तरकारीका बेर्ना बेचेरै आम्दानी

तरकारीका बेर्ना उत्पादन गरेर बिक्री गर्दा राम्रो आम्दानी हुन थालेपछि बागलुङको ढोरपाटनका महिला यसतर्फ आकर्षित भएका छन् । व्यावसायिक तरकारी खेतीमा लागेका ढोरपाटन नगरपालिका खुँगाका १० जनाभन्दा बढी महिला तरकारीका बेर्ना उत्पादनमा लागेका हुन् ।
महिलाहरू कतै सामूहिक त कतै एकल रुपमा व्यवसायमा होमिएका छन् । व्यावसायिक तरकारी खेती गरे पनि बेर्ना खोज्न निकै दुःख भोग्नु परेपछि आफूहरू यसतर्फ लागेको कृषक दिलकुमारी कँडेलले बताईन् । “करिब एक दशकदेखि तरकारी खेती गर्दै आएका दिदीबहिनीहरू समूहमा आबद्ध भएका छौं,” कँडेलले भनिन्, “तरकारी खेती त गर्दै आएका थियौं तर बेर्ना खोज्न निकै सास्ति बेहोर्नु परेको थियो ।” बेर्ना खोज्न भोग्नुपरेको दुःखका कारण नै आफूहरूमा उत्पादन गर्ने सोचको विकास भएको उनको अर्की किसान दिलकुमारी गैरेले बताइन् । “सुरुमा आफ्नै करेसावारीका लागि मात्र बेर्ना उत्पादन गर्ने गरेका थियौं,” उनले भनिन्, “अहिले बिक्रीका लागी समेत उत्पादन गर्न थालेका छौ ।” आफूहरूले प्याज, काउली, केराउ, बन्दागोबीलगायतका तरकारीका बेर्ना उत्पादन गर्ने गरेको उनीहरूले बताए ।
तरकारी खेतीलाई व्यावसायिक बनाएका महिलाहरूका परिवार उनीहरूकै कमाइमा आश्रित भएका छन् । बुर्तिवाङ बजारमा बिक्री गर्न सकिने भएकाले ताजा तरकारी लगाएका उनीहरूले गाउँघरमा आफैं खानका लागि लगाउनेहरूले पनि बेर्नाको खोजी गर्न थालेपछि बेर्नामा ध्यान दिएको गैह्रेले बताइन् । केही वर्षयता उनीहरूले बिउ उत्पादन गरेरै मासिक २ देखि ३ लाख रुपैयाँ आम्दानी गर्दै आएका छन् । “गाउँभरका किसानले हामीसँग सम्पर्क गरेर बेर्ना लैजाने गरेका छन्,” गैह्रेले भनिन्, “अत्यधिक चिसो भएकाले सबैले बेर्ना हुर्काउन नसकेपछि हामी दुईचार जना मिलेर लगाएका हौं ।” बर्षातमा झरी र हिउँदमा तुसारोबाट जोगाएपछि उनीहरूले बेर्ना बिक्री गर्न सकेको बताए ।
बुर्तिवाङ बजारमा तराईबाट आयात गरिएको तरकारी पनि बिक्री हुने गरेको छ । तर, गाउँमा उत्पादित तरकारीको स्वाद फरक र मीठो हुने भएपछि उनीहरूले लगाएको तरकारीको माग उच्च छ । गाउँमा सवारी साधन चल्न थालेपछि बजारमा पुराउन पनि सहज भएको उनीहरूको भनाइ छ । “पहिला–पहिला तरकारी बिक्री गर्न बोकेरै लैजानुपथ्र्यो, अहिले जिप चल्न थालेपछि सहज भएको छ,” कँडेलले भनिन्, “होलसेल पसलेसँग सल्लाह भएपछि घरैमा पैसा आइपुग्न थालेको छ ।” केही वर्षदेखि खुलेको कृषि सडकले फसल बिक्रीका लागि सहज भएको उनले बताइन् । गैह्रे टोलका ७ घरले व्यावसायिक तरकारी खेती गरेका छन् ।
–त्रिलोचन रिजाल