बताए । प्रसारण लाइनको विस्तृत अध्ययन प्रतिवेदन र वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन तयार भइसकेको छ ।

करिब ६ महिनाअघि नै स्वदेशी कम्पनी नियुक्त गरेर अध्ययन गरिएको ज्ञवाली बताउँछन् । आन्तरिक स्रोतबाट उक्त रकम जुटाउन नसक्ने अवस्था आएपछि आयोजना निर्माणका लागि ऋण लिनुपर्ने अवस्था आएको हो । ऊर्जा मन्त्रालयले नलगाड जलविद्युत आयोजनाको कम्पनी खडा गरेर विस्तृत अध्ययन गरिरहेको छ । चालू वर्षभित्रै अध्ययन सक्ने योजना रहेको उसले बताएको छ । १०६ मेगावाटको जगदुल्ला जलविद्युत आयोजना, ८२ मेगावाटको जगदुल्ला ‘ए’ लगायतका आयोजनाको विद्युतसमेत यही प्रसारण लाइनमार्फत् राष्ट्रिय प्रणालीमा आउने छ ।

जगदुल्ला जलविद्युत आयोजना आगामी वर्षबाट निर्माणमा लैजाने तयारीमा रहेको छ । भेरी करिडोरभित्र ठूला-ठूला आयोजना निर्माण हुन लागेकाले नेपाल विद्युत प्राधिकरणको बाफिकोट सबस्टेसनमा जोडिने बिजुलीसमेत नलगाडको दानीपिपलमै ल्याइने भएको छ । यहाँ दुई हजार ५०० मेगावाट विद्युत यस सबस्टेसनबाट बाहिर जाने लक्ष्य छ । दानीपिपल लगायतका सबस्टेसन निर्माण कार्य सुरु गरेको चार वर्षभित्र पूरा गर्ने लक्ष्य छ ।

सुरुको नलगाड सबस्टेसन दानीपिपल र अन्तिमबिन्दु सुर्खेतको मेनटाडा सबस्टेसनमा रहने छ । प्रसारणलाइन जाजरकोटबाट सुरु भएर रुकुम, सल्यान हुँदै सुर्खेत पुग्ने छ । प्रसारण लाइनका लागि जग्गा मूल्यांकनको काम बाँकी छ । ६ हजार ९२० रोपनी जग्गा अधिग्रहण गरिने छ भने सन् २०२३ डिसेम्बरबाट निर्माण थालेर सन् २०२७ नोभेम्बरमा सक्ने योजना कम्पनीले बनाएको छ । यस क्षेत्रमा ठूला रुख तथा धेरै जग्गा अधिग्रहण नहुने कम्पनीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्