गायन छाडेर गाईपालन

हिउँद लागेपछि मेला महोत्सवमा कलाकारलाई भ्याइनभ्याइ छ । त्यसमाथि पनि लोक गायनको क्षेत्रमा स्थापित कलाकारलाई त कार्यक्रममा समय मिलाउन पनि कठिन छ । एक दशकअघि यसरी नै मेला महोत्सवदेखि रेकर्डिङ स्टुडियोसम्ममा व्यस्त रहने एक ख्यातिप्राप्त लोक गायक भने पछिल्लो समय गाईपालनमा रमाएका छन् ।
साढे दुई दशकसम्म लोकगायनमा रमाएका बुद्धिराम शर्मा पछिल्लो समय भने आफ्नै गाउँमै गाईपालनमा रमाउन थालेका हुन् । गाउँमै केही गर्ने सोचसहित राजधानी काठमाडौं छाडेर जन्मथलो पर्वतको कुर्घा फर्केका शर्मा भन्छन्, “सबै बजारमै मात्र बस्ने हो भने गाउँमा कसरी समृद्धि ल्याउन सकिन्छ र भनेर गाउँ फर्केर गाई पाल्न थालेको हो ।” शर्माले आफूले घरमा गाई पाल्ने मात्रै होइन गाउँमै सहकारी मार्फत चिस्यान केन्द्र खोलेर दूध संकलन र वितरणलाई व्यवस्थित बनाउने अभियानमा पनि जुटेका छन् ।
चर्चित लोकगायक शर्माले २ सय जति लोक गीतमा स्वर दिएका छन् । उनले गाएका ‘सुन्तला फूल खेल्दै आयो’, ‘रुमाल रुझाउँछु’ ‘मधुवनैमा’ जस्ता लोकगीत अहिले पनि चर्चित छन् । उनले २०४५ सालमा पहिलो पटक रेडियो नेपालमा स्वर परीक्षा उर्तिण गरेपछि निरन्तर गायनमा सक्रिय भएका थिए । २०६५ सालसम्म २० वर्ष गायनमा रमाएका शर्मा २०६५ मा आफ्नै जन्म गाउँ फर्किएका थिए । त्यसबेला नाम चलेका कलाकारहरु युरोप अमेरिकामा कार्यक्रमका लागि भनेर जाने र उतै बस्ने गरे पनि आफूलाई विदेशभन्दा गाउँ प्यारो लागेको शर्माले बताए । “म पनि त्यसबेला कार्यक्रमको बहानामा विदेशमा पुगेर लुक्न सक्थें” उनले भने, “तर म आफू विदेश जानुभन्दा गाउँमा नै केही गर्ने अठोट लिएर फर्किएँ ।” शर्माका तीन जना छोरा भने वैदेशिक रोजगारीमा नै छन् ।
गायक शर्माले ५ वटा गाई पालेका छन् । साविकको कुर्घा र लिमिठाना गाविस अहिले फलेबास नगरपालिकामा गाभिएका छन् । कुर्घा र लिमीठानाका कृषक मिलेर स्थापना गरेको चिसापानी दुग्ध उत्पादक सहकारी संस्था खोलेर दूध पोखरामा बिक्री गर्दै आएका छन् । मोटरबाटो नहुने, कहिले दूध कुस्माबजारमा बिक्री गर्ने समस्याबाट पीडित कृषकले गाउँमै चिस्यान केन्द्र बनाएका छन् । किसानले दूध बेचेको रकमबाट क्यान खरिद गरिएको गायक शर्माले बताए । कृषकको ऋण तिर्न अझै ३ लाखभन्दा बढी बाँकी नै छ । कृषकले ऋण काढेर चिस्यान केन्द्र बनाएपछि केही ठाउँबाट सहयोग आएको छ भने अब फलेबास नगरपालिकाले सहयोग गरेमा कृषकको ऋण फिर्ता गर्न सकिने उनले सुनाए । सांसद विकास लम्सालले सांसद विकास कोषमार्फत सहयोग गरेका छन् भने पशुसेवा कार्यालयले पनि सहयोग गरेको छ । अहिले आफ्नै जिपमार्फत पोखराको फिस्टेल डेरी प्रालिमा दूध बिक्री भैरहेको शर्माले जानकारी दिए । शर्मा सहकारीमा स्वयंसेवी व्यवस्थापकका रुपमा पनि कार्यरत छन् । दैनिक ७ सय लिटर दूध उत्पादन भइरहेको र १ हजार लिटर पुरयाउन सके डेरीले आफ्नै ट्यांकरले ढुवानी गर्ने आश्वासन दिएकाले गाईको संख्या बढाउने अभियान पनि थालिएको उनले बताए ।
–लक्ष्मीप्रसाद सापकोटा