Logo

बढी विद्युत खपत गर्ने उद्योगले नै तिरेन महसुल

धेरै विद्युत खपत गर्ने ठूला उद्योगले नै नेपाल विद्युत प्राधिकरणलाई महसुल तिर्न सकेका छैनन् । नेपाल विद्युत प्राधिकरणकै ठूला ग्राहकले नै महसुल तिर्न नसक्दा प्राधिकरण समस्यामा परेको छ ।

विद्युत महसुल तिर्न ताकेता गरे पनि बुझाउन आनाकानी गरेपछि त्यस्ता उद्योगको विद्युतिय लाइन धामाधम काटिन थालेको छ । विद्युत महसुल बुझाउन नसकेपछि विद्युत प्राधिकरणले सोना सिमेन्टको विद्युत लाइन काटेको एक साता नहुदै प्राधिकरणले रोल्पा सिमेन्टको पनि विद्युतिय लाइन काटेको हो । उक्त उद्योगको ८ करोड ४४ लाख विद्युत बक्यौता रहेको छ ।

प्राधिकरणको नेपालगञ्ज शाखाका प्रमुख हरि पाण्डेले पटक पटक ताकेता गर्दा पनि विद्युत महसुल बुझाउन नआएपछि उद्योगको विद्युत काटिएको बताएका छन् । “धेरै विद्युत खपत गर्ने उद्योगहरुले नै शुल्क बुझाउन सकेका छैनन्, करौडौ रुपैया बक्यौता रहेको छ,” उनले भने, “ प्राधिकरण नेपालगञ्ज शाखा अन्तर्गत मात्र लगभग २ अर्ब जति बक्यौता संकलन हुन बाँकी छ ।” बाँके कार्यालयलाइ प्राधिकरणको उच्च तहबाटै बक्यौता असुलीमा दबाब आएपछि लाइन काट्न सुरु गरेको हो ।

प्राधिकरणको नेपालगञ्ज शाखास्थित दाङको बिजौरीस्थित सोना सिमेन्टको उत्पादक सोनापुर सिमेन्ट प्रालिको लाइन काटिदिएको थियो । प्राधिकरणका अनुसार हालसम्म सोना सिमेन्टले प्राधिकरणलाई ७५ करोड रुपैयाँ बोक्यौता तिर्न बाँकी रहेको छ । प्राधिकरणका अनुसार पटक पटक बक्यौता असुलीका लागि सूचना दिए पनि उक्त कम्पनीले वेवास्ता गरेपछि लाइन काटिएको हो ।

प्राधिकरणका अनुसार सोना सिमेन्टले डेडिकेटेड लाइन मार्फत बिजुली बालेबापतको ३२ करोड ९४ लाख रुपैयाँ बिल तिरेको छैन । त्यसपछिको ४१ करोड ६६ लाख गरी कूल ७४ करोड ५९ लाख रुपैयाँ बक्यौता रहेको प्राधिकरणको भनाई छ । पटक–पटक बिल तिर्न नमानेपछि लाइन काटिएको प्राधिकरणले जनाएको छ ।

सोना सिमेन्टको मात्रै नभइ साना–ठूला उद्योग तथा व्यक्तिगत गरी १० हजार ग्राहकको लाइन काटिएको प्रमुख पाण्डेले बताए । लाइन काटिएपछि बक्यौताको १६ करोड रुपैयाँ उठेको जानकारी उनले दिएका छन् । धेरै राखेर नतिर्ने कम्पनी, व्यवसायिक फर्म र व्यक्तिको लाइन काट्दै नेपाल विद्युत् प्राधिकरण बाँकेले कारबाही गरेको छ । कार्बाही गरे पछि १६ करोड रुपैयाँ असुली भएको छ ।

सोनापुर मिनरल्स एण्ड आयल लिमिटेड नामको उद्योगले सोनाश्री (पिपिसी) र सोना (ओपिसी) ब्राण्डमा सिमेन्ट उत्पादन गर्दै आएको छ । प्राधिकरणका लुम्बिनी प्रदेश प्रमुख हरि पाण्डेले पटकपटक ताकेता गर्दासमेत कम्पनीले महसुल भुक्तानी नगरेपछि विद्युत् काटिएको बताए । केन्द्रका अनुसार सिमेन्ट उद्योगले मासिक २ करोड रुपैयाँ बराबरको महसुल भुक्तानी गर्ने गरेको थियो । अहिले पनि केन्द्रले समयमै महसुल भुक्तानी गर्न ताकेता गरिरहेको छ ।

प्राधिकरणका अनुसार कम्पनीले कुल ७४ करोड ५९ लाख रुपैयाँ महसुल तिर्न बाँकी छ । त्यसमा डेडिकेटड ट्रंक लाइनबापतको ३२ करोड ९४ लाख रुपैयाँ र नियमित महसुलको ४१ करोड ६६ लाख रुपैयाँ बक्यौता बाँकी छ । उद्योगको डेडिकेटेड लाइनसम्बन्धी महसुल पहिलादेखि विवादमा रहेको छ । यो विवाद अदालतसम्म समेत पुगेको थियो ।

लोडसेडिङका वेला उद्योगलाई डेडिकेटेड रूपमा २४ घन्टा नै बिजुली दिइने गरेको थियो । त्यसबेला दिइने विद्युतको मूल्यसमेत बढी थियो । ३१ वैशाख ०७५ देखि भने लोडसेडिङ हटेपछि उद्योगहरूले २४ घण्टा सहज रूपमा विद्युत् पाएका छन् । तर, प्राधिरकणले डेडिकेटेड लाइनकै सरह बिल पठाएको भन्दै उद्योगीले त्यस्को बिरोध गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्