Logo

कहिले बन्छ भेरीमा भाँच्चिएको बेलिब्रिज ?

तोकिएको समयभन्दा एक वर्षपछि निर्माण कार्य सुरु भएको नलगाड–१२ स्थित भेरी नदीमा निर्माणाधीन बेलिब्रिज भाँच्चिएपछि अन्योलमा परेको छ । जाजरकोट, रुकुमपश्चिम हुँदै डोल्पा सिधा यातायात गर्नका लागि मुख्य मानिएको उक्त पुल निर्माण हुँदै गर्दा बीचमै भाँच्चिएर नदीमा खसेपछि पुल कहिले निर्माण हुन्छ भन्ने अन्योल सिर्जना भएको हो ।

यही वैशाख ७ गते बेलिब्रिज जडान गर्दैगर्दा खसेपछि दुई जनाको मृत्युसमेत भएको थियो भने सातजना घाइते भएका थिए । अहिले पुल निर्माणकार्य रोकेर संघीय सडक सुपरीवेक्षण सडक तथा अनुगमन कार्यालयका प्रमुख रुपकराज भण्डारीको संयोजकत्वमा तीन सदस्य छानबिन समिति बनाई काम थालिएको छ । उक्त छानबिन समितिले भौतिक क्षतिको विवरण र सुझावसहितको प्रतिवेदन दिन कार्यादेश दिइएको छ ।

हिम सगरमाथा खड्का कृष्ण जेभी वसुन्धरा काठमाडौंले उक्त पुल निर्माण गरिरहेको थियो । अहिले भेरीमा खसेको पुलमाथि नै क्रेन छ । पुलको टन बोल्टहरू नकस्दै पुलमा प्रयोग हुने सामग्री पुलमाथिबट क्रेनले तानेर राख्न खोज्दा पुलको एक छेउबाट नदीमा खसेको स्थानीयबासी रश्मी मल्लले बताए । सडक डिभिजन चौरजहारीले समेत भेरीमा खसेको पुलको स्थलगत अनुगमन गरेको बताएको छ ।

अनुगमनबाट पुलको नट बोल्ट नकस्दै क्रेन पुलमाथि राखेर भुइँबाट निर्माण सामग्री राख्न खोज्दा एक छेउ धक्किएर भेरीमा पुल खसेको पाइएको डिभिजन प्रमुख आसुतोष कर्णले बताए । भुइँबाट निर्माण सामग्री पुलमाथि राख्नुपर्ने भए पनि निर्माण नसकिँदै क्रेनमाथि राख्दा समस्या आएको उनको भनाइ छ । क्रेन चलाउने अप्रेटरले कसैको सल्लाह नै नलिएर पुलमाथि क्रेन राख्दा र निर्माण व्यवसायीले काम छिटो गर्ने नाममा जथाभावी गर्न खोजेपछि समस्या आएको सरोकारवाला निकायको भनाइ छ ।

पुल भाँच्चिएको नभई एक भाग लच्किएर खसेको पाइएको छ । सडक विभागले छानबिन समितिको निष्कर्ष तत्काल निकालेर अधुरो काम पूरा गरी डोल्पा सिधा यातायात सञ्चालन गर्न यसै आर्थिक वर्षमा पुल निर्माण गर्ने बताएको छ । पुलमा एक साइटको दुई ठाउँमा मात्र बाँग्गिएको प्राविधिकले बताएका छन् । अहिले पुल निर्माणको काम ठप्प छ ।

भेरी नदीमा पानी बढेपछि अस्थायी रूपमा निर्माण गरिएको पुल बगाएर डोल्पा जाने बाटो अवरुद्ध छ । पुल निर्माण गर्ने थपिएको म्याद २०७९ माघ ३० गते समाप्त भइसकेको छ । यो म्याद थप गरेको समयसमेत गुज्रिसकेको अवस्थामा भेरीमा पुल खसेपछि थप समस्या आएको छ । २०७८/०९/१६ मा पुल निर्माणका लागि सम्झौता भएको थियो ।

प्रतिक्रिया दिनुहोस्