वल्र्डलिंक र क्रिकेट संघ नेपलबीच सम्झौता

देशकै सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक कम्पनी वल्र्डलिंक कम्युनिकेशन्स लिमिटेडले नेपालमा क्रिकेटका लागि आवश्यक पर्ने इन्टरनेट सम्बन्धी सम्पूर्ण पूर्वाधार प्रदान गर्ने भएको छ ।
देशमा क्रिकेटको स्तरोन्नति गर्न आवश्यक कनेक्टिभिटी सम्बन्धी हरेक पूर्वाधार प्रदान गर्ने विषयमा वल्र्डलिंकर क्रिकेट संघ नेपालबीच समझदारी पत्रमा हस्ताक्षर भएको हो । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको उक्त समझदारी पत्रमा वल्र्डलिंकको तर्फबाट कम्पनीका प्रमुख कार्यकारी अधिकृत केशव नेपाल र क्यानका कार्यकारी सचिव दुर्गाराज पाठकले हस्ताक्षर गरेका छन् । तीन वर्षका लागि भएको यो सम्झौताको अवधि दुवै पक्षबीचको आपसी समझदारीमा थप समयका लागि विस्तार हुन सक्ने बताइएको छ ।
कम्पनीका सीईओ नेपालले वल्र्डलिंक देशको सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक भएको नाताले पनि देशको खेललाई बिस्तार तथा प्रवद्र्धन गर्नु आफूहरूको जिम्मेवारी भएको बताए । “हामीले देशका दुर्गम स्थानहरूमा पनि सेवा उपलब्ध गराइरहेका छौं” उनले भने, “पछिल्लो समय खेलमा पनि नेपालले प्रगति गरिरहेको छ । यसलाई देशका हरेक कुनाकुना सम्म पुर्याउनु हाम्रो दायित्व हो । यही कुरालाई मनन गर्दै हामीले खेल प्रवद्र्धनमा सहयोग गरेका हौं ।”
सम्झौता अनुसार मूलपानी र कीर्तिपुर क्रिकेट मैदानमा वल्र्डलिंकले वैकल्पिक अप्टिकल फाइबर केवलसहित ४० एमबीपीएस गतिको डेडिकेटेड इन्टरनेट सुविधा उपलब्ध गराउनेछ । यससँगै जारी एसीसी क्रिकेट कप अवधिभरका लागि दुवै स्थानमा १०० एमबीपीएसको डेडिकेटेड इन्टरनेट जडान गरिएको कम्पनीले जनाएको छ ।