लक्ष्य ४६७ मेगावाट उत्पादन भने ७८ मात्र «

लक्ष्य ४६७ मेगावाट उत्पादन भने ७८ मात्र

गत अवमा विद्युत उत्पादनको लक्ष्यको १७ प्रतिशतमात्रै 

सरकारले आर्थिक वर्ष २०७५-७६ मा २८ आयोजना सम्पन्न गरेर ४ सय ६७ मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्य राखेको थियो तर उत्पादन भने ७८ मेगावाटमा सीमित भएको छ । नेपाल विद्युत् प्राधिकरणले निर्माण गरिरहेको ६० मेगावाटको माथिल्लो त्रिशूली ३ ए र निजी क्षेत्रबाट ८ जलविद्युत् आयोजना सम्पन्न भइ यति विद्युत् उत्पादन भएको हो । विद्युत् प्राधिकरणको तथ्यांकले यतिधेरै विद्युत् उत्पादन गर्ने लक्ष्य राखे पनि समयमै सम्पन्न हुन नसक्ने देखेपछि यसलाई संशोधन गरेर १७८ मेगावाटमा झारेको थियो । तर त्यो लक्ष्यसमेत पूरा भएन ।
विद्युत् प्राधिकरणका प्रवक्ता प्रवलराज अधिकारी भने निजी क्षेत्रका ८ आोजनामार्फत ४८ मेगावाट गत वर्ष उत्पादन भएको बताउँछन् । उनका अनुसार, निजी क्षेत्रबाट २२ मेगावाटको वागमती खोला साना, ८.८ मेगावाटको रुदीखोला ए, ७.८ मेगावाटको सुपर माई, ५ मेगावाटको पिखुवाखोला, ३.३३ मेगावाटको कपडीगाढ, ०.१० मेगावाटको मिदिमखोला र ०.०९ मेगावाटको सोवुवा खोला तथा ०.९६ मेगावाटको विष्णुप्रिया सोलार आयोजना निर्माण सम्पन्न भई ग्रीडमा जोडिएका थिए । निर्माणाधीन ६० मेगावाटको माथिल्लो त्रिशूलीको एक युनिट अर्थात ३० मेगावाट पनि केन्द्रीय ग्रीडमा जोडिएको विद्युत् प्राधिकरण उत्पादन निर्देशनालयका उपकार्यकारी निर्देशक सुनिल ढुंगेलले जानकारी दिए । 
२०७२ फागुनमा सरकारले ल्याएको ऊर्जा संकटकाल कार्ययोजनामा १० वर्षभित्र १० हजार मेगावाट र तीन वर्षभित्र ३ हजार मेगावाट उत्पादन गर्ने लक्ष्य राखिएको थियो । तर, तीन वर्षको तथ्यांक हेर्ने हो भने २ सय ९८ मेगावाट उत्पादन भएको छ । एक वर्षअघि फेरि सरकारले १० वर्षभित्र १५ हजार मेगावाट निर्माण गर्ने लक्ष्य सार्वजनिक गरेको छ । सो अनुसार अबको आगामी दुई वर्षभित्र सो लक्ष्य भेटाउन २९ सय २२ मेगावाट उत्पादन गर्नुपर्ने हुन्छ । सरकारी अधिकारीहरूले दुई वर्षभित्र लक्ष्य पूरा हुने अवस्था रहेको बताए पनि विगत तीन वर्षभित्रको तथ्यांक भने निराशजनक छ । विद्युत् प्राधिकरणले संशोधन गरेको लक्ष्य पनि हासिल हुन सकेको देखिँदैन । आर्थिक वर्ष २०७३-०७४ मा संशोधित लक्ष्य २०० सय मेगावाट रहेकोमा उत्पादन भने ११६ तथा २०७४-०७५ मा २५० लक्ष्य रहेकोमा १०४ मेगावाट उत्पादन भएको छ । आगामी आर्थिक वर्ष २०७६-७७ मा भने ११०० मेगावाट उत्पादन हुने लक्ष्य राखिएको छ । विद्युत् प्राधिकरणको लक्ष्यअनुसार वर्ष २०७६ भित्र ४० जलविद्युत् आयोजना निर्माण हुँदैछन् ।
विद्युत् प्राधिकरणका अनुसार ४५६ मेगावाटको माथिल्लो तामाकोसी, ६० मेगावाटको त्रिशुली ३ ए, १४ मेगावाटको कुलेखानी तेस्रो लगायतका आयोजना नयाँ वर्ष्भित्र सम्पन्न हुँदैछन् । यीबाहेक ४२ मेगावाटको मिस्त्रीखोला, २७ मेगावाटको दोर्दीखोला, २५ मेगावाटको अपर दोर्दी ए, ८२ मेगावाटको लोआर सोलुखोला, ८६ मेगावाटको सोलुखोला दूधकोसी, ३७.६ मेगावाटको काबेली–ए, ३४ मेगावाटको आँखुखोला लगायतका आयोजना पनि नयाँ वर्षभित्र सम्पन्न हुने सूचिमा प्राधिकरणले राखेको छ । 
२०७५ सालमै निर्माण सम्पन्न हुनुपर्ने २५ मेगावाटको काबेली बी ए, ३६ मेगावाट माथिल्लो बलेफी ए, २५ मेगावाटको दरवाङ म्याग्दी, १०२ मेगावाटको मध्यभोटेकोसी तथा ५७.३ मेगावाटको अपर र अपर साञ्जेन जलविद्युत् आयोजना पनि २०७६ सालमै सम्पन्न हुने अवस्था देखिएको प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार हालसम्म सबैभन्दा बढी विद्युत् उत्पादन २०५९ सालमा १५१.५ मेगावाट उत्पादन भएको थियो ।
सो वर्ष १४४ मेगावाटको कालीगण्डकी जलविद्युत् आयोजना विद्युत् प्राधिकरणमार्फत निर्माण सम्पन्न भएको थियो । चालू वर्षभित्र हालसम्मकै सबैभन्दा बढी उत्पादन हुने अपेक्षा प्राधिकरणको छ । हुन त ५ सय किलोवाटको फर्पिङ जलविद्युत्बाट सुरु भएको विद्युत् उत्पादनको इतिहास १ सय ७ वर्ष लामो छ । वि.सं. १९६८ सालमा नेपालमा विद्युत् उत्पादन भएको सुरु भएको जलविद्युत् उत्पादन हालसम्म आइपुग्दा ११ सय मेगावाटको हाराहारीमा पुगेको छ ।  

 

वर्ष           संशोधित लक्ष्य              उत्पादन  
                (मेगावाट) 
२०७३-७४        २००                      ११६
२०७४-७५        २५०                      १०४ 
२०७५-७६        १७८                      ७८
२०७६-७७        ११००                      –

प्रतिक्रिया दिनुहोस्