सिकौं हङकङबाट

केही समयअघि हङकङ सरकारले आफ्नो भूमिमा सन् २०२३ का लागि विदेशी पर्यटकको आगमन दर बढाउने एक उत्तम उपायका रूपमा ‘हेल्लो हङकङ’ नारा तय गरेको छ । सो नारासहित सन् २०२३ मा हङकङ प्रवेश गर्ने ५ लाख विदेशी पर्यटकलाई निःशुल्क हवाई टिकट उपलब्ध गराउनेछ । यसरी हङकङ सरकारले आफ्नो भूमिमा सन् २०२३ मा भ्रमण गर्न आउने विदेशी पर्यटकको संख्या बढाउने नयाँ फर्मुला प्रयोगमा ल्याएको छ ।
हङकङ सरकारले आफ्नो भूमिमा विदेशी पर्यटकको आगमन बढाउने एक उपायको रूपमा जुन ‘हेल्लो हङकङ’ भन्ने मूल नारासहित ‘फ्री’ मा ५ लाख हवाई टिकट उपलब्ध गराउनेछ । सो कुरा हङकङ पर्यटन बोर्डले फेब्रुअरी २ मा आधिकारिक रूपमा जारी गरेको प्रेस विज्ञप्तिमा पनि जनाइएको छ । जे होस्, हङकङ सरकारले सन् २०२३ मा आफ्नो भूमिमा विदेशी पर्यटकको आगमन दर बढाउने उपायका रूपमा ‘हेल्लो हङकङ’ भन्ने नारासहित फ्रीमा हवाई टिकट उपलब्ध गराउनेछ भने हङकङ भ्रमण गर्न चाहने विदेशी पर्यटकले प्राप्त गरेको ‘फ्री’ टिकटका साथमा आफ्नो परिवारका केही न केही सदस्य पनि ल्याउने आशा गरिएको छ । कसरी प्राप्त गर्नेछन् त फ्री टिकट ?
हङकङ सरकारले सन् २०२३ मा आफ्नो भूमिमा पर्यटकका रूपमा भ्रमण गर्न आउने ५ लाख विदेशी पर्यटकलाई ‘फ्री’ मा उपलब्ध गराउने हवाई टिकट चिट्ठा र भौचरमार्फत उपलब्ध गराइनेछ । कुनै पनि देशका पर्यटकले चिठ्टा र भौचरमार्पmत हङकङ आउनका लागि हवाई टिकट प्राप्त गरेमा त्यसरी हङकङ भ्रमणको टिकट प्राप्त गर्ने पर्यटकले कम्तीमा एक वा दुई जना आफ्नो परिवारका साथ हङकङ भ्रमण गर्ने आशा लिइएको छ ।
यसरी ‘फ्री’मा हङकङ भ्रमण गर्न हवाई टिकट जित्ने कुनै पनि देशका पर्यटकले आफू हङकङ भ्रमण गर्न आउँदा आफ्नो साथमा दुई वा तीन जनासम्म परिवारका सदस्यलाई पनि हङकङ भ्रमण गराउने आशा हङकङ सरकारले गरेको देखिन्छ, जसले गर्दा सन् २०२३ मा हङकङ भ्रमण गर्न आउने विदेशी पर्यटकको संख्या कम्तीमा पनि १६–१७ लाख नाघ्ने अनुमान गरिएको छ । हङकङ सरकारले सन् २०२३ मा हङकङ भ्रमण गर्न चाहने विदेशी पर्यटकलाई निःशुल्क वितरण गरेको ५ लाख हवाई टिकट ‘फ्री’ गरेर मात्रै नपुगेर स्थानीय स्तरका २ सय ५० भन्दा बढी विभिन्न इभेन्ट र कार्यक्रमहरू पनि आयोजना गर्दै छ । त्यस्ता केही कार्यक्रममा हङकङ म्याराथन, हङकङ म्युजियम समिट–२०२३, वाइन एन्ड डाइन, वेस्टर्न कल्चर, हङकङ भाइब्रान्ट इस्ट मिट, म्युजिक फेस्टिभल आदि देखाउने कार्यक्रम रहेको छ । स्मरण रहोस्, सन् २०२३ मा नै हङकङले १ सयवटा माइस (मिटिङ, इन्सेन्टिभ, कन्फ्रेन्स, एक्जिविसन) पनि आयोजना गर्दै छ ।
यसरी हेर्दा हङकङ सरकारले सन् २०२३ मा विदेशी पर्यटकको संख्या बढाउनका लागि हेल्लो हङकङ भन्ने स्लोगनसहित ल्याएको पाँच लाख फ्री टिकट योजना जुन छ, सो योजना हङकङले मार्च १ तारिखबाट लागू गरेको छ । प्रेस विज्ञप्तिमा जनाइएअनुसार यो योजना ६ महिनाका लागि मात्रै मान्य हुनेछ ।
यसरी हङकङ सरकारले विश्वका सबै देश र क्षेत्रबाट विदेशी पर्यटकलाई हङकङ भ्रमण गराउने योजनासहित जारी गरेको फ्री हवाई टिकटको ५ लाख चिट्ठा र भौचर योजनासहित विदेशी पर्यटकलाई हङकङ भ्रमण गर्न आउन प्रेरित गर्ने कार्यक्रमलाई सफल पार्न मात्रै हङकङ सरकारले २ बिलियन (२० अर्ब) हङकङ डलर (२ सय २५ मिलियन अमेरिकी डलर) खर्च गर्दै छ । हुन पनि हाल खर्च गरेको यो रकमले हङकङ सरकारले भविष्यमा खर्बौं कमाउने निश्चित छ । त्यसैले अहिले यसो हेर्दा हङकङ सरकारले व्यर्थैमा अर्बौं लगानी गरेको जस्तो लागे पनि यसको दीर्घकालीन असर र फाइदा व्यापक रहेको देखिन्छ ।
नेपालले पनि सिकौं
हुन त नेपालमा औपचारिक रूपमा पर्यटन व्यवासाय सुरु भएको लगभग ७३–७४ वर्ष मात्रै हुँदै छ । तथापि समयक्रमको हिसाबले हेर्दा ७३–७४ वर्ष भनेको निश्चय नै कम समय भने होइन । विश्वमा औपचारिक रूपमा पर्यटन व्यवसाय गर्ने पहिलो व्यक्ति भने बेलायती नागरिक थोमस कुक हुन् । उनले सन् १८४० को दशकमा व्यावसायिक ढंगले पर्यटन व्यवसाय गर्न सुरु गरेका थिए । हङकङ सरकारले आफ्नो भूमिमा विदेशी पर्यटक बढाउने उपायका रूपमा हेल्लो हङकङ भन्ने नारासहित ५ लाख विदेशी पर्यटकलाई निःशुल्क हवाई टिकट उपलब्ध गराएजस्तै हामी पनि केही गर्न सक्छौं कि ?
यस सम्बन्धमा नेपाल सरकार, नेपाली पर्यटन व्यवसायी र नेपालको पर्यटन उद्योगसँग सम्बन्धित सबै महानुभावले सघन रूपमा छलफल र बहस गर्न सुरु गर्नुपर्ने देखिन्छ । यही वर्ष केही गर्न नसके पनि हामीले चाहे सन् २०२४–०२५ मा केही न केही गर्न सक्छौं ।
जसरी हङकङले ‘हेल्लो हङकङ’ भन्ने स्लोगन ल्यायो, त्यसको सट्टा हामीले ‘हेल्लो नमस्ते नेपाल’ वा अरू कुनै उपयुक्त नारा तय गरेर विश्वका पर्यटकहरू, जो पर्यटक भई नेपाल घुम्न आउन चाहन्छन्, उनीहरूलाई हवाई टिकटमा कम्तीमा ४०–५० प्रतिशत छुट र खाना तथा बास (लजिङ–फुडिङ) मा समेत बढीमा ६०–७० प्रतिशतसम्म छुट दिने नीति लिँदा कसो होला ? हामीले यो नीति ल्याउन सक्दैनौं होला त ? तर त्यसका लागि हामीले त्यस्ता पर्यटकको संख्यामा कोटाचाहिँ तोक्नैपर्छ । साथै, त्यस्तो अफरमा नेपाल आउन चाहने विदेशी पर्यटकका लागि केही न केही मापदण्ड बनाउनैपर्ने हुन्छ ।