पर्यटकले होमस्टे भरिएपछि बास पाउन सकस

नयाँ वर्षको दिन लमजुङका पर्यटिकिय गाउँहरुमा बास पाउन नै सकस भएको छ । आन्तरिक पर्यटकको आगमनले जिल्लाका प्रमुख होमस्टे भरिभराउ भएपछि ढिला गरी आउने पर्यटकलाई बास पाउन सकस भएको हो । व्यवसायिक होमस्टे सञ्चालन भएका लमजुङका पर्यटकिय गाउँहरु आन्तिरिक पर्यटकले भरिभराउ भएका हुन् ।
उत्कृष्ट पर्यटकिय घलेगाउँ, गाउँशहरको काउलेपानी, राइनासकोट लगायतका गाउँमा नयाँ वर्ष मनाउनेहरुको ओइरो लागेको हो । २०७९ साललाई विदाई गर्दै नयाँ वर्ष २०८० को स्वागतमा नयाँ वर्ष रमाइलोसँग मनाउने तथा रम्ने रमाउने उद्देश्य साथ पर्यटकीय गाउँ तथा पर्यटकिय क्षेत्र पुरानकोट गढि, मस्र्याङदीको पिस हिलमा आन्तरिक पर्यटकको ओइरो लागेको स्थानीय पर्यटन व्यवसायीले बताएका छन् ।
स्मार्ट भिलेज घलेगाउमा नयाँ वर्षको रौनक छाएको ग्रामिण पर्यटन घलेगाउँका व्यवस्थापक दिर्घ घलले बताए । नयाँ वर्षसंगै जिल्लाका विभिन्न स्थान र जिल्ला वाहिरबाट आउने पर्यटकले घलेगाउँका होमस्टे खचाखच भएको घलेको भनाई छ । नयाँ वर्षकै अवसर पारेर घलेगाउँमा ठूलो राशीको आमन्त्रीत फुटवल प्रतियोगिता आयोजना भएकोले पनि खेलाडी, खेलप्रेमी र अन्य पर्यटकले होमस्टे भरिएको घलेले जानकारी दिए ।
‘गाउँमा फुटबल प्रतियोगिता छ, खेलाडी, दर्शकसँगै अन्य पर्यटकले होमस्टे सबै भरिएको छ’ घलेले भने ‘कतिपयलाई भुजुङ, घनपोखरा पठाएका छौँ, फोन गर्नेहरुलाई त अहिले नआउनुस् नै भन्नुपरेको छ ।’ नयाँवर्षको आगमनसँगै आन्तरिक पर्यटकहरुको आगमन बढेपछि स्थानीय पर्यटन व्यवसायीलाई भ्याई नभ्याई भएको छ । आफ्नो घर परिवार र साथिभाइसँगै नयाँवर्ष मनाउन आएका पर्यटकको चापले भ्याई नभ्याई भएको काउलेपानी पर्यटन विकास समितिका अध्यक्ष देव गुरुङले बताए ।
‘पाहुनाहरुको आगमन अपेक्षा गरेभन्दा बढी भएको छ’ गुरुङले भने ‘कतिपय पाहुनाहरुलाई फोनबाटै नआउनुस् भनेका छौं, कतिपय गाउँमा आइसकेपछि जसोतसो व्यवस्थापन गरेका छौँ ।’ विगत लामो समय थला परेको पर्यटन व्यवसायमा नयाँवर्ष मनाउन आएका पाहुनाले होमस्टे भरिभराउ भएपछि राहत महसुस भएको गुरुङले बताए । नयाँ वर्षको शुरुवातमै उत्साहजनक पर्यटकको आगमनले वर्षभरीनै सफलता मिल्ने व्यवासायीहरुको अपेक्षा छ ।
नयाँ वर्षमा सबैतिर विदाको समय भएकोले पारिवारिक तथा समूहगत रुपमा पर्यटकहरु जिल्लाका विभिन्न पर्यटकिय गन्तव्यमा पुगेका छन् । पछिल्लो समय निकै आकर्षक बनेको पिसहिलमा पनि आन्तरिक पर्यटकको ओइरो लागेको छ । होमस्टे सञ्चालन गरिएका जिल्लाका पर्यटकिय गाउँहरु भुजुङ, राईनास, सिउरुङ लगायतका गाउँहरुमा पनि नयाँ वर्षको अवसरमा आन्तरिक पर्यटकको आवागमन बढेको समितिले बताएको छ ।