९ महिनामा ६० लाख राजस्व असुली

जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतले ९ महिनाको अवधिमा करिब आठ हजार सवारी साधनलाई कारबाही गरेर झन्डै ६० लाख रुपैयाँ राजस्व संकलन गरेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव निरीक्षक सुमन निउरेका अनुसार चालू आर्थिक वर्ष २०७९/८० को साउनदेखि चैत महिनासम्मको अवधिमा ट्राफिक नियम उल्लंघन गर्ने सवारीलाई गरिएको कारवाहीबाट उक्त राजस्व संकलन भएको हो ।
बजार क्षेत्र, ग्रामिण क्षेत्र र मध्यपहाडी लोकमार्ग अन्तर्गत पर्वत खण्डमा गरिएको नियमित तथा छड्के अनुगमनका क्रममा सवारीको अवस्था ठीक नभएका, कागजात नमिलेका, ट्राफिक नियम उल्लंघन गरेका लगायतबाट ५९ लाख ९८ हजार रुपैयाँ राजश्व संकलन भएको हो । यो अवधिमा सबैभन्दा बढी कारबाहीमा पर्ने सवारीहरूमा जीप तथा कार रहेका छन् । चार हजार एक सय कार तथा जीपलाई गरिएको कारबाहीबाट ३३ लाख ८० हजार रुपैंयाँ संकलन भएको छ ।
त्यस्तै एक हजार दुई सय ३६ वटा ट्रक र ट्रिपरमाथि गरिएको कारबाहीबाट आठ लाख १९ हजार पाँच सय, पाँच सय ९२ वटा बसबाट तीन लाख ७७ हजार , चार सय ४९ वटा ट्रयाक्टरबाट दुई लाख ८६ हजार, एक हजार पाँच सय मोटरसाइकल तथा स्कुटरबाट ११ लाख ३१ हजार र अन्य चार वटा कारबाहीबाट तीन हजार पाँच सय रुपैयाँ राजस्व उठेको छ । महिनागत रुपमा हेर्दा गत चैत महिनामा सबैभन्दा धेरै सवारीहरू कारबाहीमा परेका छन् ।
यो महिनामा एक सय ६४ वटा ट्रक र ट्रिपर, ७२ वटा बस, सात सय ५६ कार तथा जीप, ८५ वटा ट्रयाक्टर र दुई सय २१ वटा मोटरसाइकल र स्कुटर कारबाहीमा परेका छन् । चैतमा मात्रै १२ लाख ८८ हजार पाँच सय रुपैंयाँ राजस्व उठेको छ । सबैभन्दा कम गत साउनमा पाँच लाख १० हजार पाँच सय रुपैयाँ संकलन भएको थियो । उक्त महिनामा एक सय ४४ ट्रक तथा ट्रिपर, ५२ वटा बस, तीन सय एक वटा कार तथा जीप, ३० वटा ट्रयाक्टर र एक सय ४३ वटा मोटरसाइकलमाथि कारबाही भएको छ ।
पछिल्लो तीन वर्षको राजस्व संकलनको अवस्थालाई हेर्ने हो भने सबैभन्दा बढी राजस्व संकलन हुने आर्थिक वर्ष २०७९/८० नै बन्ने निश्चित भएको छ । गत आर्थिक वर्ष २०७८/७९ मा ९ हजार ९ सय सवारीमाथि भएको कारबाहीबाट ६२ लाख ५४ हजार पाच सय, २०७७/७८ मा पाँच हजार पाँच सय तीन सवारीमाथि गरिएको कारबाहीबाट ३५ लाख सात हजार र २०७६/७७ मा छ हजार तीन सात सवारीमाथि गरिएको कारबाहीबाट ३६ लाख ३९ हजार पाँच सय रुपैयाँ राजस्व उठेको थियो ।
गत आर्थिक वर्षको १२ महिनामा उठेको राजश्व भन्दा चालू आर्थिक वर्षको नौ महिनामा उठेको राजश्व दुई लाख रुपैयाँले मात्रै कम भएकोले १२ महिनामा अघिल्लो आर्थिक वर्षको भन्दा बढी राजस्व उठ्ने देखिएको छ । प्रहरी नायव निरीक्षक निउरेका अनुसार पर्वत ट्राफिकले पछिल्लो समयमा प्रयोजन विपरीत चल्ने सरकारी सवारी, रातो ‘नम्बर प्लेट’ लिएर पनि सार्वजनिक सवारीको जस्तै व्यापार गरिरहेका सवारी साधन, मादक पदार्थ सेवन गरी सवारी चलाउनेहरू तथा बजार क्षेत्रमा ट्राफिक नियम माने पनि ग्रामिण क्षेत्रमा प्रवेश गरेपछि नियममा लापरबाही गर्ने सवारीमाथि निगरानी बढाएको बताएको छ ।