हाइड्रोको सेयर माथि हुनुको कारण «

हाइड्रोको सेयर माथि हुनुको कारण

अरू सबैको सेयर मूल्य तल झर्दा पनि हाइड्रोपावर कम्पनीको सेयर किन माथि–माथि नै अडेको होला ? यसको एउटा जवाफ छ । यसमा सम्भावना छ । यसले भविष्यमा राम्रो प्रतिफल दिन्छ । बुझेका मानिसले माथिल्लै मूल्यमा एकुमुलेसन गरिरहेका छन् । यो जवाफमा कति सत्यता होला ?

बियरिस र बुलिसको तथ्यांक विश्लेषण

बियरिसको कुरा गर्दा २०७५ फागुन १९ गते नेप्से सूचक ११०० बिन्दुमा थियो । सो दिन बैंकिङ सूचक ९४० अंक, हाइड्रोपावर सूचक ११०५ अंक र माइक्रो फाइनान्स सूचक १३६५ अंकमा थियो । हाइड्रोपावर सूचक त्यसपछि पनि घट्यो । २०७७ असार १५ मा हाइड्रोपावरको सूचक ८८६ अंकसम्म झर्यो, जबकि त्यो दिन नेप्से सूचक ११८९ अंकमा थियो ।

बुलिसको कुरा गर्दा २०७८ भदौ २ मा नेप्से परिसूचक ३१९९ बिन्दु पुगेको थियो । सबै समूहगत परिसूचक भने सोही दिन उच्च बिन्दुमा पुगेका होइनन् । बैंकिङ सूचक भदौ २१ मा सबैभन्दा उच्च बिन्दु १९९९ अंक पुगेको थियो । त्यस्तै, २०७८ भदौ २८ मा हाइड्रोपावर सूचक ३४८१ र माइक्रो फाइनान्स सूचक ५४४८ अंक पुगेको थियो ।

अहिले बियरिसको कुरा गर्दा २०७९ चैत २७ गते नेप्से सूचक १८४४ छ । यो दिन बैंकिङ सूचक ११९२ अंक छ । जुन यसअघिको न्यूनतम बिन्दु ९४० भन्दा माथि नै हो । उच्च बिन्दु १९९९ भन्दा ४० प्रतिशत कम हो ।

हाइड्रोपावर सूचक २४१४ अंक छ । उच्च बिन्दु ३४८१ बाट ३१ प्रतिशत घटेको हो । बैंकिङ सूचक ९४० अंकबाट ११३ प्रतिशतले बढेर १९९९ अंक पुगेको थियो । हाइड्रोपावर सूचक ८८६ अंकबाट २९३ प्रतिशत बढेर ३४८१ अंक पुगेको थियो । माइक्रो फाइनान्स सूचक ३३३२ अंक छ । उच्च बिन्दु ५४४८ अंकबाट ३९ प्रतिशत घटेको हो । विगतमा १३६५ अंकबाट २९९ प्रतिशत बढेको थियो ।

बैंकिङ सबैभन्दा कम ११३ प्रतिशत बढेको थियो । घट्ने बेला २ सय ९३ प्रतिशत बढेको हाइड्रोपावर सूचकभन्दा बढी प्रतिशतले घट्यो । माइक्रो फाइनान्स सूचक सबैभन्दा कम अर्थात् ३९ प्रतिशत घटेको छ, जबकि बढ्दा २९९ प्रतिशत बढेको थियो ।

दृष्टि भ्रम र असमान तुलना

अहिले सबैभन्दा मूल्य खस्ने समूह माइक्रो फाइनान्स भन्ने धेरैलाई लागेको छ । यथार्थमा सबैभन्दा बढी खस्ने वाणिज्य बैंक हो । हाइड्रोपावरको मूल्य खासै नघटेजस्तो धेरैलाई लागेको छ । तर, लागेभन्दा बढी घटेको माथिको तथ्यांकले देखाउँछ । यस्तो दृष्टि भ्रम कसरी हुन्छ ?

पुरानो सूचकसँग अहिले तुलना गर्न मिल्ने बैंकिङ सूचक मात्र हो । १० वर्षदेखि नयाँ बैंक तथा वित्तीय संस्था थप भएका छैनन् । १० वर्षअघि ३२ वटा रहेका वाणिज्य बैंक अहिले २२ मा झरेका छन् । केही बैंकले विकास बैंक तथा फाइनान्सलाई गाभेका कारण बैंकिङ सूचकसमेत ठ्याक्कै तुलना गर्न मिल्ने छैन ।

माथि तुलना गरिएको अवधिमा माइक्रो फाइनान्स सूचकमा केही कम्पनी थपिएका छन् । हाइड्रोपावर सूचकमा भने धेरै नै कम्पनी थपिएका छन् । हाइड्रोपावर सूचक दुई–तीन वर्षअघि यति थियो, अहिले यति छ भनेर तुलना गर्न मिल्दैन ।
तथ्यांक हेर्दा २०७७ भदौ २१ गतेसम्म नेप्सेमा ३३ हाइड्रोपावर कम्पनी सूचीकृत थिए । अहिले ३६ वटा थपिएर ६९ वटा भएका छन् । थपिएका ३३ कम्पनी बाहेकको सूचक निकालियो भने मात्र पुरानो मूल्यसँग तुलना गर्न मिल्ने हुन्छ ।

वास्तविकता के हो ?

माइक्रो फाइनान्सले उच्च बोनस सेयर दिएका छन् । मानौं २५ सय रुपैयाँ मूल्य भएको माइक्रो फाइनान्सले ३० प्रतिशत बोनस दियो । समायोजन मूल्य १९ सय २३ रुपैयाँ हुन्छ । अहिले मूल्य घटेर १२ सय ५० रुपैयाँ भएको छ । हामीले ५० प्रतिशत मूल्य घट्यो भन्छौं । तर सूचकमा ३५ प्रतिशत मात्र घटेको हुन्छ ।

वाणिज्य बैंकहरूले पनि केही बोनस दिएका छन् । मानौं ५ सय रुपैयाँको वाणिज्य बैंकको मूल्य अहिले २ सय ५० रुपैयाँ छ भने आधा घटेको होइन । उसले २० प्रतिशत बोनस सेयर दिएको थियो, जसका कारण समायोजित मूल्य ४ सय १७ रुपैयाँ भएको थियो ।

हाइड्रोपावरमा भने बैंक र माइक्रो फाइनान्स जस्तो हुँदैन । धेरै हाइड्रोपावरले बोनस सेयर वा नगद लाभांश केही पनि दिएका छैनन् । बोनस नदिएपछि मूल्य समायोजन हुँदैन । जस्तो कि ४ सय रुपैयाँको बैंकले १५ प्रतिशत बोनस दिँदा मूल्य ३ सय ४८ कायम हुन्थ्यो । हाइड्रोपावरले बोनस नदिएपछि मूल्य घट्ने कुरा भएन ।

वाणिज्य बैंकको मूल्य हेर्दा

वाणिज्य बैंकमा एभरेस्ट बैंक, एसबीआई बैंक र स्ट्यान्डर्ड चार्टर्ड बैंकको मूल्य अरूको तुलनामा कम घटेको छ । यी बैंकको भविष्य अरू बैंकभन्दा राम्रो भएका कारण मूल्य माथि नै रहेको हो त ?

ती बैंकले पुरानो मुनाफा वितरण नगरी राखेका छन् । अर्को वर्ष धेरै वितरण गर्छन् कि भनेर मूल्य माथि रहेको अनुमान हुन सक्छ । त्यस्तै ती बैंकको सेयर कित्ता अरूको तुलनामा कम भएका कारण बजारमा आपूर्ति कम भई मूल्य माथि रहेको हुन सक्छ ।

अरू सबै बैंकको मूल्य घट्दा पनि नबिल बैंक र एनआईसी एसियाको मूल्य खासै घटेको थिएन । पछि मात्र घट्न सुरु गरेको हो । तथापि अरू बैंकको तुलनामा अझै माथि नै छ । अरू बैंकको तुलनामा यी बैंकको भविष्य धेरै राम्रो भएर यस्तो भएको हो त ?
एनआईसी बैंकको कित्ता थोरै हुनुका साथै मापदण्ड पूरा नगरेका कारण अघिल्ला वर्षहरूको मुनाफा वितरण गर्न पाएको छैन । नबिल बैंकले अझै केही वर्ष २५ प्रतिशतभन्दा बढी मुनाफा वितरण गर्न सक्ने गरी सञ्चित राखेको छ । यसै कारण मूल्य माथि रहेको हुनुपर्छ ।

लघुवित्तको मूल्य हेर्दा

महिला लघुवित्तको मूल्य ६ हजार रुपैयाँभन्दा माथि पुगेको थियो । दुई आर्थिक वर्षमा गरी कम्पनीले ९५ प्रतिशत बोनस सेयर दियो । यो बोनस समायोजन गर्दा मूल्य ३ हजार ७७ रुपैयाँ हुन्छ । अहिले बजार मूल्य २ हजार रुपैयाँ मुनि छ । मूल्य हेर्दा २ सय प्रतिशत घटेको देखिन्छ । वास्तवमा घटेको ३३ प्रतिशत मात्र हो ।

निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाको मूल्य १८ सय रुपैयाँ माथि थियो । अहिले ६ सय रुपैयाँ तल छ । मूल्य हेर्दा २ सय प्रतिशत घटेको देखिन्छ । दुई आर्थिक वर्षमा यो माइक्रो फाइनान्सले ५० प्रतिशत बोनस सेयर दिएको छ । समायोजित मूल्य १२ सय रुपैयाँ हुन आउँछ । त्यसैले वास्तवमा घटेको ५० प्रतिशत मात्र हो ।

राम्रा कम्पनी घट्ने तर कमजोर बढ्ने

फन्डामेन्टल स्ट्रङ भएका लघुवित्त र बैंकको मूल्य घट्ने तर खासै मुनाफा वितरण गर्न नसक्ने जलविद्युत् कम्पनीको मूल्य माथि–माथि नै हुनुको कारण के हो ?

वाणिज्य बैंकको मूल्य जति घटेको छ, त्यसको तुलनामा विकास बैंक र फाइनान्स कम्पनीको मूल्य कम घटेको छ । भविष्यमा वाणिज्य बैंकको मुनाफा जति घट्नेवाला छ, विकास बैंक र फाइनान्सको त्योभन्दा कम घट्नेवाला छ त ?

हाइड्रोको मूल्य किन माथि ?

कम्पनीहरूको सेयर मूल्य तलमाथि पार्ने मुख्य तत्व कम्पनीको नाफाघाटा हो । खेलाडीले बजार मूल्य प्रभावित पारेर पनि तलमाथि हुन सक्छ । लाखौं साना लगानीकर्ताको हातमा सेयर परेपछि मूल्य घट्ने गर्छ । त्यसविपरीत सीमित खेलाडीको हातमा सेयर परेपछि मूल्य बढ्ने गर्छ ।

चतुर खेलाडीले उच्च मूल्यमा सर्वसाधारणको हातमा सेयर हस्तान्तरण गर्ने प्रयत्न गर्छन् । हाइड्रोपावर, विकास बैंक र फाइनान्स कम्पनीको सेयर मूल्य ठूला खेलाडीले माथि पुर्याए । तर, सर्वसाधारणलाई महँगो मूल्यमा बेच्न सकेनन् । सेयर बजारको एउटा सिद्धान्त नयाँ मूर्खलाई मुर्गा बनाएर पुरानाले कमाउने हो । माथि उल्लिखित कम्पनीका सेयर उच्च मूल्यमा किन्ने मूर्ख नपाइएको कारण मूल्य तल नझरेको पनि हुन सक्छ ।

निष्कर्ष

कम्पनीहरूको भविष्य राम्रो भएको प्रस्ट देखिने अवस्था छ भने मूल्य माथि जानु स्वाभाविक हो । भविष्य राम्रो छ भन्ने सीमित व्यक्तिलाई थाहा छ भने पनि मूल्य माथि जान सक्छ । हाइड्रोपावरले भविष्यमा उच्च प्रतिफल दिने कुरा सीमित व्यक्तिहरूलाई थाहा भएको हुन सक्छ ।

त्यस्तै, भविष्य खराब हुनेवाला छ तर आममानिसलाई थाहा छैन । त्यो कुरा थोरै व्यक्तिलाई मात्र थाहा छ । ती व्यक्तिले कम्पनीको भविष्य राम्रो छ भन्ने भ्रम सिर्जना गर्न सके भने मूल्य माथि जान सक्छ । हाइड्रोपावरको भविष्य राम्रो नभए पनि राम्रो हुनेवाला छ भनेर भ्रम सिर्जना गर्न खेलाडीहरू प्रयत्नशील रहेका हुन सक्छन् ।

हाइड्रोपावरको भविष्य राम्रो भएका कारण मूल्य नघटेको हो वा कुनै समूहले मूल्य घट्न नदिएर भविष्य राम्रो हुनेवाला छ भन्ने भ्रम मात्र सिर्जना गर्न खोजेको हो ? यो विषयमा लगानीकर्ताले विचार विश्लेषण गर्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्