औद्योगिक क्षेत्रका उद्योग प्रभावित

विद्युत प्राधिकरणले बिना सूचना दैनिक लामो समय विद्युत आपूर्ति बन्द गर्दा औद्योगिक क्षेत्रका उद्योग प्रभावित भएको भन्दै उद्योग संगठन मोरङले विरोध जनाएको छ ।
गत पुसदेखि उद्योग क्षेत्रले अनिमित विद्युत आपूर्ति, ट्रिपिलिङ, लोभोल्टेज जस्ता समस्या भोग्दै आएकोमा पछिल्लो समय समस्या झन् बढेकोले समाधान गर्न संगठनले माग गरेको हो । संगठनले विज्ञप्ति जारी गर्दै विद्युत आपूर्तिमा आइरहने समस्याका कारण उत्पादन प्रक्रिया ठप्प हुने, कच्चापदार्थ खेर जाने, मेशिनेरी सामान बिग्रनुका साथै श्रमिक व्यवस्थापनमा समेत कठिनाइ भइ अनावश्यक रुपमा संचालन खर्च तथा उत्पादन लागतमा वृद्धि हुदै गएको बताएको छ ।
उत्पादित वस्तुको गुणस्तरमा र प्रतिस्पर्धात्मक क्षमता नै ह्रास आइरहेको उस्को भनाइ छ । विद्युत समस्याका कारण उद्योग व्यवसाय निर्वाध संचालन हुन नसके उद्योगीहरु उद्योग बन्द गरेर सडकमा आउन सक्ने चेतावनी पनि संगठनले दिएको छ । विज्ञप्तिमा उद्योग संगठनले उद्योग व्यवसाय बन्द हुँदा आउने विकराल अवस्थाप्रति सचेत रहन आग्रह गरेको छ ।
लामो समयदेखि बजारको मन्दी, चर्को ब्याजदर लगायतका समस्या झेल्दै आएको उद्योग व्यवसायले पछिल्लो समय विद्युत समस्या भोग्नु परेकोमा चिन्ता जनाएको छ । उसले विद्युत आपूर्ति नियमित गरी सहज अवस्था बनाउन प्राधिकरणलाई अनुरोधसमेत गरेको छ ।