शिक्षकले तलब पाएनन्

दशरथचन्द नगरपालिकाभित्रका शिक्षकहरूले तीन महिनादेखि तलब पाएका छैनन् । स्थानीयतहबाट शिक्षकको तलब वितरण हुन थालेपछि नगरपालिकाले बजेट अपुग भएको भन्दै सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरूलाई तीन महिना यतादेखिको तलब दिएको छैन ।
नगरपालिकाले दोस्रो चौमासिकको बजेट निकासा नगर्दा शिक्षकले तलब पाउन नसकेका हुन् । उनीहरूले तलब समयमै उपलब्ध गराइ दिन नगरपालिकासँग माग गर्दै ज्ञापनपत्र बुझाएका छन् । विगतमा जिल्ला शिक्षा कार्यालयबाट तलब भत्ता बुझ्दै आएका शिक्षकले चालू आवको पहिलो चौमासिकको तलब नगरपालिकाबाट पाएका थिए । तर नगरपालिकाले दोस्रो चौमासिकको तीन महिना बित्नै लाग्दासमेत बजेट निकासा गर्न सकेको छैन ।
विगतमा नियमित पाउँदै आएको तलब भत्ता अहिले रोकिँदा शिक्षक समस्यामा परेको भन्दै शिक्षक संघसंगठन आन्दोलित भएका छन् । स्थानीय तह गठनपछि सामुदायिक विद्यालयमा कार्यरत शिक्षकको तलबभत्ता सम्बन्धित गाउँ तथा नगरपालिकाले उपलब्ध गराउनुपर्ने व्यवस्था लागू भएपछि आफूहरूले समयमै तलब पाउन नसकेको नेपाल शिक्षक संघका उपाध्यक्ष घनश्याम लेखकले बताए ।
बजेट अपुग रहेकाले अहिले शिक्षकको तलब समयमै दिन नसकिएको नगरपालिकाले जनाएको छ । शिक्षा विभागबाट कम बजेट आएकाले तत्काल तलब दिन नसकिएको र अपुग रकम माग गरेको नगरपालिकाका उपप्रमुख मीना चन्दले बताइन् । “पहिलो चौमासिकमा पनि अपुग रकम आएको थियो,” उपप्रमुख चन्दले भनिन्, “नगरपालिकाले आफ्नो बजेट थपेर शिक्षकलाई तलब खुवाएको थियो ।”
नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयका लागि विभिन्न १३ शीर्षकमा बजेट आउने गर्दछ । तर सबै शीर्षकमा विभागबाट न्यून बजेट आएको नगरपालिकाले जनाएको छ । नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयका लागि वार्षिक करिब १६ करोड १९ लाख रुपैयाँ आवश्यक रहेकोमा १० करोड ७० लाख आठ हजार रुपैयाँको मात्रै अख्तियारी आएको नगरपालिकाले जनाएको छ । शिक्षकका लागि पाँच करोड चार लाख ७७ हजार रुपैयाँ बजेट अपुग रहेकाले अपुग रकम विभागसँग माग गरिएको बताइएको छ ।