Logo

राहुघाट जलविद्युतको भौतिक प्रगति ५५ प्रतिशत

रघुगंगा गाउँपालिकामा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत आयोजनाको भौतिक प्रगति ५५ प्रतिशत भएको छ । राहुघाट नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी रघुगंगा हाइड्रोपावरले निर्माण गरिरहेको छ । आयोजनाले भर्टिकल ‘प्रेसर साफ्ट’ को ‘ब्रेक थु्र’ गरेको छ ।

रघुगंगा गाउँपालिका–३ पिप्लेदेखि तिल्केनीचौरमा निर्माणाधीन विद्युतगृहमा सुरुङबाट आउने पानीलाई विद्युतगृहमा खसाल्ने ठाडो १९६ मिटर सुरुङ सोमबार जोडिएको आयोजनाका व्यवस्थापक राजबहादुर विष्टले बताए । “विद्युतगृह निर्माणस्थलबाट भर्टिकल प्रेसर साफ्टसँग जोड्ने ३२९ मिटर वटम प्रेसर साफ्टको सुरुङ यसअघि नै जोडिएको थियो,” उनले भने, “सबैभन्दा कठिन मानिएको भर्टिकल प्रेसर साफ्टको पनि आज ब्रेक थु्र भएको छ ।”

सिभिल ठेकेदार जयप्रकाश एसोसियट्सले सहायक ठेकेदार बाबरी र बाराही मण्डली कन्ट्रक्सनलाई भर्टिकल प्रेसर साफ्ट निर्माणको जिम्मा दिएको थियो । बाराही मण्डलीका सञ्चालक नन्दबहादुर छन्त्यालले सुरु गरेको चार महिनामा भर्टिकल प्रेसर साफ्ट निर्माण सकेको बताए । अडिट नम्बर ३ देखि भर्टिकल प्रेसर साफ्टसम्मको ५४१ मिटरमध्ये ३७० मिटर सुरुङ निर्माण सकिएको छ । पिप्लेमा ६१ मिटर गहिरो सर्च साफ्ट निर्माण सकिएको छ । ६ हजार २७० मिटर लामो सुरुङमध्ये हालसम्म तीन हजार ३२८ मिटर निर्माण सकिएको रघुगंगा हाइड्रोपावरका प्रबन्ध सञ्चालक गणेश केसीले बताए ।

भारतीय एक्जिम बैंकको ६७ मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण तथा प्राधिकरण र नेपाल सरकारको संयुक्त लगानीमा निर्माण भइरहेको आयोजनाको सिभिल ठेकेदार जयप्रकाश एसोसियट्स (जेपी)सँग २०७४ मंसिरमा ठेक्का सम्झौता भएको थियो । ठेक्काको ४५ महिनाको अवधिमा कोरोना महामारी, बाढी पहिरोका कारण काम सम्पन्न हुन नसकेपछि ३० महिना म्याद थपिएको छ । २०७६ कात्तिकमा ठेक्का सम्झौता गरेको इलेक्ट्रिकल ठेकेदार भारत हेभी इलेक्ट्रिकल्स लिमिटेड (भेल)ले भारतमा निर्माण गरेका उपकरण परीक्षण गरी आयातको प्रक्रियाअघि बढाइएको छ ।

रघुगंगा गाउँपालिकाको वडा नम्बर ४ दग्नाम र ५ नम्बर वडा झिँको सिमानामा १७ मिटर अग्लो र ३१ मिटर लामो अर्धजलाशययुक्त (पीआरओआर) प्रविधिको बाँध निर्माणको काम ६० प्रतिशत सकिएको छ । तिल्केनीचौरमा विद्युतगृहको संरचना निर्माण तीव्र गतिमा भइरहेको छ । घुमाउनेतालदेखि ११ किलोमिटर पहुँचमार्ग र एक वटा ट्रस प्रविधिको मोटर चल्ने पुल निर्माण गरी विद्युतगृह र बाँधलाई सिधा सडकले जोडिएको छ ।

प्रतिक्रिया दिनुहोस्