Logo

भूगोल इनर्जी डेभलपमेन्टको आईपीओ बिक्री खुला

भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीले बिहीबारदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन तथा बिक्री खुला गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगारी गरिरहेका नेपालीहरुका लागि आईपीओ निष्कासन गरेपश्चात सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको हो ।

कम्पनीले जारी पुँजी ५४ करोड ४० लाख ५३ हजार ४०० रुपैयाँको ३० प्रतिशतले दरले हुन आउने १६ करोड ३२ लाख १६ हजार रुपैयाँ बराबरको १०० रूपैयाँ अंकित दरको १६ लाख ३२ हजार १६० कित्ता सेयर निष्कासनमा ल्याएको हो । जसमध्ये १० प्रतिशत अर्थात ५ करोड ४४ लाख ५ हजार ३०० रुपैयाँ बराबरको ५ लाख ४४ हजार ५३ कित्ता सेयर आयोजना प्रभावित स्थानीय बासिन्दालाई निष्कासन गरेकोमा ८५ हजार २० कित्ता सेयर मात्रै बिक्री भएको थियो ।

यस्तै कम्पनीको जारी पुँजीको २० प्रतिशत अर्थात १० करोड ८८ लाख १० हजार ७०० रुपैयाँ बराबरको १०० रुपैयाँ अंकित दरका १० लाख ८८ हजार १०७ कित्ता सेयर मध्ये १ लाख ८ हजार ८११ कित्ता साधारण सेयर श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगारी गरिरहेका नेपाली तथा कर्मचारीहरुका लागि एवम् ७१ हजार ९१६ कित्ता सामूहिक लगानी कोषको लागि सुरक्षित गरिएको छ ।

स्थानीयलाई बिक्री नभएको सेयरसहित सर्वसाधारणको लागि १३ करोड ४६ लाख ९९ हजार ३०० रुपैयाँ बराबरको १०० रुपैयाँ अंकित दरका १३ लाख ४६ हजार ९९३ कित्ता सेयर निष्कासनमा ल्याएको हो । कम्पनीले निष्कासन गरेको आईपीओमा छिटोमा २७ चैतसम्म आवेदन दिन सकिनेछ । त्यस अवधिसम्ममा माग अनुसार पर्याप्त आवेदन नपरे ७ वैशाख २०८० सम्म आवेदन दिन सकिनेछ ।

कम्पनीको आईपीओमा इच्छुक लगानीकर्ताले प्रतिकित्ता १०० रुपैयाँका दरले न्यूनतम १० कित्ता तथा सोभन्दा बढीका लागि १० अंकले भाग जाने संख्यामा अधिकतम ३० हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक एनआईसी एसिया क्यापिटल लिमिटेड रहेको छ ।

प्रतिक्रिया दिनुहोस्