Logo

उद्योग वाणिज्य महासंघको चुनावमा मधेसबाट पाँचजना उम्मेदवार

निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघको चैत २८ र २९ गते हुने निर्वाचनमा केन्द्रीय सदस्य पदमा मधेस प्रदेशबाट पाँचजनाको उम्मेदवारी परेको छ । चारजना मध्य पर्साको वीरगन्जबाट दुई जना, सिराहाबाट एकजना, सप्तरीबाट एक जना र महोत्तरीबाट एकजनाको उम्मेदवारी परेको हो ।

वीरगन्जबाट नेपाल उद्योग वाणिज्य महासंघ मधेस प्रदेशका निवर्तमान अध्यक्ष गणेश लाठ र वीरगन्ज उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष एवं महासंघका केन्द्रीय कार्यकारिणी सदस्य डा. सुवोध गुप्ताले उम्मेदवारी दिएका छन् । सिराहाको लाहानबाट निवर्तमान अध्यक्ष अशोक अमात्यको उम्मेदवारी परेको छ । त्यस्तै महोत्तरीको मटिहानीका विजय साह र सप्तरीबाट अरुण प्रधानले मधेस प्रदेशबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका छन् ।

लाठ र अमात्य खुलातर्फ केन्द्रीय सदस्य, गुप्ता वस्तुगततर्फ र प्रधान र साह भने मधेस प्रदेशबाट केन्द्रीय सदस्यका लागि उम्मेदवार दिएको हो । महासंघको निर्वाचनमा सबैभन्दा निर्णायक शक्ति वीरगन्जलाई मानिन्छ । निजी क्षेत्रलाई संगठित गर्ने ७८ बर्ष लामो ऐतिहासिक विरासत बोकेको वीरगन्जले यसअघि पनि दुईजना केन्द्रीय सदस्य पाएको छ । डा. गुप्ता र गोपाल केडिया अहिलेको वर्तमान कार्यसमितिका केन्द्रीय सदस्य रहेका छन् ।

चैत २८ देखि २९ गतेसम्म हुने महासंघको निर्वाचनका लागि मधेस प्रदेशका निवर्तमान अध्यक्ष गणेश लाठ र अशोक अमात्य खुलाबाट केन्द्रीय सदस्यमा उम्मेदवार बनेका छन्, भने गुप्ता वस्तुगततर्फबाट केन्द्रीय सदस्यमा फेरि दोहोर्‍याएका हुन् । पाँच जना मधेस प्रदेशका उम्मेदवारहरुको व्यक्तित्व र विशेषता आ–आफ्नै छन् । लाठ वीरगन्ज उद्योग वाणिज्य संघको अध्यक्ष र प्रदेश अध्यक्ष हुदै अहिले केन्द्रीय सदस्यमा भीड्दै छन् । उनी स्पष्ट वक्ता र समस्यालाई निर्धक्कसँग राख्न सक्ने व्यक्तिको रुपमा चिनिन्छन् ।

पछिल्लो समयमा बैंक तथा वित्तीय संस्थाहरुको चर्को ब्याज र राष्ट्र बैंकको चालूपुँजी कर्जा मार्गदर्शन २०७९ को खुलेर विरोध गरेका लाठको नेतृत्वमै मधेस प्रदेशबाट आन्दोलन शुरु भयो । अर्का केन्द्रीय सदस्यका उम्मेदवार डाक्टर सुवोध गुप्ता पनि निजीक्षेत्रको नेतृत्वमा रहेर काम गरेका अनुभवी व्यक्ति हुन् । उनी वीरगन्ज उद्योग वाणिज्य संघको अध्यक्षको नेतृत्वमा रहँदै केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए । उनको नेतृत्वमा वीरगन्ज उद्योग वाणिज्य संघले निकै महत्वपूर्ण काम गरेको छ ।

स्थानीयस्तरमा स्वास्थ्य र सामाजिक क्षेत्रमा मात्रै नभइ राष्ट्रियस्तरमा वीरगन्जका मुद्दालाई स्थापित गराउन र अन्तर्राष्ट्रियस्तरमा व्यावसायिक सम्बन्ध कायम राख्न उनको नेतृत्व सफल भएको छ । उनकै कार्यकालमा वीरगन्ज उद्योग वाणिज्य संघले सिंगापुर र भियतनाममा व्यावसायिक भ्रमण गरेर दुईपक्षीय सम्झौता समेत गरेर अन्तराष्ट्रियस्तरमा व्यावसायिक सम्बन्ध स्थापित गर्न सफल व्यक्ति हुन् ।

प्रतिक्रिया दिनुहोस्