राष्ट्रपति पौडले एम्स अस्पतालको आईसीयूमा

राष्ट्रपति रामचन्द्र पौडेल भारतको नयाँ दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स)मा उपचारका लागि भर्ना भएका छन् । उनलाई एम्सको भीआईपी आईसीयूमा राखेर उपचार सुरु गरिएको छ ।
राष्ट्रपति पौडेललाई बुधबार बिहान नयाँ दिल्लीस्थित विमानस्थलमा अवतरण गरेलगत्तै भारतका लागि नेपाली राजदूत शंकर शर्मा र भारतीय विदेश मन्त्रालयको नर्थ डिभिजन प्रमुख अनुराग श्रीवास्तवले रिसिभ गरेका थिए । उनलाई उच्च सुरक्षासहित एम्स अस्पताल पुर्याइएको थियो । उनको उपचारमा हाल एम्स अस्पतालका प्लमोनरी, क्रिटिकल केयर तथा स्लिप मेडिसिन विभागका प्रमुख प्रा.डा. अनन्त मोहन र आईसीयू विज्ञ डा. पुनीत मिश्रको टोली संलग्न रहेको उनका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।
चिकित्सकहरूले राष्ट्रपतिको नेपालमा गरिएकासहित थप परीक्षण गर्ने जनाएका छन् । यसबीचमा भारतीय विदेश सचिव विनयमोहन क्वात्राले एम्समा पुगेर राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुका साथै सिघ्र स्वास्थ्य लाभको कामना गरेका छन् । स्वास्थ्यमा सुधार नभएपछि राष्ट्रपति रामचन्द्र पौडेललाई थप उपचारका लागि एयर एम्बुलेन्सबाट बुधबार बिहान भारत लगिएको हो । राष्ट्रपति पौडेललाई श्री एयरलाइन्सको विमानलाई एयर एम्बुलेन्समा परिणत गरी नयाँदिल्ली लगिएको हो ।
छातीमा संक्रमण देखिएपछि त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा चिकित्सकको निगरानीमा रहेका राष्ट्रपति पौडेल सोमबार नियमित फलोअपमा अस्पताल गएका थिए । त्यस क्रममा छातीमा जमेको पानी निकालेर परीक्षण गरिएको थियो । प्रारम्भिक परीक्षणमा संक्रमणबाहेक अन्य अवस्था सामान्य देखिएको चिकित्सकले बताएका थिए । तर मंगलबार उनलाई रिंगटा लागेर बेहोस जस्तै भएपछि पुनः अस्पताल भर्ना गरेर चिकित्सकको निगरानीमा राखिएको थियो ।
उनलाई देखिएको संक्रमणको समस्या लामो समयसम्म एन्टिबायोटिक्स सेवन गर्दा पनि परिणाम थप जटिल बन्दै गएपछि परिवार र चिकित्सकहरुको सल्लाहमा भारत लगिएको हो । प्रेस सल्लाहकार पोखरेलका अनुसार पौडेलसँग उनका निजी चिकित्सक डा. निरज बम, परिवारका सदस्य र ७ जना चिकित्सकको टोली भारत गएको छ ।