Logo

तामाकोसी पाँचौंको ठेक्का रद्द, आयोजनाको अनुमानभन्दा बढी लागत प्रस्ताव

दोलखामा निर्माण गर्न लागिएको ९९.५ मेगावाटको तामाकोसी पाँचौं जलविद्युत आयोजना निर्माणको ठेक्का रद्द भएको छ । एक महिनाअघि आर्थिक प्रस्ताव सबैभन्दा कम प्रस्ताव गर्ने चिनियाँ कम्पनी सिनो हाइड्रो कर्पोरेसन प्रारम्भिक छनोट भएको भए तापनि आयोजनाको अनुमानभन्दा बढी लागत प्रस्ताव गरेपछि ठेक्का नै रद्द गर्ने निर्णय भएको हो ।

आयोजनाको निर्माणका लागि इच्छा जाहेर गरेका चारवटा कम्पनीमध्ये प्राविधिक प्रस्तावमा छनोट भएका दुई कम्पनीमध्ये सिनो हाइड्रोले आर्थिक प्रस्ताव कम कबोल गरेको थियो । प्राविधिक प्रस्ताव पास भएका कम्पनीको वित्तीय प्रस्ताव भएक महिनाअघि मात्र खोलिएको थियो । आयोजनाले पहिलो चरणको सिभिल र हाइड्रोमेकानिकलको ठेक्का आह्वान गरेको थियो ।

नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनीमार्फत् ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको क्यासकेड आयोजना हो । यसको हेडबक्स निर्माण नगरी माथिल्लो तामाकोसीको विद्युतगृहबाट आएको टेलरेसको पानीलाई सिधै सुरुङमा पठाइन्छ । नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी तामाकोसी जलविद्युत कम्पनीले निर्माण गर्न लागेको आयोजनाको आठ किलोमिटर सुरुङ निर्माण गरी सुरीटारमा भूमिगत विद्युतगृह निर्माण गरी विद्युत उत्पादन गरिने छ ।

प्रवर्द्धक माथिल्लो तामाकोसी जलविद्युत कम्पनीले २०७९ साउन ९ (जुलाई २५, २०२२) गते आयोजना निर्माण गर्न इच्छुक विदेशी कम्पनीका लागि प्रस्ताव आह्वान गरेकोमा सिनो हाइड्रो कर्पोरेसन लिमिटेड र चाइना गेजुवा ग्रुप कर्पाेरेसनको प्राविधिक प्रस्ताव पास भएको थियो । अन्तिम चरणमा ठेक्का रद्द भएपछि पुनः अर्को ठेक्का तयारी गरी छनोट गर्दा आयोजनाको काम कम्तीमा ६ महिनादेखि एक वर्षपछि धकेलिने भएको छ ।

तामाकोसी जलविद्युत कम्पनीका प्रमुख कार्यकारी अधिकृत विनोद भण्डारीले अब फेरि ठेक्काको प्रक्रिया शून्यदेखि नै सुरु हुने बताए । आउँदो हिउँददेखि आयोजनाको काम सुरु गरी चार वर्षमा पूरा गर्ने लक्ष्य राखे तापनि लक्ष्यअनुसार काम सुरु नहुने भएको छ । आयोजनाको आवास निर्माणको काम पनि सुस्त गतिमा जारी छ । दुई किलोटिर लामो २२० केभी प्रसारण लाइनलगायत संरचना निर्माण हुनेछन् ।

आयोजनाका सम्पूर्ण संरचना विगू गाउँपालिका वडा नं. १, २, ३ र ४ मा निर्माण हुनेछ । करिब १८ अर्ब रुपैयाँ लागत अनुमान गरिएको आयोजनामा कर्मचारी सञ्चय कोषले ७० प्रतिशत अर्थात् १३ अर्ब रुपैयाँ ऋण लगानी गर्ने सहमति जनाइसकेको छ । बाँकी स्वपुँजी तथा सर्वसाधारणबाट लगानी हुनेछ ।

प्रतिक्रिया दिनुहोस्