Logo

समस्यामा परेको अर्थतन्त्रलाई सहकारीले जोगाउँछ : ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अर्थतन्त्र समस्या परेको अवस्थामा अर्थतन्त्र जोगाउने सहकारी भएको बताएका छन् । राष्ट्रिय सहकारी महासंघ र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको आयोजनामा भएको तेस्रो सहकारी सम्मेलनको समापनमा बोल्दै अध्यक्ष ओलीले सहकारी सञ्चालन गर्न नजान्दा पनि समस्या आएको बताए ।

“अहिले सहकारी जति बदनामी भएको छ, अब बदनामी हुन नपायोस्” उनले भने, “कृषि क्षेत्रमा बढी जनसंख्या आश्रित भएपनि जमिनको अभाव भएकाले परम्परागत खेती गर्दा कृषि उत्पादनमा मूलुक आत्मनिर्भर हुन नसेको हो ।” ठूला बैंक, व्यापारी, उद्योगी समस्या भएकाले साना पुँजी भएका सहकारी समस्यामा हुनु स्वभाविक भएको उनले बताए ।

सहकारीले एकीकृत जग्गामार्फत कृषि उत्पादनमा लाग्नु पर्नेपूर्व प्रधानमन्त्रीसमेत रहेका ओलीले जोड दिए । सहकारीले अनुदान आशा गर्न नहुने भन्दै उनले भने, “उत्पादनमा लाग्नका लागि लामो समयको लागि सहुलियत ऋण व्यवस्था गर्नुपर्छ ।” थोरै पुँजीलाई सही सदुपयोग गर्दा राम्रो उपलब्धी हासिल गर्न सकिने उनको भनाइ थियो ।

सहकारी विभागका रजिष्ट्रार नवराज घिमिरेले सहकारीको ऋण तिर्न पर्दैन भन्दै अफवाह फैलाउनेलाई कानुनी कठाघरामा ल्याइने बताए । सहकारी ऐन नियममा भएका व्यवस्था कार्यान्वयन गरी सहकारीलाई व्यवस्थित गर्न विभाग तयार रहेको उनको भनाइ छ । सहकारी खतराको डिलमा नपरेको भन्दै उनले विश्वासलाई डग्मगाउन नदिन सहकारी अभियान्तालाई सचेत भएर लाग्न आग्रह गरे । सहकारी ऐन नियम परिवर्तन गरेर भएपनि सस्थागत संरचना निर्माणको पहल गर्र्न घिमिरेले बताए ।

सहकारीको पुँजीलाई उत्पादन, प्रशोधन र बजारीकरणमा लगानी गर्ने प्रतिवद्धता

सहकारीको पुँजीलाई उत्पादन, प्रशोधन र बजारीकरणमा लगानी गरी मूल्य श्रृंखला विकासमार्फत आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्न महासम्मेलनले जोड दिएको छ । काठमाडौंमा शनिबार सम्पन्न तेस्रो राष्ट्रिय सहकारी महासम्मेलन ११ बुँदे घोषणापत्र जारी गर्दै सहकारीले आत्मनिभर अर्थतन्त्र निमार्णमा लाग्नुपर्ने उल्लेख छ ।

त्यसैगरी, वातावरणमैत्री कृषि, उत्पादनमा वृद्धि आयात प्रतिस्थापन, निर्यात प्रर्वद्धन र रोजगारी सिर्जना गर्न सार्वजनिक निजी र सहकारी साझेदारी ढाँचालाई अगाडि बढाइने घोषणापत्रमा उल्लेख छ । नविन सोच र सिर्जनात्मकताका आधारमा सहकारीमार्फत कृषि पर्यटन, जलश्रोत, स्वास्थ्य, शिक्षा, उद्योगलगायतका क्षेत्रमा लगानी वृद्धि गर्ने प्रतिवद्धता महासम्मेलनले गरेको छ ।

विशिष्टीकृत सहकारी संघमार्फत बृहत र विशिष्ट उत्पादनको विकास, कृषि र पशुजन्य क्षेत्रको प्रवद्र्धन एवं ठूला कृषि फार्मको स्थापना, कृषिजन्य वस्तु तथा सेवाको मूल्य तथा आपूर्ति श्रृंखला विकास गरी सहकारीको ब्राण्ड प्रवद्र्धन गर्ने जनाइएको छ । त्यसैगरी, सहकारी सिद्धान्त, मूल्य, मान्यता र विधिको परिपालना गरी सहकारीको पहिचान स्थापित गर्न सहकारी संस्थामा स्वनियमन र सुशासन कायम गर्दै सदस्य केन्द्रित व्यवसायको माध्यमबाट गुणात्मक सहकारी अभियान निर्माणमा प्रतिवद्धता जनाएको छ ।

सदस्यको बचतको सुरक्षाका लागि सहकारी क्षेत्रमा विश्वास अभिवृद्धि गर्न राष्ट्रव्यापी रुपमा जागरण अभियान सञ्चालन गर्न, सहकारी क्षेत्रको दिगोका लागि कानुनले परिकल्पना गरेका प्रवद्र्धनात्मक व्यवस्था कार्यान्वयनका लागि आवश्यक पहल कदमी गर्न र अर्थतन्त्रमा देखा परेका समस्याका कारण सहकारी क्षेत्रमा सृजना भएको तरलता संकुचनको समस्या समाधानका लागि तीनै तहका सरकारको तर्फबाट सम्बोधन गर्न सामूहिक रुपमा बहस पैरवीका लागि पहल गरिने घोषणा पत्रमा उल्लेख छ ।

सहकारीको स्वस्थ्यएवं प्रतिष्पर्धात्मक क्षमता अभिवृद्धिका लागि एकीकरणलाई अभियानको रुपमा सञ्चालन गर्नुका साथै नवप्रविधिलाई आत्मसाथ गर्दै गुणस्तरीय सेवा प्रवाह गर्न प्रतिबद्ध जनाएको छ । सरकार माताहत रहेका कोषहरु सहकारी बैंकमार्फत सहुलियत पूर्णरुपमा लगानी गर्न तथा उच्च तम प्रविधि अपनाउन सामूहिक पहल कदमी गर्ने बताइको छ । दिगो विकासको लक्ष्य प्राप्तिका लागि सहकारी संघ संस्थामा महिला तथा लैंगिक समानता, युवा तथा सीमान्तकृत वर्गबीच सामाजिक समावेशिता कायम गर्दै वित्तीय पहुँच वृद्धि गर्दै जाने उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्