Logo

हिमाल आरोहण अनुमतिबाट साढे ७३ करोड रोयल्टी

यस वर्षको वसन्तयाममा सगरमाथासहित २४ हिमाल आरोहणका लागि एक हजार ४६ जनाले अनुमति दिएका छन् । विश्वका सर्वोच्च शिखर सगरमाथासहित अन्य २३ हिमाल आरोहणका लागि यो संख्यामा अनुमति जारी भएको पर्यटन विभागले जनाएको छ ।

विभागका अनुसार बुधबारसम्म ४२ समूहका ३६७ पुरुष ९६ महिलासहित कुल ४ सय ६३ जनाले सगरमाथा आरोहणका लागि अनुमति लिएका छन् । अन्यले विभिन्न २३ हिमाल आरोहणका लागि अनुमति लिएका हुन् । विभागका शाखा अधिकृत विज्ञान कोइरालाका अनुसार सगरमाथा आरोहणमा यो वर्ष अनुमति लिनेको संख्या उल्लेख्य छ ।

उनले भने, “सगरमाथा आरोहणका लागि ६५ देशका ४ सय ६३ जनाले आरोहण अनुमति लिएका छन् । यो संख्या अघिल्लो वर्षको भन्दा बढी हो ।” गत वर्ष ३ सय ३५ ले अनुमति लिएका थिए । यो वर्ष करिब ४ सय ७० को हाराहारीमा आरोहण अनुमति पुग्ने अनुमान विभागको छ । कुल २३ हिमालको लागि १ सय १४ समूहले आरोहण अनुमति लिएका छन् । जसमा ८ सय ७ पुरुष र २ सय ३९ महिला गरि कुल एक हजार ४६ जना छन् ।

सगरमाथा आरोहणका लागि ६५ देशका आरोहीले आरोहण अनुमति लिएका छन् । सबैभन्दा बढी चीनबाट ९६, अमेरिकाबाट ८७, भारतबाट ४० र रुसबाट २० आरोही रहेका छन् । सगरमाथाका लागि १२ नेपाली आरोहीले समेत आरोहण अनुमति लिएका छन् । सगरमाथा आरोहण टोलीबाट मात्र सरकारलाई ६५ करोड रुपैयाँ रोयल्टी संकलन भएको छ । यो सिजनमा २४ हिमालबाट ७३ करोड ५४ लाख ६० हजार ९ सय २३ रुपैयाँ संकलन भएको छ ।

जुन हाल सम्मकै उच्च रोयल्टी संकलन भएको शाखा अधिकृत कोइरालाले बताए । उनले भने,“विगतमा ६० करोडसम्म रोयल्टी जम्मा भएको थियो । तर यो वर्ष ७३ करोड ५४ लाख संकलन भइसकेको छ । थप हुने क्रममा छ ।” सगरमाथा आरोहण अनुमति लिन विदेशी नागरिकले प्रतिव्यक्ति ११ हजार अमेरिकी डलर रोयल्टी तिनुपर्ने व्यवस्था छ भने नेपालीको हकमा प्रतिव्यक्ति ७५ हजार नेपाली रुपैयाँ रोयल्टी तिर्नुपर्छ ।

सगरमाथा आरोहणका लागि बढीमा १५ जनाको सम्म समूह बनाउन पाउने व्यवस्था रहेको विभागले जनाएको छ । हिमाल आरोहणको लागि अनुमति लिन आउनेको संख्यामा वृद्धि हुँदै गएको छ । अनुमति दिएका आरोहीहरु हिमाल आरोहणको लागि प्रस्थान गर्ने क्रममा रहेका छन् । कोभिड–१९का कारण हिमाल आरोहणमा कमी आएको भए पनि सन् २०२२ देखि आरोहण गर्ने आरोहीको संख्यामा वृद्धि हुने क्रममा रहेको छ र यस वर्ष थप वृद्धि हुने अनुमान गरिएको छ ।

गएको वसन्तयाममा विश्वको सर्वाेच्च शिखर सगरमाथामा २ सय ४० जनाले आरोहण गरेका थिए । गएको वसन्तयाम सिजनमा सगरमाथाको लागि ३ सस २५ जनाले आरोहण अनुमति लिएकोमा २ सय ४० जनाले आरोहण पूरा गरेको विभागले जनाएको छ । हाल सगरमाथामा रोप फिक्सिङ (डोरी टाँगेर) बाटो बनाउने काम भैरहेको छ ।

टोली साउथ पोलमा पुगेको जनकारी प्राप्त भएको शाखा अधिकृत कोइरालाले बताए । उनले भने,“रोप फिक्सिङ यो वर्ष मे को पहिलो हप्ता पूरा हुने र आरोहण शुरु हुनेछ ।” कोभिड–१९ को त्रास कम भएको र मौसम पनि सुधारोन्मुख देखिँदै गएकाले यो वर्ष आरोहीको संख्यामा उल्लेख्य वृद्धि भएको विभागको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्