निसानले चीनमा ९.५ अर्ब डलर लगानी गर्ने

जापानी अटो निर्माता निसान मोटर र उसको चिनियाँ संयुक्त लगानीको साझेदारले चीनमा ९.५ अर्ब डलरको लगानी योजना बनाएको जनाएको छ । वार्षिक बिक्रीमा १० लाखको वृद्धि गर्न र विद्युतीय कारको उत्पादन बढाउन यो परिमाणको लगानी गर्न लागिएको कम्पनीले जनाएको छ ।
निसानको उच्च कोटीको ब्रान्ड इनफिनिटी आगामी २०२५ देखि चीनमा विद्युतीय कारका रूपमा जान लागेको योजनामा उल्लेख गरिएको छ ।
कम्पनीले लगानी योजनामा केही विशेष हुने उल्लेख गरेको छ । पैसा म्यानुफ्याक्चरिङदेखि मानव संसाधनका केही क्षेत्रमा जाने कम्पनीले जनाएको छ ।
गत वर्ष निसानले चीनमा १५ लाख सवारी बिक्री गरेको थियो । आगामी २०२२ देखि २६ लाख सवारी बिक्री गर्ने योजना कम्पनीको रहेको बताइएको छ । उक्त समयमा आम्दानी ३ सय अर्ब युआन अर्थात् ४७.६ अर्ब अमेरिकी डलरमा पुग्नेछ ।
यो विस्तार योजनाअन्तर्गत २० नयाँ सवारीका मोडल आउनेछन् । कम्पनीको कुल बिक्रीको ३० प्रतिशत विद्युतीय सवारी र नयाँ ऊर्जाका सवारी हुनेछन् ।
बेइजिङले चीनलाई खनिज तेलको प्रयोगबाट मुक्त गर्ने महŒवाकांक्षी योजना तयार पारेको छ ।
सरकारी निकायले २०१९ मा विद्युतीय कारको न्यूनतम संख्या उत्पादन गर्ने कोटा कार्यान्वयनमा ल्याउने भएको छ । चीनले उत्खनन भएका इन्धनबाट चल्ने कारमाथि प्रतिबन्ध ल्याउने तयारी पनि गरिरहेको छ । यद्यपि यसको मितिका बारेमा भने अझैसम्म निर्णय गरिसकिएको छैन ।