Logo

कर्णालीमा वर्षेनी मासिँदै छ निगालो

कर्णाली प्रदेशका हिमाली तथा पहाडी जिल्लामा पाइने निगालो लोप हुन थालेको छ । जथाभावी आलो लगाउनेदेखि टुसा निकाल्ने क्रम नरोकिएपछि निगालो लोप हुन लागेको हो । निगालोका बहु उपयोगी गुण छन् । कर्णालीका जाजरकोट, रुकुमपश्चिम, डोल्पाको मध्यभाग, जुम्ला, कालिकोट, हुम्ला, मुग, दैलेखमा निगालो पाइन्छ । निगालोको विभिन्न प्रजाति हुने गर्दछ ।

घर छाउनादेखि डोको, डाली, नाङ्लो, कुचो, अन्न सुरक्षित गर्नका लागि कोठी, तरकारी खानाका लागि टुसासमेत प्रयोगमा आउने गर्दछ । १५ वर्ष अगाडि मध्यपहाडको अधिकांश ठाउँमा सजिलै पाइने निगालो अहिले पाउनै मुस्किल भएको सर्वसाधारण बताउँछन् । वर्षेनी नयाँनयाँ घाँस प्रयोग गर्ने भन्दै जंगलमा लगाइने आगो र जथाभावी चरिचरणका कारण निगालो लोप हुनगएको डिभिजन वन कार्यालय डोल्पाका निमित्त प्रमुख महेश कुमाइले बताए ।

निगालो धेरै काममा प्रयोग हुने भएकाले पनि सबैको निसानामा परेको उनको भनाइ छ । संरक्षणतर्फ कसैको ध्यान नजाने तर प्रयोगमा मात्र ध्यान दिँदा निगालो वर्षेनी लोप हुँदै गएको नलगाड नगरपालिका–८ का हरिबहादुर खत्रीले बताए । पहिला पहिला बिहान जंगलमा गएर दिउँसो निगाला ल्याएर घरमा पुगिन्थ्यो भने अहिले दुई दिन लगाउँदा पनि निगालो पाउन मुस्किल हुने खत्रीको भनाइ छ । निगालाको टुसा, पशुचौपायालाई घाँस, विभिन्न सामग्रीको निर्माणलगायतका काम यही निगालाबाट हुने भएकाले पनि छिटै लोप भएको खत्रीको भनाइ छ ।

निगालोमा जंगली जनावार बस्ने गर्दछन् । सबैभन्दा बढी रेडपाण्डा सुरक्षित हुने स्थान निगालो हो । अहिले निगालोको विनाससँगै जंगली जनावरलाई सुरक्षित हुन समस्या हुँदै गएको छ । मासिँदो वन जंगलको मारमा सबैभन्दा बढी वन्यजन्तु नै परेको पाइन्छ । चिस्यान हुने ठाउँमा निगालो हुर्कने गर्दछ । जब चिस्यानको मात्रा घटदै जान्छ, निगालो उत्पादन कम हुने डिभिजन वन कार्यालय जाजरकोटका प्रमख राधाकृष्ण दासले बताए ।

कर्णाली प्रदेशको जंलगमा कति मात्रामा निगालो पाइन्छ भन्ने एकिन तथ्यांक छैन । पहाडी जिल्लाका किसानको आम्दानीको स्रोतसमेत निगालो रहँदै आएको छ । निगालो संरक्षणका लागि कुनै पनि योजना कर्णाली प्रदेश सरकारसँग छैन । न त संघीय सरकारको वन मन्त्रालयसँग निगालो मासिँदै जानुको विषयमा कुनै ठोस छलफल नै भएको छ । वर्षेनी वृक्षरोपण गर्ने नाममा लाखांै रकम खर्चिने हाम्रा सरकारका नीति भए पनि निगालो संरक्षण गर्नेतर्फ त्यस्ता खालका नीतिले छुन सकेको छैन ।

डिभिजन वन कार्यालयले जंगली जडिबुटी संरक्षणका नाममा वर्षेनी चलानी पुर्जी दिँदै दिन कटाएको देखिन्छ । सामुदायिक वन समूहका पदाधिकारीलाई निगालो संरक्षणबारे ध्यान नै नभएको आरोप लाग्दै आएको छ । स्थानीय सरकारले सडक खन्ने कामबाहेक अन्य विकास नै होइन भन्ने लाग्दै आएको छ । सामुदायिक वनभित्र विस्तारै समस्या आइरहेको छ ।

आफन्तले वनजंगलमा हानि नोक्सानी पुर्‍याएमा कारबाही नै नहुने र विचार नमिल्नेसँग मात्र कारबाहीको लागि न्वारनदेखिको बल लगाउने परिपाटीले गर्दा सामुदायिक वनको भविस्य जोखिममा पर्दै आएको छ । वन किन संरक्षण गर्ने भन्नेसम्मका ज्ञान नभएको व्यक्ति पहाडी इलाकामा वन समूहका पदाधिकारी भएकाले पनि अर्को समस्या निम्तिएको शिक्षकहरू बताउँछन् ।

जंगलमा आगो लगाएर देवता लगाउने चलन

जंगलमा आगो लगाउनेलाई कानुनी दायरामा ल्याई कारबाही गर्नुको साटो स्थानीय देवी देवताको भाकल गर्न लगाउने चलनले गर्दा वन जंगलमा संरक्षणमा समस्या ल्याएको छ ।

वर्षेनी हुने आगलागीका घटनामा हातमा मन्दिरमा लगाएको ध्वजाहरू बोकेर गाउँमा अनुहार हेरेर रकम असुल्ने चलने गर्दा वनजंगल संरक्षणमा समस्या आएको हो । आधिकारिक सामुदायिक वन समूहभन्दा आफूखुसी बनाएका समूहबाट रकम असुल्ने गरेको गुनासो डिभिजन वन कार्यालय, जाजरकोटमा पुगिसकेको छ । यस्तै खालको गुनासो प्रदेशका अधिकांश डिभिजन वनमा पुगेको बताइन्छ ।

प्रतिक्रिया दिनुहोस्