Logo

नगर अस्पतालको काम एक वर्षदेखि अलपत्र

अस्पतालका उपकरण बन्द कोठामा

छेडागाड नगरपालिकाको नगर अस्पताल एक वर्षदेखि अलपत्र परेको छ । निर्माण कार्य सम्पन्न गर्न सम्झौता मिति सकिन तीन महिना बाँकी रहँदा नगर अस्पतालको काम वर्ष दिनदेखि अलपत्र छ ।

२०७७ असारमा माउन्टेन इन्फा कम्पनी लिमिटेड लाजिम्पाट काठमाडौंले नगर अस्पताल निर्माण गर्ने भन्दै सम्झौता गरेको थियो । सम्झौता मिति लागू भएको समयबाट २०८० असार मसान्तभित्र अस्पताल निर्माण सम्पन्न गर्नुपर्नेछ । १५ शैयाको उक्त अस्पताल छेडागाड नगरपालिका–११ सिम्लीमा निर्माण कार्य सुुरु भएको एक वर्षभित्र निर्माण व्यवसायीले काम गर्न छोडेका थिए । एकतला भवन निर्माण गरेर बीचमै निर्माण व्यवसायीले काम छाडेको नगरपालिकाको प्रशासन शाखाले जनाएको छ ।

भवन निर्माणमा खटिएका व्यवसायीले डीपीआर नै गलत भएको भन्दै काम गर्न अस्वीकार गरेका छन् । भवन निर्माण भइरहेको ठाउँ अत्यन्तै भिरालो भएकाले समस्या भएको कम्पनीले बताएको छ । भवनको माथि र तल दुवै ठाउँमा भासिएपछि थप अर्को समस्या आइलागेको छ । अवैज्ञानिक तरिकाले ठाउँ छनोट गर्नु नै सबैभन्दा ठूलो गल्ती भएको छेडागाड नगरपालिकाका नगर उपप्रमुख चन्द्रबहादुर थापाले बताए । अस्पताल निर्माण भइरहेको ठाउँमा दुई सय मिटर जमिन भासिएकाले निर्माण व्यवसायीले सो ठाउँमा काम गर्न अस्वीकार गर्र्दै आएको बताएको छ ।

डीपीआर गर्दा नै गलत तरिकाले बनाएकाले अहिले समस्या आएको नगर उपप्रमुख थापाले बताए । डीपीआर निर्माण गर्ने टिम, नगरपालिका र निर्माण व्यवसायी बीच छलफल भए पनि भवन निर्माणलाई निरन्तरता दिने विषयमा अन्योलता छाएको उनले बताए । पहिरो रोकथाम नगरी भवन निर्माणको काम अगाडि बढन सक्ने अवस्था नभएकाले थप रकम आवश्यक पर्ने उनको भनाइ छ । १८ करोडमा उक्त भवन निर्माण भइरहेको उनले बताए । नगरप्रमुख रत्नबहादुर खडका निर्माण व्यवसायी भएकाले ठेक्कापट्टामै ध्यान दिने तर नगरपालिकाको समस्याप्रति उदासीन भएको आरोपसमेत लाग्दै आएको छ ।

भवनको काम रोकिए पनि के गर्ने भन्ने कुरा अझै निक्र्याैल भइसकेको छैन । भवन निर्माणको काम अगाडि बढ्छ वा रोकिन्छ भन्ने जवाफ आफूहरूसँग नभएको जनप्रतिनिधिहरू बताउँछन् । उक्त डीपीआर एलाइट इन्जिनियरिङ सोलोसन काठमाडौंले गरेको इन्जिनियर प्रेम केसीले बताए । संघीय सरकारबाट प्राप्त १८ करोडमध्ये ठेक्का हाल्दा १४ करोडमा सम्झौता गरेर निर्माण व्यवसायीले कामको सुरु गरेका थिए । इन्जिनियर केसीका अनुसार उक्त ठाउँमा भवन नै निर्माण नहुने सम्भावना बढेको छ ।

१९ लाख रुपैयाँ खर्च गरेर बनाएको डीपीआर नै गलत भएपछि अब कसरी काम गर्ने भन्नेमा चिन्ता उत्पन्न भएको कर्मचारीहरू बताउँछन् । भवन निर्माण गर्दा भएका प्राविधिक कमजोरीका कारण अहिले एकले अर्कालाई दोष लगाउँदै जिम्मेवारीबाट सबै पन्छिन खोजेको सर्वसाधारण बताउँछन् । भवन निर्माणको जिम्मेवारी लिएका निर्माण व्यवसायीले आफूले पूरै भवन बनाउन खोजे पनि गलत डीपीआरका कारण निर्माण कार्य पूरा गर्नेबित्तिकै आफूहरूलाई समस्या आउने बताउँदै आएका छन् ।

निजी विद्यालयमा नगर अस्पताल

अहिले छेडागाड नगरपालिका–११ थलहमा रहेको निजी विद्यालयबाट नगर अस्पतालको काम चलिरहेको छ । झार्पा स्वास्थ्य चौकीमा नगर अस्पताल सारिए पनि पुनः निजी विद्यालयमा सारिएको छ । भवन नहुँदा सेवा प्रवाहमा समेत समस्या हुँदै आएको छ ।

नगर अस्पतालको भवन समयमै निर्माण नहुँदा काम गर्न समस्या भएको भन्दै एक वर्षदेखि डाक्टरसमेत नगर अस्पतालमा छैनन् । दर्ता नै नभएको निजी विद्यालय र जग्गा किन्ने भन्दै सामाजिक विकास समितिले निर्णय गरेको थियो ।
उक्त निर्णय लागू हुन नसक्ने भन्दै विवाद उत्पन्न भएपछि निजी विद्यालयमा रहेको नगर अस्पतालले भाडासमेत निजी विद्यालयलाई नदिएको स्रोतले बताएको छ । भाडा नपाएपछि निजी विद्यालय सञ्चालकले अस्पताल अन्यत्र सार्न दबाब दिएका थिए । उक्त दबाबपछि झार्पास्थित स्वास्थ्य चौकीमा नगर अस्पताल सारिएको थियो ।

स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाबाट एक वर्ष अगाडि पठाएको भिडियो एक्सरे, ईसिजि, भेन्टिलेटर र अक्सिजन प्रयोगमा आउन सकेको छैन । बन्द कोठामा उक्त सामग्री थन्किएको छ । नगर अस्पतालले सबै सामग्री प्रयोगमा रहेको भन्दै महाशाखामा गलत विवरण पठाइरहेको स्रोतले बताएको छ । स्वास्थ्यको अवस्था लथालिङ भएको निमित्त प्रमुख प्रशासकीय अधिकृत गंगबहादुर रोकायले बताए । जथाभावी कर्मचारी भर्ना गर्दा कर्मचारीलाई तलब खुवाउन मुस्किल परिसकेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्