Logo

कर्णाली राजमार्ग : कालोपत्रे र चौडा हुँदै नाग्म–राराखण्ड

कर्णाली राजमार्ग सञ्चालनसँगै भित्रिएको विकासले कर्णालीबासीको दिनचर्या फेरिएको छ । एक बोरा चामल र नुन तेलका लागि महिना दिन पैदल हिँडेर दैलेख तथा सुर्खेत पुग्नुपर्ने बाध्यता मात्रै हटेको छैन कर्णाली राजमार्गको आगमनले आर्थिक समृद्धि, भौतिक विकास तथा यातायातमा आम नागरिकको पहुँच विस्तार तथा समग्रमा जीवनशैली नै फेरिएको छ ।

तर प्राकृतिक विपद्सँगै राज्यको अर्जुनदृष्टि नपर्दा वर्षेनी कर्णाली राजमार्गको दुरावस्था बढ्दै गएको छ । गत असोज १९ देखि २५ सम्म भएको अविरल वर्षाले कर्णाली राजमार्ग क्षतविक्षत भएको थियो । जुम्ला सडक डिभिजनको कार्यक्षेत्रमा पर्ने दैलेखको दैखोलादेखि जुम्लातर्फको १०४ किमि सडकमध्ये ८० प्रतिशत सडकमा क्षति भएको थियो भने कालोपत्रको नाम निसाना नरहने गरी क्षति भएको राजमार्गको स्तरवृद्धिमा सडक डिभिजन जुम्लाले निरन्तरता दिएको छ ।

प्राकृतिक प्रकोपसँंगै साँघुरो र बढी दुर्घटना भइरहने हुनाले कर्णाली राजमार्गलाई मृत्युमार्गका रूपमा समेत चिन्ने गरे पनि सडक डिभिजनले स्तरवृद्धिको कामलाई भने निरन्तर अघि बढाएको हो । जसअन्तर्गत सबैभन्दा बढी पहिरो आएर क्षति भएको कर्णाली राजमार्गको ‘नाग्म–रारा खण्ड’को कालोपत्रे तथा स्तरवृद्धिको काम दु्रत गतिमा भइरहेको छ । दुई वटा ठेक्कामार्फत् राजमार्ग कालोपत्रे तथा सडक चौडा गर्ने काम भइरहेको छ ।

ठेक्का नं. ५ मार्फत् सडक चौडा तथा टेवा पर्खाल निर्माणको भइरहेको छ भने ठेक्का नं.६ मार्फत् राजमार्गको जोखिम भागलाई छिचोलेर कालोपत्रेको काम जारी छ । सडक डिभिजन जुम्लाका सूचना अधिकारी चित्र चौलागाईंले कर्णाली राजमार्गको नाग्म–रारा खण्डको दुई किलोमिटर सडक कालोपत्रे अन्तिम चरणमा पुगेको बताए । उनले भने, “कालोपत्रेको काम अन्तिम चरणमा पुगिसकेको छ । असोजको बाढीले सडककै निसाना नै थिएन । कार्यालयको जोड र निर्माण व्यवसायीको सक्रियताले कालोपत्रे भएको हो ।”

‘महादेव–खिम्ती–अन्जना खड्का जेभी’ काठमाडाैंले तीन करोड ८० लाख १९ हजार रुपैयाँमा ठेक्का सम्झौता गरी कालोपत्रेको काम गरेको थियो । हाल कालोपत्रे कामको भौतिक प्रगति ९५ प्रतिशत भइसकेको छ भने केही दिनमै काम सकिने निर्माण व्यवसायी सुमन खड्काले बताए ।

२ किमि सडक चौडा बनाइँदै

कर्णाली राजमार्गअन्तर्गतकै नाग्म–रारा खण्ड सडकलाई चौडा बनाइँदै छ । गत असोजको बाढी पहिरोले साँघुरिएको सडकलाई चौडा बनाउन लागिएको हो । आव २०७८/०७९ को ठेक्का नं. ५ मार्फत् नाग्म–रारा खण्डको दुई किमि सडक चौडा बनाउने, नाला निर्माण गर्ने, टेवा पर्खाल लगाउने लगायतको काम धमाधम भइरहेको सडक डिभिजन जुम्लाका सबइन्जिनियर वीरेन्द्र रावलले बताए ।

उनले भने, “गत असोजको बाढी पहिरोले सडक निकै साँघुरिएको थियो । सवारी आवतजावतमा उस्तै समस्या थियो । गत आव ०७८ को असोजमा कार्यसम्झौता भएको उक्त कामको भौतिक प्रगति हालसम्म ६० प्रतिशत भएको छ । बाँकी ४० प्रतिशत कालोपत्रेको काम बाँकी छ ।”

उनका अनुसार सडक चौडा तथा टेवा पर्खाल निर्माणका लागि थोदुङ कस्ट्रक्सन प्रालि काठमाडांैसँगै चार करोड १५ लाख ९३ हजार रुपैयाँमा ठेक्का सम्झौता भएको छ । नाली निर्माण, पर्खाल निर्माणको काम सम्पन्न भइसकेको छ । अब कालोपत्रे गर्ने तयारी हुँदैछ । बाढीले क्षतिविक्षत भएको सडकलाई कालोपत्रे गर्दा यात्रा सहज हुने आशामा नागरिक छन् ।

बाढीले सबैभन्दा बढी क्षतिग्रष्त क्षेत्र नाग्म–रारा खण्डको कालोपत्रे तथा सडक चौडा बनाउन सडक डिभिजनसँगै निर्माण व्यवसायीले देखाएको सक्रियताप्रति नागरिक अगुवा राजबहादुर महतले खुसी व्यक्त गरे । त्यसका साथै नेपालकै ठूलो रारा ताल जाने पर्यटकीय मार्ग नाग्म–गमगडी सडकको पाँच किमि सडकको स्तरवृद्धिसँगै कालोपत्रे काम अघि बढेको सबइन्जिनियर रावलले जानकारी दिए ।

हाल सडक चौडा बनाउने, पर्खाल लगाउने नाला बनाउने लगायतको काम धमाधम भइरहेको छ । आगामी २०८१ पुससम्म नाग्म–गमगडीको रोकायाबाडादेखि हाँटसिंजासम्मको ६ किमि सडक कालोपत्रे गरिसक्ने सम्झौता भएको छ । सडक चौडा, पर्खाल निर्माण, नाली निर्माण र कालोपत्रे गर्नेसहित ‘थोदुङ बासना जेभी’सँंग ३५ करोड ४५ लाख ४८ हजार रुपैयाँमा ठेक्का सम्झौता भएको छ ।

गत असोजको बाढीले सबैभन्दा बढी क्षति भएको नाग्म–रारा खण्ड तथा नाग्म गमगडी सडक खण्ड कालोपत्रेसँगै चौडा र स्तरवृद्धिको काम धमाधम भएपछि जुम्लाबासी खुसी भएका छन् ।

प्रतिक्रिया दिनुहोस्