माटोका भाडामा समेत बिचौलियाको रजाइँ «

माटोका भाडामा समेत बिचौलियाको रजाइँ

दाङमा माटोका भाँडामा समेत बिचौलियाको चलखेल हुने गरेको छ । मेहनत गरेर बनाएका माटोका भाँडाको व्यापारमा बिचौलीयाको रजाइँले उपभोक्ता र भाडा बनाउने कुमालेहरू मर्कामा परेका छन् ।
माटोबाट बनाइएका भाँडाको मूल्य निर्धारणमा हुन नसक्दा व्यापारीहरू गाउँमा जाने र जसले सस्तोमा बेच्छ उसैसँग किनेर लैजाने गरेका कारण कुमाल समुदाय मर्कामा पर्ने गरेका हुन् । व्यापारीहरू घरमै आउने र धेरै सामान एकै पटक उठाउने भएका कारण आफूहरू केही वर्षदेखि सस्तोमा भए पनि घरबाटै माटोका भाँडाकुँडा बिक्री गर्न गाउँगाउँ जान छाडेको देउखुरी गढवा गाउँपालिका–३ खैराका टेकबहादुर चौधरी बताउँछन् । “माटोका भाँडा किन्न आउने व्यापारीसँगै बजारमा स्टिल र प्लास्टिकका भाँडाका कारण पहिलाको जस्तो बिक्री हुँदैनन्,” चौधरीले भने । कम बिक्री हुने र भनेजति मूल्य नपाउने भएपछि गाउँगाउँ जान छोडेको उनको भनाइ छ ।
उनले माटोबाट गमला, कुथुर्के, पाला, ठेगी, कौसी, हाँडीलगायतका भाँडा बनाउँदै आएका छन् । केही वर्ष अघिसम्म माटोको घैंटो र फ्रिजसमेत बनाउने गेरेका टेकबहादुर पछिल्लो समय यी सामग्री बिक्री हुन छाडेपछि बनाउन पनि छाडेको बताउँछन् । “माटोका भाँडा बनाउन थालेको धेरै वर्ष भयो, पहिले १०÷२० रुपैयाँमा पाईने सामान अहिले सयौं रुपैयाँ पर्न थाले,” उनले भने, “तर माटोका भाँडाको मूल्य अहिलेसम्म बढेको छैन ।” पछिल्लो समयमा त भाँडा बनाउने माटोसमेत पाउन छाडेको उनको भनाइ छ ।
“पहिले माटोका भाँडा बनाएपछि पोल्नलाई दाउरा र परालको समस्या थिएन,” टेकबहादुरले भने, “पछिल्लो समय माटो लिनेदेखि भाँडा पोल्नका दाउरा, परालको समेत समस्या पर्न थालेको छ ।”
सोही गाउँका कुलुरकुमार कुमालले पनि माटोका भाँडा बनाउन थालेको वर्षौं बिते पनि उचित मूल्य नपाएको गुनासो गर्छन् । “बाल्यकालदेखि नै सिकेको सीप प्रयोग गरेर सामग्री बनाउँदै गए पनि बिक्रीमा समस्या भएको छ,” उनले भने, “भाँडा बनाउने राम्रो माटो खोजेर ल्याउनै धेरै स्थानमा धाउनुपरेको छ, तर न ज्याला बढेको छ, न त भाँडाको भाउ नै बढेको छ ।” उनले अहिले पनि देउखुरीका विभिन्न ठाउँदेखि दाङका घोराही, तुलसीपुरलगायतका स्थानमा त्यस्ता सामग्री बिक्री गर्न पुग्ने गर्दछन् । दिनभर बिक्री गरेर फर्कँदासम्म पनि छाक छार्न कठिन हुने गरेको उनको गुनासो छ ।
माटोको भाँडा बनाएर जीविकोपार्जन गर्नेहरूको अर्को विकल्प छैन । यो पेशामा संलग्न रहेकाहरूको जग्गा जमिन थोरै हुँदा खेती किसानीसमेत गर्न पाउँदैनन् । पुख्र्यौली पेसासमेत धरापमा परेपछि उनीहरू विस्थापित हुने अवस्थामा पुगेका छन् । देउखुरीको खैरा गाउँमा मात्रै माटोका सामग्री बनाएर परिवार चलाउनेहरूको संख्या ४० भन्दा बढी छ । उनीहरूले बनाएका सामग्री बुटवल, नेपालगन्ज र काठमाडौंसम्म पुग्ने गरेका छन् ।

अमरराज आचार्य 

प्रतिक्रिया दिनुहोस्