Logo

डोल्पामा केन्द्रीय प्रसारणलाइन परीक्षण

डोल्पाको दुनैसम्म केन्द्रीय विद्युत प्रसारण लाइन परीक्षणको काम सुरु भएको छ । रुकुम पश्चिमको त्रिवेणीबाट डोल्पाको दुनैसम्म प्रसारण लाइन निर्माण गर्दै मंगलबारदेखि परीक्षणको काम सुरु भएको नेपाल विद्युत प्राधिकरण कर्णाली प्रदेशले जनाएको छ ।

राष्ट्रिय प्रसारणले नछोएको डोल्पामा विगत दुई वर्षदेखि निर्माण कार्य थालिएको कामले अन्तिम रूप लिन लागेसँगै परीक्षणको काम सुरु भएको प्रदेश कार्यालयले जनाएको छ । रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाको गोतामबाट त्रिवेणी हुँदै डोल्पाको त्रिपुराकोटबाट सदरमुकाम दुनैसम्म परीक्षणको काम जारी छ । दुई हप्ताभित्र दुनैसम्म विद्युत सेवा सुचारु गर्न सकिने प्रदेश कार्यालयको दाबी छ ।

जाजरकोट खण्डमा समेत पोल गाड्नेदेखि प्रसारण लाइन जडानको काम भइरहेको प्रदेश कार्यालयले जनाएको छ । अघिल्लो आर्थिक वर्षमै दुनैसम्म बत्ती बाल्ने उद्घोष गरिए पनि निर्माण व्यवसायीको ढिला सुस्तीका कारण यो आर्थिक वर्षको अन्तिम चौमासिकमा आएर कामको परिणाम आउन थालेको हो । ११ केभी प्रसारणलाइन अहिले यहाँ पुर्‍याउन लागिएको हो । ३३ केभी प्रसारण लाइनको सबस्टेसन त्रिपुरासुन्दरी नगरपालिकाको प्रशासकीय केन्द्र त्रिपुराकोटमा निर्माण कार्य जारी छ ।

जाजरकोट सदरमुकामबाट डोल्पाको दुनैसम्म ११८ किलोमिटर लम्बाइ छ । जाजरकोट डोल्पा सडक खण्डसँगै जाडेर काम भइरहेको छ । जाजरकोटको नलगाड नगरपालिकाको चौखामा सवबटेसनको कामसमेत जारी छ । डोल्पाको पालिकास्तरमा विद्युतीकरण गर्नका लागि अघिल्लो आर्थिक वर्षमा ठेक्का लगाएर अहिले काम सुरु भएको विद्युत प्राद्यिकरण डोल्पा वितरण केन्द्रले जनाएको छ ।

मुख्य लाइनबाट सहायक लाइन निर्माण गरेर तल्लो र मध्य डोल्पामा विद्युतीकरण गर्नका लागि काम सुरु भएको हो । मुडकेचुला, जगदुल्ला, ठूलीभेरी, त्रिपुरासुन्दरीका गाउँगाउँमा विद्युत लिनका लागि सहायक लाइन निर्माण गर्न भएको ठेक्काअनुसार काम भइरहेको बताएको छ । जाजरकोटतर्फ भने प्रसारण लाइनको काम निकै सुस्त गतिमा भइरहेको छ ।

सुर्खेत, जाजरकोट, रुकुमपश्चिम, डोल्पामा विद्युतलाई दिगो बनाउन १३२ केभी प्रसारण लाइनको काम सबै जिल्लामा विस्तार हुनु जरुरी देखिन्छ । अहिले कोहलपुरबाट सुर्खेतसम्म मात्र १३२ केभी प्रसारण लाइनको काम सुरु भएको छ । जाजरकोट, रुकुमपश्चिम र डोल्पामा उक्त काम सुरु भएको छैन । ३३ केभी प्रसारण लाइनले मात्र अहिले यहाँ विद्युत चालू हुँदै आएको छ ।

पानी पर्ने बित्तिकै अहिले ३३ केभी प्रसारणलाइन बन्द हुने गरेको छ । त्यस्तै हावाले समेत विद्युत सेवा अवरुद्ध हुने गरेको छ । ३३ केभी प्रसारण लाइनभन्दा ११ केभी प्रसारणको लाइनको काम छिटो हुने जाजरकोट वितरण केन्द्रले जनाएको छ । जाजरकोटतर्फ काम गर्ने निर्माण व्यवसायीले काममा गति नदिँदा समस्या हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्