प्रदेश २ को माछापालन व्यवसायमा ३ अर्बको नोक्सान «

प्रदेश २ को माछापालन व्यवसायमा ३ अर्बको नोक्सान

जनकपुर-बुधबार देखि परेको अविरल वर्षाका कारण आएको बाढीले गर्दा प्रदेश २ मा जनधनको व्यापक क्षति भएको छ । बाढीका कारण सयौँ घर डुबानमा परेको छ भने सर्वसाधारणको जनजीवनसमेत कष्टकर बनेको छ । बाढीका कारण सबैभन्दा बढी माछापालन व्यवसायमा क्षति भएको छ । प्रदेश नम्बर २ मा हुने कुल मत्स्यपालन व्यवसायको ७० प्रतिशत भन्दा बढी पोखरीमा बाढीले क्षति पुगेको छ ।
प्रदेश नम्बर २ मा कुल १५ हजार ६ सय ६७ पोखरी मध्ये ११ हजार पोखरी बाढीकै कारण प्रभावित भएको छ । प्रदेश २ को बारामा सबैभन्दा बढी ४ हजार १ सय ३६ पोखरी उत्पादन हुन्छ जसमध्ये २ हजार ४ सय ८१ पोखरी प्रभावित भएका छन् । यस्तै, सप्तरीमा २ हजार ६ सय ८४ पोखरी छन् जसमा १ हजार ८ सय ७९ पोखरीमा बाढीले क्षति भएको छ । यस क्षेत्रमा बर्सेनि ३ हजार ६ सय टन माछा उत्पादन हुँदै आएको छ । धनुषामा २ हजार ३ सय ५३ पोखरीमा माछा उत्पादन हुँदै आएकोमा १ हजार ६ सय ४७ पोखरीमा क्षति भएको ग्रामीण उद्यम तथा विप्रेषण आयोजना समृद्धिको प्रारम्भिक तथ्यांकले देखाएको छ । धनुषामा प्रत्येक वर्ष पोखरीहरूमा ३ हजार ३ सय टन माछा उत्पादन हुँदै आएको छ ।
सिरहामा पनि माछा उत्पादन व्यावसायिक रूपमा उल्लेख्य मात्रामा हुने गर्छ । यस क्षेत्रमा २ हजार १ सय ५४ पोखरीमा किसानले व्यावसायिक रूपमा माछापालन गर्दै आएका छन् । तर बाढीका कारण १ हजार ६ सय १५ पोखरीमा नराम्ररी क्षति पु¥याएको छ । त्यस्तै यहाँ बर्सेनि २ हजार ९ सय टन मत्स्य पालन हुने गर्छ । महोत्तरीमा १ हजार ९ सय ३५ पाखेरीमा माछा पालन हुन्छ जहाँ बाढीले सबैभन्दा बढी पोखरीमा क्षति पु¥याएको छ । यहाँ ३ हजार टन माछा उत्पादन हुँदै आएको छ ।
सर्लाहीमा १ हजार २ सय ३४ पोखरीमा मत्स्यपालन हुँदै आएको छ, जहाँ ९ सय ८७ पोखरीमा बाढीले क्षति पु¥याएको छ । यहाँ प्रत्येक वर्ष २ हजार २ सय मेट्रिकटन माछा उत्पादन हुने गर्छ । रौतहट यसपटक बाढीले सबैभन्दा बढी बाढीबाट प्रभावित भएको छ । रौतहटमा माछा उत्पादन हुने १ हजार १ सय ७१ पोखरीहरू मध्ये ९ सय ३७ पोखरीमा क्षति पुगेको छ । यहाँ प्रत्येक वर्ष २ हजार ५ सय मेट्रिकटन माछा उत्पादन हुँदै आएको छ ।
प्रदेश नम्बर २ मा आएको बाढीका कारण अर्बौको क्षति पु¥याएको छ । बाढीका कारण पोखरीमा उत्पादन हुँदै आएको माछा नै बगाएर लगेपछि अर्बौको क्षति भएको समृद्धि परियोजनाका प्रतिनिधि राकेश झाले जानकारी दिए । उनले माछामा मात्रै ३ अर्ब भन्दा बढी क्षति पु¥याएको जानकारी दिए । जसमध्ये सबैभन्दा बढी क्षति महोत्तरी र बारा जिल्लामा भएको छ र पर्सामा समेत अधिकांश पोखरीमा वर्षातको कारणले जलस्तर बढेकाले पनि प्रभावित भएको छ ।
नगराईन नगरपालिका वडा नम्बर ९ मत्स्य उत्पादन समृद्धिका अध्यक्ष रामप्रमोद राउतले नगराईन नगरपालिकामा रहेको व्यावसायिक माछा उत्पादन पोखरीमध्ये ४० वटा पोखरीमामात्रै १० करोड बराबरको क्षति भएको जनाए ।
प्रदेश १ र २ स्तरीय मत्स्य व्यवसाय आपूर्ति श्रृंखला सम्बद्ध बहुसरोकारवालाहरूको गोष्ठी कार्यक्रममा प्रदेश नम्बर २ उद्योग वाणिज्य संघका प्रदेश अध्यक्ष शिवशंकर साह ‘हिरा’ले बाढीको कारणले विभिन्न क्षेत्रमा व्यवसाय गर्ने व्यापारीहरूलाई करोडौंको नोक्सान भएको बताए । उनले प्रदेश नम्बर २ मा माछापालन व्यवासयीलाई ३ अर्ब रुपैयाँभन्दा बढीको नोक्सानी भएको बताए । अन्य क्षेत्रमा पनि निकै नोक्सानी भएको, तर तथ्यांक आउन अझै केहि समय लाग्ने जनाए ।
ग्रामीण उद्यम तथा विप्रेषण आयोजनाका समृद्धि आयोजना प्रमुख सरोजप्रसाद गुरागाइँले समृद्धि देश निर्माणका लागि माछापालन व्यवसायमा जोड दिए । उनले यसको माछाको उत्पादनसँगै व्यवस्थित बजारीकरण आवश्यकता रहेको बताए ।
प्रदेश नम्बर १ र २ स्तरीय मत्स्य व्यवसाय आपूर्ति श्रृंखला सम्बद्ध बहुसरोकारवालाहरूको दुई दिवसीय गोष्ठी आयोजना व्यवस्थापन कार्यालय इटहरीको आयोजनामा जारी छ ।

प्रतिक्रिया दिनुहोस्