निर्जीवन बीमा कम्पनीले बढाए शुल्क, मोटर बीमाको हिस्सा बढी

चालु आर्थिक वर्षको नौ महिनामा निर्जीवन बीमा कम्पनीहरूले बीमा शुल्क आर्जनको अवस्थामा सुधार गरेका छन् । बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आवको नौ महिनामा कम्पनीहरूले ३० अर्ब १ करोड ४८ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । आव २०७८/०७९ को सोही अवधिमा २८ अर्ब ८७ करोड ११ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेकोमा चालु आवमा ४.५८ प्रतिशत बढेको हो ।
प्राधिकरणका अनुसार चालु आवको नौ महिनासम्ममा २१ लाख ६६ हजार ३२८ बीमालेख जारी गर्दा ३० अर्बभन्दा बढी बीमा शुल्क संकलन भएको हो । गत आवको सोही अवधिमा २१ लाख ७४ हजार ४१४ बीमालेख जारी गर्दा २८ अर्ब बीमाशुल्क संकलन भएको थियो । यस अवधिमा सञ्चालनमा रहेका १६ निर्जीवन बीमा कम्पनीले २ लाख ८९ हजार ८८३ बीमालेख जारी गरी ४ अर्ब १४ करोड १५ लाख रुपैयाँ संकलन गरेका छन् ।
कुल बीमा शुल्कमा मोटर बीमाको हिस्सा अग्रपंक्तिमा देखिन्छ । संकलन भएको कुल बीमा शुल्कमा मोटर बीमाको हिस्सा ३२.९४ प्रतिशत रहेको छ । चालु आवको नौ महिनासम्ममा मोटर बीमाबाट मात्रै कम्पनीहरूले ९ अर्ब ८८ करोड ७६ लाख रुपैयाँ संकलन गरेका छन् । १३ लाख ८३ हजार ७१ वटा बीमालेख जारी गर्दा यो शुल्क संकलन भएको प्राधिकरणको तथ्यांकमा देखिन्छ ।
यस्तै, सम्पत्ति बीमालेख तर्फ ३ लाख ७० हजार बीमालेख जारी हुँदा ६ खर्ब ६८ करोड १७ लाख रुपैयाँ शुल्क संकलन भएको छ । यसबाहेक २२ हजार ५७९ वटा इन्जिनियरिङ तथा ठेक्का जोखिम बीमालेख जारी गर्दा ५ अर्ब २६ करोड २७ लाख रुपैयाँ शुल्क संकलन भएको छ । प्राधिकरणका अनुसार विविध शीर्षकमा १ लाख २२ हजार ७१७ बीमालेख जारी हुँदा ३ अर्ब २६ करोड १ लाख रुपैयाँ शुल्क संकलन भएको छ ।
यस्तै, कृषि तथा बाली बीमातर्फ १ लाख ३५ हजार ४३ वटा बीमालेख जारी हुँदा १ अर्ब ८१ करोड ५१ लाख रुपैयाँ र सामुद्रिक बीमामा १ लाख २ हजार ८२ वटा बीमालेख जारी हुँदा १ अर्ब ५४ करोड ४३ लाख रुपैयाँ संकलन भएको छ । हवाई बीमातर्फ ९८ वटामात्रै बीमालेख जारी भएको छ । जसमा १ अर्ब ५० करोड ६५ लाख रुपैयाँ शुल्क संकलन भएको छ । यता, लघुबीमातर्फ ३० हजार २६४ वटा बीमालेख जारी हुँदा ५ करोड ६८ लाख रुपैयाँ शुल्क संकलन भएको प्राधिकरणले जनाएको छ ।
चालु आवको नौ महिनामा सबैभन्दा धेरै बीमा शुल्क शिखर इन्स्योरेन्सले संकलन गरेको छ । कम्पनीले ४ अर्ब १५ करोड संकलन गरेको हो । गत आवको सोही अवधिमा कम्पनीले ३ अर्ब ७१ करोड रुपैयाँ संकलन गरेको थियो । यस्तै, सगरमाथा र लुम्बिनी जनरल इन्स्योरेन्स मर्जर भएर बनेको सगरमाथा लुम्बिनी इन्स्योरेन्सले ३ अर्ब ४८ करोड रुपैयाँ शुल्क संकलन गरेको छ ।
गत आवको सोही समयमा सगरमाथा इन्स्योरेन्सले मात्रै २ अर्ब ४३ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेको थियो भने लुम्बिनी जनरलले १ अर्ब १७ करोड रुपैयाँ संकलन गरेको थियो । प्राधिकरणका अनुसार सिद्धार्थ र प्रिमियर इन्स्योरेन्सबीच मर्जर भएर बनेको सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले चैत मसान्तसम्म ३ अर्ब ३५ करोड रुपैयाँ शुल्क संकलन गरेको छ । गत आवको सोही अवधिमा हिमालयन जनरलले मात्रै १ खर्ब २७ करोड रुपैयाँ संकलन गरेको थियो ।
नेको इन्स्योरेन्सले २ अर्ब २६ करोड रुपैयाँ बीमाशुल्क संकलन गर्दा सानिमा र जनरल इन्स्योरेन्स मर्जरपश्चात् बनेको सानिमा जीआईसीले १ अर्ब ६५ करोड संकलन गरेको छ । चालु आवको नौ महिनामा युनाइटेड इन्स्योरेन्स र नेपाल इन्स्योरेन्सको बीमा शुल्क घटेको छ । युनाइटेडले चालु आवको नौ महिनामा ९५ करोड रुपैयाँ संकलन गरेको छ । गत आवको सोही अवधिमा भने कम्पनीले १ अर्ब २१ करोड रुपैयाँ संकलन गरेको थियो ।
यस्तै, गत आवको चैत महिनामा १ अर्ब १९ करोड रुपैयाँ संकलन गरेको नेपाल इन्स्योरेन्सले चालु आवको सोही अवधिमा भने १ अर्ब १५ करोडमात्रै संकलन गरेको छ । चालु आवको नौ महिनामा नेशनल इन्स्योरेन्सले सबैभन्दा कम बीमाशुल्क संकलन गरेको छ । कम्पनीको ७६ करोड रुपैयाँमात्रै संकलन भएको हो । गत आवको सोही अवधिमा कम्पनीले ६८ करोड संंकलन गरेको थियो ।
