कोरियन भाडा विवाद : निगमलाई रोकेर कोरियाको एकलौटी «

कोरियन भाडा विवाद : निगमलाई रोकेर कोरियाको एकलौटी

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले दक्षिण कोरियामा ईपीएसमार्फत रोजगारीमा जाने नेपाली युवासँग कोरियन एयरले बढी हवाई भाडा लिएको भन्दै प्रश्न गरेका छन् । यसले साँच्चिकै नेपाली युवाहरु महँगो भाडा तिर्न बाध्य भएका हुन् त भन्ने प्रश्न सतहमा आएको छ ।

मन्त्री किरातीले शुक्रबार कोरिया जाने हवाई टिकट किन महँगो भयो भनेर श्रम तथा रोजगार मन्त्रालयलमार्फत ईपीएस कोरिया शाखालाई प्रश्न गरेका थिए । मन्त्री किरातीले ईपीएसमार्फत कोरियन एयरलाइन्सद्वारा जाने टिकट लागत कति हो ? प्रतिव्यक्ति नाफा कति आउँछ ? कति प्रतिशत बढाउन पाउने नियम छ ? कोरियन एयरलाइन्सले अहिलेसम्म एकलौटी कति यात्रु बोकेको छ र समग्रमा अहिलेसम्मको टिकट बजेट कति हुन आउँछ ? लगायतका प्रश्न सोधेका थिए ।

उनले कुनै मुलुकमा ट्रान्जिट भएर कोरिया जाँदा ७० हजार भाडा लाग्ने तर सिधै जाँदा कोरियन एयरलाइन्सले १ लाख ८५ हजार लिने गरेकामा पनि प्रश्न उठाएका थिए र सबै प्रश्नको जवाफ माग गरेका थिए । मुलुकको मन्त्रीजस्तो जिम्मेवार व्यक्तिले भनेजस्तै ईपीएसमार्फत कोरिया जानेले चर्को मूल्य तिर्नुपरेको सत्य हो । यसको पछाडि कोरियाली सरकारको हात रहेको बताइन्छ । कोरियन एयरलाई एकलौटी अधिकार दिएर नेपाली युवाहरुबाट चर्को भाडा लिने काम भइरहेको छ ।

पर्यटन मन्त्रालयका एक अधिकारीका अनुसार विगतमा नेपाल वायुसेवा निगमले वाइडबडी–एयरबस ३३० विमान खरिद गरेपछि कोरिया उडान भर्नका लागि चासो व्यक्त गरेको थियो । निगमले कोरिया उडानका लागि लामो समयदेखि प्रक्रिया थाले पनि कोरियाली सरकारले सेफ्टी अडिट गर्नुपर्ने बहानामा अनुमति दिएको छैन । नियमित उडान गर्नको लागि दक्षिण कोरियाको भूमि पूर्वाधार तथा यातायात मन्त्रालयबाट निगमको सेफ्टी अडिट गर्ने भनिएअनुसार अहिले एक उपसमिति बनाइएको छ ।

आगामी मे १५ पछि अडिटका लागि बोलाउन सकिने जनाइएको छ । मे १५ पछि निगम सेफ्टी अडिटको लागि तयार रहेको निगमले प्रष्ट पारेको छ । हाल कोरियाबाट कोरियन एयरले सोल–काठमाडौं–सोल सातामा ४ उडान भर्दै आएको छ । एयरले ईपीएसका कामदार लानुपरेको अवस्थामा भने संख्या थपेर उडान भर्ने गरेको छ । विगत लामो समयदेखि कोरियाले निगमको सेफ्टी अडिट गरेर मात्र उडान अनुमति दिने भन्दै आएको छ ।

तर, कुन मितिमा र कहिले गर्ने भनेर कुनै जवाफ दिने गरेको छैन । विगतमा कोरियाले निगमलाई चार्टर तथा उद्धार उडान अनुमति समेत दिएको थिएन । हवाई इन्धन तथा ल्याडिङ तथा पार्किङ शुल्क बढी भएर पनि नेपालबाट उडान भर्दा टिकट महँगो पर्न गएको नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) का अध्यक्ष रमेश थापाले बताए ।

उनले भने, “हाम्रो राष्ट्रिय ध्वजावाहक निगमले उडान संख्यामा विस्तार गर्न नसक्दा पनि श्रम गन्तव्यमा केही हवाई टिकट महँगो पर्न गएको हो ।” कोरियामा भने कोरियन एयरले मात्र उडान भर्ने भएकाले पनि हवाई टिकट महँगो हुन गएको अध्यक्ष थापाको भनाइ छ । नेपालबाट सबैभन्दा बढी कामदार जाने श्रम गन्तव्य मलेशियाको क्वालालम्पुरमा ४१ हजार, साउदी अरबमा ४४ हजारदेखि ७० हजारसम्म भाडा रहेको छ ।

यस्तै, दुबईमा २९ हजारदेखि ३८ हजार ५ सयसम्म, दोहामा ४० हजारदेखि ६३ हजार रुपैयाँसम्म हवाई टिकट पर्छ । यी गन्तव्यभन्दा थोरै परको कोरियामा भने झण्डै तेब्बर मूल्य तिरेर युवा जान बाध्य भएका छन् ।

प्रतिक्रिया दिनुहोस्