कुश्मा बजार पर्यटकले भरिभराउ

शाहसीक पर्यटकीय पूर्वाधार सँगै कुश्मा बजार पर्यटकले भरिभराउ रहेको छ । पछिल्लो केही समय यता आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढेको कारण अन्तरिक पर्यटक बढेका हुन् । विभिन्न संघ संस्थाका अवलोकन भ्रमणको गन्तव्यको रुपमा पर्वत सदरमुकाम कुश्मा बन्न थालेको छ ।
कुश्मा बजारमा बनेको विश्वकै दोस्रो अग्लो बञ्जीजम्प, विश्वकै दोस्रो लामो सुपरम्यान शैलीको जीपलार्ईन, नेपालकै अग्ला र लामा झोलुगेँ पुलले आन्तरिक पर्यटकहरुलाई आकर्षित गरेको हो । नयाँ वर्षको सुरुवात सँगै आन्तरिक पर्यटक भित्रिने क्रम बढेको हो । गर्मीयाम शुरु भएसँगै कालीगण्डकीमा जलयात्राको याम समेत शुरु भएको छ ।
नयाँ वर्षमा पर्यटकको संख्या बढेसँगै कुश्मा बजारका होटलहरु भरिभराउ रहेका छन् । एक साता अघिदेखिनै होटल बुकिङ हुने क्रम सुरु भैसकेको होटल संचालकहरुको भनाइ छ । पर्यटकीय पूर्वाधार बढेसँगै कुश्मा बजारमा सुविधासम्पन्न होटल समेत थपिन थालेका छन् । चैते दशै तथा गार्मीयामको समयमा हिमालपारीको जिल्ला मुस्ताङको कागवेनीमा श्राद्ध गर्न जाने तथा उपल्लो मुस्ताङ र कोरल्ला नाकामा घुम्न जाने आन्तरिक तथा बाह्य पर्यटकका कारण पनि पर्वत सदरमुकाममा चहलहपल बढ्न थालेको हो ।
मुस्ताङ जाने दर्शनार्थी र अन्य पर्यटकले जाने बेलामा र फर्किने बेलामा बास बस्नका लागि होटल बुकिङ गर्ने गरेको होटल बन्दनाका संचालक कृष्णप्रसाद श्रेष्ठले बताए । उनका अनुसार नेपालका चितवन, विराटनगर, हेटौडा, दोलखा, नेपालगन्ज, बर्दिया, दाङ, बुटबल, कपिलवस्तु लगायतका क्षेत्रबाट शैक्षिक संघ संस्था, सहकारी संस्था, विभिन्न सामुदायिक संघ संस्थाको शैक्षिक तथा अवलोकन भ्रमणका लागि यस क्षेत्रमा आउने क्रम बढ्दो रहेको छ ।
कतिपयले पर्वतलाई गन्तव्य बनाउने गरेका छन् भने कतिपय बागलुङ म्याग्दीतर्फ समेत जाने गरेको होटल व्यावसायीको भनाई छ । पहिलो केही दिन यता सदरमुकामका सुविधा सम्पन्न मानिने बन्दना, बेन्जु, माउन्टेन भ्यू, फ्रेण्डली, धौलागिरि, मुस्ताङ, ओरियन्ट, ड्रागन लगायतका होटल खचाखत रहेको होटल संचालकहरुको भनाई छ । वञ्जिजम्प र जीपलाईनमा समेत एक साता अघिदेखिनै टिकट बुक हुने गरेको संचालकहरुले भनाइ छ ।
अन्य दिन भन्दा शुक्रबार, शनिबार तथा सार्वजनिक विदाको दिनमा पर्यटकको चाप बढि हुने गरेको छ । यो वर्षदेखि बाह्य पर्यटकहरु समेत उल्लेख्य मात्रामा आउन थालेको द क्लिफका संचालक राजु कार्कीले बताए । आन्तरिक पर्यटकको चाप अत्याधिक भएसँगै सवारी पार्किङको समस्या देखिएको छ । सवारी साधनहरु बजारका भित्रि सडक र पर्यटकीय पूर्वाधार नजिकै पार्किङ गर्दा दुर्घटनाको जोखिम बढेको गुनासो भने सवारी चालकहरुको रहेको छ ।