सूर्य नेपाल एनपीजीए टुर च्याम्पियनसिप सुरू «

सूर्य नेपाल एनपीजीए टुर च्याम्पियनसिप सुरू

सूर्य नेपाल गल्फ टुर २०२२/०२३ अन्तर्गत सातौं प्रतियोगिता, सूर्य नेपाल एनपीजीए टुर च्याम्पियनसिपको पहिलो दिन सञ्जय लामा ६–अण्डर ६६ को उम्दा प्रदर्शनसहित शीर्षस्थानमा रहेका छन् । गोकर्ण गल्फ क्लबमा पहिलो दिन रवि खड्का र राजेन्द्र श्रेष्ठ प्रधानलाई ३ स्ट्रोकले पछि पार्दै सञ्जय शीर्षस्थानमा रहेका हुन् ।

रबि र राजेन्द्रले पहिलो १८ होलको खेल ३–अण्डर ६९ मा पूरा गर्दै संयुक्तरुपमा दोस्रो स्थान बाँडे । प्रोफेसनल गल्फर भू बहादुर गुरुङ तथा नेपाल नम्बर एक एमेच्योर खेलाडी सुवास तामाङ र छैटौं प्रतियोगिताको विजेता एमरच्योर सदभाव आचार्य २–अण्डर ७० सहित संयुक्तरुपमा चौथो स्थानमा रहेका छन् ।

सूर्य नेपाल प्रालिको प्रायोजन तथा प्रोफेसनल गल्फर्स एसोसिएसन नेपालद्वारा आयोजित प्रतियोगितामा प्रो तोरण विक्रम शाही तथा एमरच्योर गल्फरहरू युवराज भुजेल, टासी छिरिङ र विजय श्रेष्ठ आइनहाउसले १–अण्डर ७१ सहित संयुक्तरुपमा सातौं स्थान बाँडे । इभन–पार ७२ को नतिजामा प्रो भुवन कुमार रोक्का र एमरच्योर सुरेश तामाङ संयुक्तरुपमा ११औं स्थानमा रहेका छन् । उत्कृष्ट सुरुवात गरेका सञ्जयले फ्रन्ट नाइन बोगी रहित ४–अण्डर ३२ खेल्ने क्रममा तेस्रो, चौंथौ, छैटौं र नवौं होलमा बर्डीको सफलता प्राप्त गरे ।

सिनियर गल्फर राजेन्द्र श्रेष्ठ प्रधानले फ्रन्ट नाइन ४–अण्डर ३२ मा पूरा गरे । बर्डीबाट दिनको सुरूवात गरेका उनले दोस्रो होलमा बोगी खेपे । तर ५–पारको तेस्रो होलमा इगलको सफलता प्राप्त गरे। यसपछि चौथौं, पाँचौ र छैटौं होलमा लगातार तीन बर्डीको सफलता प्राप्त गरे । त्यसपछि रबिले पहिलो दिन फ्रन्ट नाइनमा सबैभन्दा उत्कृष्ट स्कोर निकाले । उनले पहिलोदेखि पाँचौ होलसम्म निरन्तर ५ बर्डी प्रहार गर्दै फ्रन्ट नाइनमा ५–अण्डर ३१ को लोभलाग्दो प्रदर्शन गरे ।

एमरच्योरतर्फ सुवास र सदभाव २–अण्डर ७० सहित शीर्षस्थानमा रहेका छन् । टासी, विजय र युवराज एक स्ट्रोक पछि रहेका छन् । ७२ होलको प्रतियोगितामा ३१ प्रोफेसनल र ८ एमेच्योर खेलाडीले प्रतिस्पर्धा गरिरहेका छन् । ३६ होलको समाप्तीमा कट लागु हुनेछ र उत्कृष्ट २१ प्रोफेसनल र टाइमा पर्ने खेलाडी तथा कम्तीमा ६ एमेच्योर खेलाडीले अन्तिम दुई दिनको लागि स्थान बनाउने छन् ।

८ लाख नगद पुरस्कार राशीको प्रतियोगिताको विजेताले उपाधिसँगै १ लाख ४० हजार प्राप्त गर्नेछ । दोस्रो हुनेले ९० हजार र तेस्रो हुनेले ६७ हजार प्राप्त गर्नेछन् । उत्कृष्ट २१ भित्र पर्ने अन्य प्रोफेसनल खेलाडीले पनि नगद पुरस्कार प्राप्त गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्