समस्या सुल्झाउने प्रयासमा व्यवसायी

औद्योगिक क्षेत्रमा देखिएको समस्या सुल्झाउने प्रयत्नमा उद्योगी व्यवसायी लागि परेका छन् । वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष अनिल कुमार अग्रवालको नेतृत्वमा पदाधिकारी समस्या सुल्झाउने प्रयास लिएर काठमाडौं आएका छन् ।
उनीहरुले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालसहित मन्त्रालयका सचिवलाई भेटेर औद्योगिक करिडोरमा देखिएको ढलनिकासको समस्या, औद्योगिक क्षेत्र, विशेष आर्थिक क्षेत्र र लोडसेडिङको समस्या राखेका छन् । अहिले उद्योगी व्यवासायीले भोग्दै आएको उद्योगबाट नदिमा बग्ने उद्योगको पानीको उचित निकासका लागि नालाको व्यवस्थापन र दूषित पानीलाई प्रशोधन गर्न पानी प्रशोधन केन्द्रको लागि राज्यले लगानी गर्नुपर्ने माग लिएर मन्त्रालयमा पुगेका हुन् ।
औद्योगिक करिडोरमा रहेका उद्योगले सिर्सिया नदिमा प्रदूषण गरेको भन्दै वीरगन्ज महानगरपालिकाले पाँच वटा उद्योगलाई ३–३ लाख रुपैंयाको दरले जरीवाना काटेको छ । उद्योगीहरूले भने आफूहरूको अर्को कुनै विकल्प नभएकोले यसमा सरकारले समन्वय र सहयोग गर्नुपर्ने माग गरेको संघका अध्यक्ष अग्रवालले बताए । उद्योग मन्त्रीसँगको भेटपछि टोलीले गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग भेटेर सीमाक्षेत्रमा सुरक्षाकर्मीहरूबाट हुने व्यवहारको विषयमा सुधार गर्न माग गरेका थिए ।
सीमाक्षेत्रमा भारतीय रुपैंया लिएर आउने व्यावसायीलाई सुरक्षाकर्मीले गुण्डाको आरोप लगाउने र स्रोत नखुलेको आरोपमा पक्राउ गरी व्यावसायीको प्रतिष्ठामा आँच आउने काम गरेको भन्दै यसको समस्या समाधान गर्न गृहमन्त्री श्रेष्ठसँग आग्रह गरेका छन् । सिमरामा स्थापना गरिएको विशेष आर्थिक क्षेत्रमा निर्यातजन्य वस्तु उत्पादन गर्ने उद्योग मात्रै लगाउन पाउने सरकारको नीति भएपनि अहिले नेपालमा निर्यातयोग्य वस्तु उत्पादन गर्ने उद्योग स्थापना गर्न सक्ने अवस्था नरहेकोले त्यसलाई औद्योगिक क्षेत्रको रुपमा रुपान्तारण गर्न उनिहरूले सरकारसँग माग गरेका छन् ।
त्यस्तै टोलीले ऊर्जा तथा जलस्रोत मन्त्री शक्तिबहादुर बस्नेतसँग पनि भेट गरेर औद्योगिक क्षेत्रमा पछिल्लो समयमा देखिएको लोडसेडिङको समस्याको बारेमा पनि छलफल गरेको छ । विश्व बजारको मन्दीले उत्पादन घटेको अवस्थामा अनियमित विद्युत कटौतीले भएका उत्पादनमा पनि ह्रास आउनुका साथै गुणस्तरमा समेत कमी आएको उनिहरुले बताएको संघका बरिष्ठ उपाध्यक्ष हरि गौतमले जानकारी दिए ।