पर्यटक भित्र्याउने भुटानी र नेपाली मोडल

पर्यटनको सन्दर्भमा भन्नुपर्दा भुटानले आफ्नो प्रमुख नारा नै ‘हाई भ्यालु, लो भोल्युम’, ‘ट्रेकिङ टुरिजम द टप’ राखेको देखिन्छ । त्यसो त पर्यटनसम्बन्धी नाराको कुरो गर्ने हो भने भुटान सरकार मातहत रहेको ‘टुरिजम बोर्ड अफ भुटान’ (टीसीबी) को प्रमुख नारा वा भनौं स्लोगनले नै भुटान सरकारको पर्यटन नीतिबारेमा समग्रमा बोलेको छ, यहाँ मैले थप केही लेख्नै, बोल्ने परेन ।
हुन त सन् २०१९ को डिसेम्बर अन्तिममा देखा परेको कोभिड–१९ को महामारीपछि आफ्नो देशमा विदेशी पर्यटक भित्र्याउने नीति के हुने, कस्तो हुने ? खास कुनै नीतिगत निर्णय लिएको थिएन । तर, हाल कोरोना महामारी लगभग शान्त अवस्थामा रहेको हुनाले भुटान सरकारले फेरि विदेशी पर्यटनसम्बन्धी नीति, नियम, विनियम आदिमा अपडेट गरेको देखिन्छ । त्यसको फलस्वरूप हालै टीसीबीले सन् २०१९–०२१ को भुटानको पर्यटनसम्बन्धी समग्र अध्ययन गरेर प्रतिवेदन सार्वजनिक गरेको छ ।
यसरी हेर्दा हालसम्म भुटान र नेपालको विदेशी पर्यटनसँग सम्बन्धित नीति, नियम, विनियम आदि दाँजेर हेर्दा भुटानको प्रगति विवरण धेरै कोणबाट हाम्रो देशको भन्दा अब्बल छ । भलै जनसंख्या र भूगोल दुवै आधारमा नेपालभन्दा भुटान धेरै सानो देश हो । तर, जनसंख्या र भूगोल दुवैमा नेपालभन्दा सानो देश भए तापनि भुटानबाट हामीले पर्यटन प्रवर्द्धन र पर्यटनसम्बन्धी नीति, नियम, विनियम आदि बनाउने र लागू गर्ने सन्दर्भमा भने धेरै कुरा सिक्नुपर्ने देखिन्छ ।
हुन पनि नेपालजस्तै हिमाली र भूपरिवेष्टित देश हो— भुटान । तर, पर्यटक भित्र्याउने र पर्यटन नीति बनाउने सन्दर्भमा भन्ने हो भनेचाहिँ नेपाल र भुटानको नीतिमा आकाश–जमिनको फरक देखिन्छ । किनभने, भुटान सरकारले केवल संख्या बढाउनकै लागि भनेर जसलाई पायो त्यसलाई (विदेशी पर्यटक नै भए पनि) पर्यटक मानेर आफ्नो देशमा ह्वारह्वार्ती प्रवेश गराएको देखिँदैन । यसरी हेर्दा नेपालले जस्तो गुणस्तरमा भन्दा पनि संख्यामा ध्यान नदिएर संख्या थोरै नै होस्, आफ्नो देशमा भ्रमण गर्न आउने विदेशी पर्यटक धेरै खर्च गर्न सक्ने लक्जरी/डिलक्स नै होस् भन्नेमा ध्यान दिएको देखिन्छ ।
भुटान सरकारको मातहतमा रहेको पर्यटनसम्बन्धी सरकारी निकाय टुरिजम काउन्सिल अफ भुटान (टीसीबी) ले विभिन्न समयमा प्रकाशित गर्ने गरेको भुटान सरकारको पर्यटनसम्बन्धी नीति तथा कार्यक्रमहरू हेर्ने हो भने के प्रस्ट हुन्छ भने विदेशी पर्यटकले भुटान छिर्नेबित्तिकै प्रतिव्यक्ति, प्रतिदिन २ सय अमेरिकी डलर खर्च गर्नैपर्ने सरकारले नियम तोकिदिएको छ । अझ त्यतिले मात्रै नपुगेर भुटानको विभिन्न क्षेत्रको भ्रमण गर्न जाँदा जस्तो कि ट्रेकिङ गर्न, साइड सिन गर्न, जंगल सफारी गर्न, कल्चरल टुरका लागि, साइक्लिङ गर्न, बर्ड वाचिङ (चरा अवलोकन गर्न) आदिका लागि पनि ‘अफ सिजन’ र ‘पिक सिजन’ अनुसार फरकफरक दर तोकिएको छ ।
अर्थात् ती दुई सिजनमा भुटान भ्रमणमा जाने विदेशी पर्यटकलाई टीसीबीले प्रतिव्यक्ति, प्रतिदिन खर्च गर्ने सीमा तोकिदिएको छ । जस्तो अफ सिजन (जनवरी, फेब्रुअरी, जुन, जुलाई, अगस्ट र डिसेम्बर) मा भुटान घुम्न चाहने विदेशी पर्यटकले प्रतिव्यक्ति प्रतिदिन २ सय अमेरिकी डलरमा प्याकेज बुक गर्नुपर्छ भने पिक सिजन (मार्च, अप्रिल, मे, सेप्टेम्बर, अक्टोबर र नोभेम्बर) मा भुटान भ्रमण गर्न चाहने विदेशी पर्यटकले प्रतिव्यक्ति प्रतिदिन २ सय ५० अमेरिकी डलरमा बुक गर्नुपर्छ । साथै, जोकोही विदेशी पर्यटक भुटानमा रहँदा, बस्दा सोही खर्चमा तीनतारे होटलमा बस्नुपर्छ । कुनै विदेशी पर्यटकले चारतारे वा पाँचतारे होटलमा बस्न चाहेमा त्यसरी बस्न चाहने विदेशी पर्यटक आफैंले अतिरिक्त प्रिमियम तिर्नुपर्ने नियम टीसीबीले आफ्नो ‘कोड अफ कन्डक्ट’मै लेखिदिएको छ । साथै, भुटान भ्रमणमा आउने विदेशी पर्यटक कम्तीमा पनि तीन जनाको ग्रुप हुनैपर्ने अनिवार्य नियम पनि भुटान सरकारले बनाएको छ ।
अझ भुटान सरकारले आफ्नो देशमा भ्रमण गर्न आउने विदेशी पर्यकटबाट लिने दैनिक २ सय र २ सय ५० अमेरिकी डलर (सिजनअनुसार) मध्ये ६५ अमेरिकी डलर ‘दिगो विकासका लागि पर्यटन’ कार्यक्रमका लागि सरकारले ट्रेकिङ/ट्राभल अपरेटरहरूबाट कटौती गर्छ । सो रकम निःशुल्क शिक्षा, निःशुल्क स्वास्थ्य, गरिबी निवारण, ग्रामीण विकासका लागि भवन निर्माण आदिमा खर्च हुन्छ । हुन त भुटान भ्रमणमा आउने विदेशी पर्यटकले प्रतिव्यक्ति प्रतिदिन २ सय र २ सय ५० अमेरिकी डलर (सिजनअनुसार) तिरेपछि उनीहरूको खानपिनको खर्चसमेत भुटान रहुन्जेल (व्यक्तिगत आवश्यकताबाहेक) ट्रेकिङ/ट्राभल कम्पनीले बेहोर्छ ।
त्यस्तै भुटान सरकारले आफ्नो देशमा भ्रमण गर्न आउने विदेशी पर्यटकका लागि विभिन्न सहुलियत तथा छुट पनि दिएको देखिन्छ । जस्तो कि, पाँच वर्षभन्दा कम उमेरको लालाबाला भए भिसा चार्ज ४० अमेरिकी डलर मात्रै, बाँकी सम्पूर्ण खर्च निःशुल्क, ५ देखि १२ वर्ष उमेर समूहको केटाकेटी भए डेली प्याकेजमा ५० प्रतिशत छुट, विद्यालय/विश्वविद्यालयको आधिकारिक र प्रमाणित विद्यार्थी परिचयपत्र भएको र उमेर २५ वर्षसम्म भएको भए डेली प्याकेजमा २५ प्रतिशत छुटलगायतको विभिन्न छुट तथा अफरहरू लागू गरेको देखिन्छ ।
भुटान भ्रमणमा आउने विदेशी पर्यटकमध्ये ५८.७६ प्रतिशत ट्राभल/टुर अपरेटरमार्फत बुक भएर आउने गरेको देखिन्छ भने भुटान आएका विदेशी पर्यटकमध्ये ८३.८४ प्रतिशतको उद्देश्य बिदा मनाउने रहेको देखिन्छ । यसरी भुटान जान चाहने विदेशी पर्यटकलाई भुटान सरकारले प्रतिव्यक्ति सिजनमा २ सय ५० अमेरिकी डलर र अफ सिजनमा २ सय अमेरिकी डलर खर्च गर्नैपर्ने नियम लागू गरिएको भए तापनि सन् २०१८ मा २ लाख ७४ हजार ९७ जना विदेशी पर्यटकले भुटान भ्रमण गरेको टीसीबीको रिपोर्टमा उल्लेख छ । त्यस्तै सन् २०१९ मा त झनै ३ लाख १५ हजार ५ सय ९९ जना विदेशी पर्यटकले भुटानको भ्रमण गरेको देखिन्छ । तर, सन् २०२० मा चाहिँ २९ हजार ८ सय १२ जना विदेशी पर्यटकले मात्रै भुटानको भ्रमण गरेका थिए ।
यसरी सन् २०१९ र सन् २०२० मा भुटान भ्रमण गर्न आएको विदेशी पर्यटकको संख्यालाई तुलना गरेर हेर्दा सन् २०१९ मा आएको विदेशी पर्यटकको तुलनामा सन् २०२० मा भुटान भ्रमण गर्न आएको विदेशी पर्यटकको संख्या ९१ प्रतिशतले कमी आएको थियो भने भुटानले विदेशी पर्यटकबाट गरेको आम्दानीको तुलना गर्दा सन् २०१९ मा भुटानले विदेशी पर्यटकबाट गरेको आम्दानीभन्दा सन् २०२० मा भुटान भ्रमण गर्न आएका विदेशी पर्यटकबाट गरेको आम्दानीमा पनि ९२ प्रतिशतले कमी आएको थियो । यसरी हेर्दा विदेशी पर्यटक भित्र्याउने र पर्यटनसम्बन्धी नीति बनाउने सन्दर्भमा कहाँ भुटान, कहाँ नेपाल ? आकाश र जमिनजत्तिकै फरक रहेको देखिन्छ ।