मुगुका किसान स्याउका बगैंचा काँटछाँटमा व्यस्त «

मुगुका किसान स्याउका बगैंचा काँटछाँटमा व्यस्त

मुगुका किसान स्याउको बगैंचा स्याहार्न व्यस्त भएका छन् । किसानहरु स्याउको बगैंचा छाँटकाँट गर्न र मल तथा पानी दिन व्यस्त भएका हुन् ।
माघदेखि फागुनसम्म स्याउका बिरुवा लगाउने र ठूलो विरुवा काँटछाँट गर्ने गरिन्छ । यो समयमा विरुवाको राम्रो स्याहार गरे उत्पादन राम्रो हुने भएकाले यहाँका अधिकांश किसान स्याउको बगैंचा हेरचाहमा व्यस्त भएका छन् । स्याउ पकेट क्षेत्र मानिएको रोवा, बाम, सोरुकोट, ताल्चा, कालापाल्त, पिना, टोप्ला खमाले, जिउका, मुन्दुका किसान दिनभर नै स्याउको बगैंचामा भुल्ने गरेका छन् ।
पछिल्ला वर्षहरुमा मुगुमा स्याउ खेती गर्ने किसानको संख्यासमेत बढ्दै गएको छ । सदरमुकाम गमगढीसहित ग्रामीण वस्तीसम्म सडक सञ्जाल विस्तार भएपछि स्याउको मागसमेत बढ्दा किसान यसको खेतीमा आकर्षित भएका हुन् ।
छायानाथ रारा नगरपालिका–५ ताल्चाका कृषि धीरेन्द्र भामले उत्पादन बढाउन अहिले बगैंचाको हेरचाह गर्नुपर्ने बताए । उनले स्याउको स्याहार सुसार गर्न जिल्ला कृषि विकास कार्यालयले कुनै तालिम र सुझाव नदिए पनि आफ्नै अनुभवले बिरुवाको हेरचाह गरिरहेको बताए । “१ सय ५० वटा विरुटा छाँटकाँट गरिसकेको छु,” उनले भने, “५ सय वटा विरुवा हुर्काउन विशेष ध्यान दिएर काम गरिरहेको छु ।” हिउँदको समयमा विरुवालाई मल र पानी दिएर उत्पादन बढाउन सकिने उनको भनाइ छ ।
सिँचाइ सुविधा भएका स्थानमा किसानले स्याउको संरक्षणमा धेरै ध्यान दिने गरे पनि पानी नभएको ठाउँका किसान भने केही चिन्तित देखिएका छन् । यस वर्ष हिउँसमेत नपरेकाले उत्पादन घट्ने हो कि भन्ने चिन्ता उनीहरुमा देखिएको छ ।
तर, छायानाथ रारा नगरपालिका–५ कै किसान हरिचन्द्र कुलालले भने पर्याप्त हिमपात नभए पनि विरुवाको हेरचाह राम्रोसँग गर्न सकिने उत्पादनमा ह्रास नआउने बताए । उनले स्याउको बगैंचा हेरचाहसम्बन्धी ज्ञान भने भारतका किसानबाट सिकेका हुन् । “१० वर्षसम्म भारतको हिमाञ्चलमा वस्दा स्याउ बगैंचा काटछाँट गर्ने तरीका सिकेको हुँ,” उनले भने, “अहिले त्यो शीपलाई आफ्नै गाउँठाउँमा प्रयोग गरिरहेको छु ।”
जिल्ला कृषि विकास कार्यालयका बागवानी अधिकृत चतुरभुजी चौधरीले यो सिजनमा स्याउको बगैंचा स्याहार गरे राम्रो उत्पादन हुने बताए । किसानलाई प्राविधिक ज्ञान दिनेबारे भने यस वर्ष पनि कुनै कार्यक्रम नभएको उनले बताए ।

दानबहादुर बूढा

प्रतिक्रिया दिनुहोस्