फागुन १ देखि दुईपांग्रेमा इम्बोस्ड नम्बर

आगामी फागुन १ गतेदेखि दुईपांग्रे सवारीमा पनि उच्च प्रविधिको इम्बोस्ड नम्बर प्लेट जडान सुरु गर्ने भएको छ । गएको मंसिर अन्तिमबाट साविकको बागमती अञ्चलमा चारपंग्रे सवारीमा इम्बोस्ड नम्बर प्लेट जोड्न सुरु गरिएको थियो । फागुनदेखि सरकारी, कूटनीतिक र संस्थानका दुईपांग्रे तथा चासपांग्रे सबै सवारीमा यातायात व्यवस्था विभागबाटै इम्बोस्ड नम्बर प्लेट जडान गरिने भएको छ ।
बागमती अञ्चलमा दर्ता भएका चारपांग्रे सवारीबाट सुरु गरिएको इम्बोस्ड नम्बर जडान दुईपांग्रे हुँदै अन्य कार्यालयबाट पनि छिट्टै सुरु हुने विभागले जनाएको छ । इम्बोस्ड नम्बर प्लेट जडान गर्ने जिम्मा पाएको डेकाटुर टाइगरले ५ वर्षभित्र सक्नुपर्ने भएको मोटरसाइकलमा फागुन १ देखि जडान सुरु गरिने निर्णय भएको विभाग स्रोत बतायो । “आगामी फागुन १ देखि दुईपांग्रे सवारीमा इम्बास्ड नम्बर प्लेट जडान गरिने निर्णय मंगलबार भएको हो,” स्रोतले भन्यो, “त्यस्तै अब सरकारी, संस्थान र कूटनीतिक नियोगका दुई/चारपांग्रे सवारीमा विभागबाट नै इम्बोस्ड नंम् र प्लेट जडान हुने छन् ।”
विभागले बागमती अञ्चलमा दर्ता भएका सबै चारपांग्रे सवारीमा ०७५ असार मसान्तभित्र अनिवार्य रूपमा इम्बोस्ड प्लेट जडान गर्नुपर्ने निर्णय यसअघि गरेको थियो । त्यही अनुरूप यातायात व्यवस्था कार्यालय साना÷ठूला सवारी बागमतीमा गत मंसिरदेखि इम्बोस्ड नम्बर जडान भइरहेको छ । हालसम्म करिब १५ सय सवारीमा इम्बोस्ड नम्बर प्लेट जडान भइसकेको कार्यालय प्रमुख डा. टोकराज पाण्डेले जानकारी दिए । “हामी लक्ष्य पूरा गर्ने गरी अघि बढिरहेका छौं । यसमा केही ढिलो होला तर जतिसक्दो छिटो काम होस् भनेर हामी लागि रहेका छौं,” पाण्डेले भने, “४ हजारभन्दा बढीले आवेदन दिएको र यो दैनिक वृद्धि हुँदै गइरहेको छ ।”
सबै सरकारी तथा संस्थानका चारपांग्रे सवारीले आगामी चैत मसान्तभित्र प्लेट डान गरिसक्नुपर्ने गरी सूचना विभागले प्रकाशित गरेको थियो । त्यसैगरी बागमती अञ्चलको लट नम्बर १ देखि १२ सम्मका चारपांग्रे निजी सवारीका लागि पनि चैतभित्र इम्बोस्ड प्लेट जडान अनिवार्य रूपमा गराइसक्ने भने पनि विभागको योजना अनुरूप जडान अघि बढ्न भने सकेको छैन । बागमती अञ्चलमा दर्ता भएका १३ लटदेखि माथिका चारपांग्रे सवारीले आगामी असार मसान्तसम्म इम्बोस्ड जडानका लागि समयसीमा तोकिएको छ ।इम्बोस्ड नम्बर प्लेट जडानका लागि सवारी धनीले अनलाइनबाटै आवेदन दिन सक्ने छन् भने आवेदन दिनुअघि सवारीका बाँकी करहरू सबै तिर्नुपर्नेछ र तोकिएको शुल्क बुझाएर रसिद लिनुपर्नेछ । टेम्पोलगायतका तीनपांग्रे साना सवारीमा यो प्लेट जोड्न २ हजार ९ रुपैयाँ राजस्व लाग्छ । यसैगरी कार, जीप, भ्यान तथा ट्र्याक्टरलगायत चारपांग्रेले ३ हजार २ सय र दुईपांग्रे सवारीका लागि २ हजार ५ सय रुपैयाँ शुल्क तोकिएको छ । शुल्क बुझाकएको रसिद नम्बरसहित आफ्नो गाडीका सबै विवरण अनलाइनमा भरेर इम्बोस्डका लागि आवेदन गर्न सकिन्छ ।इम्बोस्ड नम्बर प्लेट जडान भएपछि सवारीसाधन चोरी हुनेजस्ता समस्या नआउने विभागले जनाएको छ । उक्त नम्बर प्लेटमा रहेका चिप्समा सवारी तथा सवारी धनीको विवरण रहने छ र चिप्स रिडरले स्पटमै सवारीको विवरण हेर्न सक्नेछ । इम्बोस्ड नंबर प्लेटमा प्रदेशको संकेत नम्बर (जस्तै स्टेट–३) मात्रै राखि जडान भइरहेको छ । प्रदेशको नामाकरण भएपछि त्यसमा विभागले प्रदेशको नाम अंकित स्टिकट टाँसिदिने जनाएको छ ।