एक सय हेक्टरमा चैते धान विस्तार
अनुदान नपाएको किसानको गुनासो

कैलालीको बाढीका कारण वर्षे बाली हुने क्षेत्रमा प्रदेश सरकारले एक सय हेक्टरमा चैते धान खेती विस्तार गरेको छ । कैलालीको भजनी, टीकापुर, घोडाघोडी नगरपालिका तथा जोशीपुर र कैलारी गाउँपालिकामा चैते धानखेती विस्तार गरिएको छ ।
कैलाली जिल्लामा गत वर्ष एक हजार ८० हेक्टरमा चैते धानखेती गरिएको थियो । अहिले ती क्षेत्रमा चैते धान रोपाइँको चटारो छ । किसानले मसुरो र गहुँ बाली स्याहार्ने र चैते धान रोप्ने चटारो सकिएको छ । वर्षामा लगाएको धान बाढीले बगाउने र पुर्ने गरेको हुनाले सो क्षेत्रका बाढीपीडित किसान चैते धानखेतीतर्फ आकर्षित भएका छन् ।
सबैभन्दा बढी चैते धानखेती भजनी नगरपालिकाको वडा नं. ३ र ८ मा हुने गरेको प्रदेश सरकारको कृषि ज्ञान केन्द्र कैलालीले जनाएको छ । “त्यसपछि वरपरको वडा र वरपरको स्थानीय तहमा चैते धानखेती हुन्छ,” कृषि ज्ञान केन्द्र कैलालीका प्रमुख खगेन्द्र शर्माले भने, “चैते धानखेतीको क्षेत्र वर्षेनी विस्तार भइरहेको छ । सिँंचाइ सुविधा हुनसके यसको वृद्धिदर अझै बढी हुन्छ ।”
वर्षे धानबाली प्रतिहेक्टर चार टनको औषतमा फल्छ भने चैते धान प्रतिहेक्टर पाँच टनको औषतमा फल्ने गरेको छ । चैते धान रोप्नका लागि हिउँदे तोरी, मसुरोजस्ता हिउँदे बाली उठाई सकेपछि किसानले खेतमा चैते धान रोप्ने गरेका छन् । यसले गर्दा वर्षमा धान र गहुँ गरी दुई बालीमात्रै हुने गरेकोमा एक बाली थप उत्पादनसमेत हुने गरेको घोडाघोडी–३ का किसान रामचन्द्र चौधरीले बताए ।
कृषि ज्ञान केन्द्र कैलालीको अनुदान सहयोगमा विभिन्न २२ वटा कृषक समूह र कृषि सहकारीमार्फत् मुख्यमन्त्री नमुना कृषि गाउँ, ब्लक प्रदर्शन, धानबाली प्रवद्र्धन र चैते धानखेती कार्यक्रम लागू गरिएको छ । कृषि ज्ञान केन्द्र कैलाली, स्थानीय पालिका, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, रानी–जमरा–कुलरिया सिंचाइ आयोजना कृषितर्फको सहयोग तथा किसानको आफ्नै पहलमा भजनी, टीकापुर, जोशीपुर, जोशीपुर, घोडाघोडी, कैलारीमा चैते धानखेती गर्न विस्तार भइरहेको छ ।
ज्ञान केन्द्र प्रमुख शर्माले धानखेती प्रवद्र्धनका लागि जिल्लामा एक करोड ३० लाख रुपैयाँ रहेको बताए । उनले गत वर्ष एक करोड रुपैयाँ बजेटमा धानखेती प्रवद्र्धन गरिएको बताए । उनले यद्यपि, चैते धानखेती र वर्षे धानखेती प्रवद्र्धनमा कति कति रकम खर्च भएको हो भन्ने एकीन नभएको बताए । उनले यस वर्ष पनि किसानलाई चैते धान र वर्षे धानखेती गर्नका लागि बिउ बिजन, यन्त्र उपकरण, बजारीकरणका लागि अनुदान दिने गरी सो बजेट खर्च हुने बताए ।
उनले चैते धानखेतीमा माग भएबमोजिम अनुदान दिइने र बाँकी रकम वर्षे धानखेती प्रवद्र्धनमा खर्च हुने बताए ।
वर्षौंदेखि भजनी नगरपालिका–७ मा एक बिघा जमिनमा चैते धानखेती गर्दै आएकी विनिता चौधरीले आफूहरूलाई सरकारले अनुदान नदिएको गुनासो गरिन् । उनले सरकारले बाढीले डुबान हुने क्षेत्रलाई चैते धानमा बढी प्रोत्साहन गर्ने गरेको सुनेपछि आफूले अनुदान नपाएको गुनासो गरिन् ।
चैते धानखेती गर्ने धेरै किसानको गुनासो विनिताको जस्तै छ । उनीहरूले आफूहरूले चैते धानखेती गरे पनि सरकारले अनुदान नदिएको बताउँछन् । सबैभन्दा बढी चैते धान लगाइने भजनी नगरपालिकाले पनि चैते खेती प्रवद्र्धनका कुनै पनि योजना नल्याएको उनी बताउँछन् । भजनी नगरपालिका–५ की रुपमा चौधरीले पनि आफूहरूले चैते धानखेतीका लागि सरकारबाट अनुदान नपाएको गुनासो गर्छिन् । उनले किसानले सरकारबाट उन्नत बिउ, रासायनिक मलसमेत उपलब्ध गराउन नसकेको गुनासो गरिन् ।
उनले वर्षेभन्दा चैते धानखेतीमा बढी खर्च हुने गरेको बताउँदै भनिन्, “सिँचाइको सहज सुविधा हुँदैन । बोरिङ मोटरबाट सिँचाइ गर्दा खर्च बढ्छ । समयमै फसल भित्र्याउन नसके वर्षात् लागेर कुहिन्छ ।” ज्ञान केन्द्र प्रमुख शर्माले आयात प्रतिस्थापन गर्ने सरकारको नीतिअनुसार मसिनो धान खेतीमा मात्रै सरकारले लगानी गर्ने गरेको बताए । भारतीय सिमानाबाट मसिनो चामलमात्रै आयात हुने भएकाले सरकारले मोटो धानखेतीमा अनुदान नदिने गरेको उनको भनाइ छ ।