अव्यवस्थित तार हटाउन निर्देशन

काठमाडाैं महानगरपालिकाले उपत्यकाको सौन्दर्यकरण कायम राख्न पोलमा रहेको अव्यवस्थित तार हटाउन सम्बन्धित पक्षलाई निर्देशन दिएको छ । महानगरपालिका भित्र जडान गरिएको विद्युतीय तारले महानगरको सुन्दरतामा ह्रास आएको भन्दै सेवा प्रदायक तथा सम्बन्धित कार्यालय र संघसंस्थालाई १५ दिनको समय दिइएको हो ।
महानगरपालिकाले मंगलबार एक सूचना प्रकाशित गरी जथाभावी रुपमा तारहरु लत्रिएको, भद्धा देखिएको भन्दै तार व्यवस्थापनका लागि अनावश्यक तार हटाउन निर्देशन दिएको हो । महानगरपालिकाको सहरको सुन्दरतामा कमी आएको, सार्वजनिक आवागमनमा असर परेको सूचनामा उल्लेख गरेको छ । आगलागी लगायतको जोखिम सिर्जना हुनसक्ने भन्दै अनावश्यक तार तत्काल हटाउन उस्ले भनेको हो ।
सडकमा छरिएका तार सम्बन्धित निकायले आफैं हटाउनु पर्ने र आवश्यक तारलाई संकेत चिन्ह लगाउनुपर्ने पनि सूचनामा उल्लेख छ । महानगरले आगामी १५ दिन भित्रमा सम्बन्धित निकायले निर्देशन अटेर गरेर तार नहटाए आफैँले हटाउने चेतावनी समेत दिएको छ । अव्यवस्थित तारबाट सिर्जना हुनसक्ने जोखिम घटाउने विषयप्रति महानगरपालिकाले विभिन्न समयमा सरोकारवाला निकाय तथा अधिकारीसँग बैठक बसेर व्यवस्थापनका लागि अनुरोध गरिसकेको जनाएको छ ।
महानगरपालिकाका प्रवक्ता नविन मानन्धरले निर्देशन कार्यन्वयनमा सम्बन्धित पक्षले अटेर गरेमा वडा कार्यलयहरुबाट विद्युतीय तार काटिदिने बताएका छन् । “हामीले सम्बन्धित पक्षसँग धेरैपटक छलफल र समन्वय गर्ने प्रयास गरेका थियौ, उहाँहरुले अटेर गर्दै आउनुभयो,” उनले भने, “महानगरपालिकाको सौन्दर्यकरणका लागि तार व्यवस्थापन गर्न १५ दिने सुचना दिएका छौ, अटेर गरेमा अवको १६ औं दिनमा वडा कार्यलयहरुले विद्युतीय तार काट्ने छ ।”
महानगरपालिका अनुसार नगर प्रमुखस्तरीय निर्णयबाट टेलिफोन, केबुल तथा इन्टरनेट सेवा प्रदायक कार्यालय तथा संघ संस्थाहरू नेपाल टेलिकम, एनसेल, नेपाल विद्युत प्राधिकरण, केबुल प्रसारक संघलगायतलाई पत्र पठाइएको छ । पत्रमा उनिहरुलाई तार हटाउन र प्रयोगमा रहेका तार ट्यागिङ गरेर व्यवस्थापन गर्न समय तोकिएको महानगरपालिकाको भनाइ छ ।
विगतमा पनि प्राधिकरणले पटक–पटक ताकेता गरी विद्युतीय पोलका अनावश्यक तार हटाउन भने पनि अटेरी हुँदै आएको माहानगरपालिकाले बताएको छ । “महानगरले यो सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र उक्त तार/केवल नहटाइएमा १६ दिनपछि महानगरपालिका आफैले हटाउने जनाएको छ ” सूचनामा भनिएको छ ।