सुमार्गीको पैसा नरोक्न सर्वोच्चको आदेश

सर्वोच्च अदालतले व्यवसायी अजेयराज सुमार्गीको रकम नरोक्न अन्तरिम आदेश दिएको छ । नेपाल राष्ट्र बैंकले रोक्का गरेको झन्डै ४ अर्ब रकम निकासा गर्न पाउँ भन्दै व्यवसायी सुमार्गीले अन्तरिम आदेशको माग गर्दै सर्वोच्चमा मुद्दा दायर गरेका थिए । राष्ट्र बैंकविरुद्ध नेपाल स्याटलाइट टेलिकम कम्पनीका तर्फबाट सुमार्गी र सुवासचन्द्र पौडेलले रकम निकासा माग गर्दै रिट दर्ता गराएका थिए ।
सन् २०१० जनवरीमा साइप्रसबाट नेपाल इन्भेस्टमेन्ट बैंकस्थित खातामा आएको ३ करोड ८५ लाख अमेरिकी डलर (३ अर्ब ९६ लाख रुपैयाँ) रोकिएको थियो । उद्योग विभागले लगानीको स्रोत नखुलेको भन्दै ०६९ चैत २८ गते रोक्का गर्न भन्दै राष्ट्र बैंकलाई पत्र लेखेको थियो । सोही पत्रअनुसार बैंकले बाँकी निकासा रोकेको थियो ।
तर, मंगलबार त्यसमध्ये २ अर्ब १४ करोड नरोक्न सर्वोच्चले अन्तरिम आदेश दिएको हो । न्यायाधीश तेजबहादुर केसीको एकल इजलासले सो मुद्दामा अन्तरिम आदेश दिँदै पैसा रोक्ने कानुनी कारण पारदर्शी रूपमा देखिन नआउँदा खाता सञ्चालनमा अवरोध नगर्न नगराउन भन्दै आदेश दिएको हो ।
आदेशमा दुवै पक्षलाई बृहत् छलफल गर्न उपयुक्त हुने हुँदा आगामी फागुन २ गते दुवै पक्षलाई उपस्थित हुन समेत भनिएको छ । सुमार्गीको पैसा रोक्नुपर्ने कानुनी आधार नभएको र लगानी बोर्डले विदेशी फिर्ता नलैजाने सर्तमा स्वीकृति दिएकाले रकम भुक्तानीका गर्न सर्वोच्चले आदेश दिएको हो ।