घाँसको बीउ बेचेर आम्दानी «

घाँसको बीउ बेचेर आम्दानी

डडेल्धुरा-यो त हामीले सपनामा पनि कल्पना गरेका थिएनौं । ६२ वर्षीय जयबहादुर धामी आफैंले गरेको घासँखेतीबारे अनुभव सुनाउँछन् । “मैले अहिले १० क्विन्टल जै घाँस (ज्वाँतो) को बीउ उत्पादन गरेको छु, एक क्विन्टलको ५ हजारको हिसाबले यस वर्ष ५० हजार आम्दानी हुनेभयो,” उनले भने ।
नवदुर्गा गाउँपालिका–३ डाँडावन निवासी उनले २०६८ सालमा पहिलो पटक जै घाँस लगाएका थिए । “सुरुको वर्ष मलगायत चारजनाले जिल्ला पशुसेवा कार्यालयले दिएको घाँसको बीउ लगायौं, त्यो वर्ष ढेड क्विन्टल फल्यो,” उनले भने, “दोस्रो वर्ष साढे तीन क्विन्टल र तेस्रो वर्ष सात क्विन्टलसम्म फलायौं ।”
आफूलाई सधैजसो यस वर्ष पनि २५ किलो घाँसको बीउ दिइएकोमा त्यसबाट १० क्विन्टल बीउ उत्पादन गरेको उनले बताए । “फाइदा छ हजुर गहँु लगाउनुभन्दा यो घाँसको बीउ उत्पादन गरेर डडेल्धुराका सबै स्थानीय तह, कैलाली, कन्चनपुरदेखि नवलपरासीको बुटवलसम्म पठाउँछौं,” उनले भने, “गाउँपालिकाले बोरा र सिल्ने मेसिन उपलब्ध गराएकाले अझ सहज भएको छ ।” “हाम्रो खेतमा पहिले २ क्विन्टन गहुँ उत्पादन हुन्थ्यो तर घाँस चाहिँ ६ क्विन्टलसम्म उत्पादन हुन्छ,” अर्की किसान लक्ष्मी देवी साउँदले भनिन्, “गहुँ ३० रुपैयाँ किलो तर जै घाँसको बीउ ५० रुपैँया किलोमा बिक्री हुन्छ, फेरि त्यो घाँसको पराल पनि बेचिने हुँदा फाइदा नै छ ।”

बजार र भण्डारणको समस्या
सुरुमा समूह र पछि गएर घाँस तथा पशु विकास कृषि संस्था लिमिटेडनामक सहकारी संस्था दर्ता गरेर उनीहरूले अहिले जै घाँसको बीउ उत्पादन गरिरहेका छन् । अहिले उक्त सहकारी संस्थामा १ सय १५ जना सदस्य छन् । तर, सबैले घाँस उत्पादन गर्न मान्दैनन् कारण बजारबाट समयमा पैसा नमिल्नु र उचित भण्डारण गर्ने स्थान नहुनु । “जै घाँस वैशाखमा हुन्छ तर कात्तिकमा बिक्री हुँने हुँदा पैसा कात्तिकमा मात्रै मिल्छ,” कृषक बहादुर बोहरा भन्छन्, “हामीलाई सुरुमा जिल्ला पशुसेवा कार्यालयले नै यो खेतीतर्फ उत्प्रेरित गरेको हो, उसैले एउटा भण्डारण गर्ने भवनसमेत बनाइदियो । तर उत्पादन गरेको बीउ बिक्री गर्न समस्या भएकाले धेरैजसो किसानले उत्पादन घटाएका छन् ।” व्यापारीहरूले सुरुमै सम्झौता गर्ने भए सबैले उत्पादन बढाउने उनले बताए । उत्पादन भएको जै घाँसको बीउ बिक्री गर्न गाउँपालिकाले सहयोग गरे आफ्नो सहकारीले किसानलाई घाँस लगाउन उत्प्रेरित गर्ने जयबहादुर धामीले बताए । भण्डारणका लागि बनाइएको भवन जीर्ण अवस्थामा रहेकाले त्यसलाई मर्मत तथा नयाँ भवन बनाइदिए उत्पादन भएको बीउ राख्न सहज हुने अर्का किसान तिलक शाहीले बताए ।
अहिले घाँस तथा पशुविकास कृषि संस्था लिमिटेड डाँडावन जै घाँसको स्रोत केन्दको रूपमा रहेको छ । सुरुमा स्वान र गौतम जातको जै घाँसको बीउ उपलब्ध गराएको र भवन निर्माणका लागि ५ लाख दिएको जिल्ला पशु सेवा कार्यालयले जानकारी दिएको छ । विभिन्न समयमा क्षमता विकासका लागि आफूहरूले कृषक भम्रण तथा तालिम उपलब्ध गराइसकेको पशु विकास अधिकृत खड्कबहादुर शाहले बताए । “अहिले उनीहरूले समयमा भुक्तानी नपाउनाले बजारको समस्या भोगिरहेका छन्, त्यसका लागि हामी स्थानीय निकाय र व्यापारीसँग समन्वय गर्ने प्रयासमा छौं,” उनले भने ।

प्रतिक्रिया दिनुहोस्