Logo

एक दशकपछि कर्णालीमा पहिलो पटक समयमै पाठ्यपुस्तक

वार्षिक परीक्षा सुरु हुँदासम्म विद्यार्थीले किताव नपाएको भन्दै आलोचना भइरहेको बेला एक दर्शकपछि कर्णालीका विद्यार्थीले शैक्षिसत्र सुरु नहुँदै पाठ्यपुस्तक पाएका छन् । सरकारले पटक पटक ताकेता गरेपछि कर्णालीमा शैक्षिकसत्र सुरु हुनु अगावै पाठ्यपुस्तक पुगेको हो ।

संघीय संसदमा समेत कर्णालीमा समयमै पाठ्यपुस्तक नपुगेको भन्दै पटक पटक आलोचना हुँदै आएको थियो । जनक शिक्षा सामग्री केन्द्रको प्रादेशिक कार्यालय वीरेन्द्रनगरको मुगु, जुम्ला, कालिकोट, दैलेख, सुर्खेत र जाजरकोटलाई समयमै पाठ्यपुस्तक पुर्‍याउने जिम्मेवारी रहेको छ । प्रादेशिक कार्यालय सुर्खेतमा अनुसार कालिकोटमा एक हजार सेट किताब यसअघि नै पुगिसकेको छ भने सोमबार एक हजार ५ सय सेट पुगेको छ । कालिकोटलाई ३ हजार ७ सय सेट किताब आवश्यक पर्दछ । यस्तै जाजरकोटमा ३ हजार सेट किताब पुगिसकेको छ भने बाँकी पठाउने काम भइरहेको छ ।

डोल्पामा एक हजार पाँच सय सेट किताब पुगेको छ भने हुम्लामा पनि सोही मात्रामा किताब पुगेको छ । जनक शिक्षाको नेपालगञ्ज कार्यालयले हिमाली र पहाडी जिल्लालाई पहिलो प्राथमिकतामा राखेर किताब वितरण गरेको बताएको छ । कर्णालीका हुम्ला, डोल्पा, सल्यान र रुकुम पश्चिमलाई हेर्दै आएको छ । जनक शिक्षाको नेपालगन्ज कार्यालयबाट हुम्ला र डोल्पामा सबैभन्दा पहिला पाठ्यपुस्तक पुर्‍याइएको छ । सल्यानमा ५ हजार ७ सय सेट किताब पुगेको छ भने रुकुम पूर्व र रुकुम पश्चिम गरी ५ हजार ६ सय सेट पुस्तक पुगेको छ ।

जनक शिक्षाको प्रादेशिक कार्यालय सुर्खेत कार्यालयका प्रमुख भैरवबाबु पन्तले केही जिल्लामा ६० प्रतिशत त कोहीमा ५० प्रतिशत पाठ्यपुस्तक सम्बन्धित जिल्ला तथा पालिकाहरुमा पुगिसकेको दाबी गरे । यस्तै दैलेखमा पनि चाँडै नै पाठ्यपुस्तक पुर्‍याउने तयारी छ । विकट जिल्लालाई पहिलो प्राथमिकतामा राखिएको उनले बताए । मुगुको छायानाथ रारा नगरपालिका र मुगुम कार्मारोङ गाउँपालिका बाहेकका ठाउँमा लागि पाठ्यपुस्तक ढुवानी भइसकेको उनले बताए । चैत २६ र २७ गते पु¥याउने लक्ष्य भएपनि व्यवसायी र पालिका बीचमा सम्पर्क नहुँदा थोरै ढिला भएको उनले बताए । दैलेख, सुर्खेतमा पनि किताब उपलब्ध गराएको छ ।

विद्यालयको माग अनुसार किताबको सेट उपलब्ध गराइएको बताएको छ । साथै जुम्लाका अधिकांश पालिकाका लागि किताब गइसकेको उनको भनाइ छ । उनले गोदाममा पर्याप्त पाठ्यपुस्तक रहेकाले कुनै अभाव नहुने बताए । उनका अनुसार प्रादेशिक कार्यालय सुर्खेतमा अझै १५–१६ हजार सेट किताब गोदाममा स्टक छ । सुर्खेत कार्यालयबाट जिल्ला तथा पालिकामा ५६ वटा पुस्तक व्यवसायीले किताब पुर्‍याउने गरेका छन् । जनक शिक्षा सामग्री नेपालगन्ज प्रमुख होमराज भुजेलका अनुसार केही ऐच्छिक विषय छुटफुट बाहेक माग अनुसारको किताब कर्णालीमा पुगिसकेको छ ।

उनले सबैभन्दा पहिला हुम्ला र डोल्पामा किताब पु¥याउने काम भएको बताए । चैत २४ गतेदेखि गोदाम खुलेको भए पनि हुम्ला र डोल्पाका लागि २० चैतबाटै किताब पुर्‍याउने प्रक्रिया थालिएको भुजेलले बताए । बोरामै हालेर तयारी गर्नुपर्ने भएकाले २० चैतमै खबर गरेर बोरामा किताव प्याकिङ गरिएको थियो । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ कर्णाली प्रदेशका अध्यक्ष कमल नेपाल झण्डै एक दशकपछि पहिलो पटक कर्णालीमा समयमै पाठ्यपुस्तक पुगेको बताउँछन् । उनले पटक–पटकको दबाब र संघर्षका कारण पहिलो पटक कर्णालीमा समयमै पाठ्यपुस्तक पुगेको बताए ।

यसअघि कर्णालीमा विद्यार्थीले कहिल्यै पूरा सेट किताब समयमा पाएनन् । वि.सं. २०७९ मा पनि कर्णालीका ४० प्रतिशत विद्यार्थीले पूरै सेट किताब नपाउँदै वार्षिक परीक्षा दिएका थिए । पाठ्यपुस्तक छपाइदेखि बिक्री वितरणसम्मको जिम्मेवारी पाएको जनक शिक्षाले हिमाली जिल्लालाई प्राथमिकता दिएर पाठ्यपुस्तक ढुवानीको प्रबन्ध मिलाएको दाबी गरे पनि यसअघि सबै विद्यार्थीको हातमा पूरा सेट किताब कहिल्यै पुगेन ।

प्रतिक्रिया दिनुहोस्