Logo

होटल व्यवसाय सञ्चालनको वातावरण बनाउन आग्रह

होटल संघ नेपालले कोभिड–१९ बाट अति प्रभावित होटल तथा पर्यटन उद्योग अझै पनि लयमा आउन नसकेको तथा पर्यटन व्यवसाय पुनरुत्थान हुन नसकी व्यवसायीहरु व्यवसाय बन्द गरी पलायन हुने अवस्थामा पुगेको बताएका छन् । मंगलबार अर्थमन्त्री डा.प्रकाशशरण महतसँग होटल संघ नेपालकी अध्यक्ष सृजना राणासहितको टोलीले ज्ञापनपत्र बुझाउँदै कोभिड–१९ यता पर्यटक आगमनमा सुधार नभएकाले होटलहरु घाटामा सञ्चालन भइरहेको बताइन् ।

संघले धेरै धनराशी खर्च भई, वैदेशिक मुद्रा आर्जनको मुख्य स्रोत तथा बढी भन्दा बढी रोजगारी सिर्जना गर्ने होटल उद्योगलाई अन्य उत्पादनमूलक उद्योग सरह आगामी बजेट र कानूनमै राष्ट्रिय प्राथमिकता प्राप्त उद्योगको रुपमा समावेश गरी यस उद्योगको जर्गेना गर्न माग गरेको छ । संघले व्यवसायीको जटिल समस्या भनेको बैंकको बढ्दो ब्याजदर होटल जस्तो अति संवेदनशील उद्योगमा धान्नै नसकिने गरी अधिक भएको र व्यवसाय सञ्चालन गर्न तथा लगानी आकर्षण गर्न प्रतिकुल देखिएकोले यसलाई घटाएर व्यवसाय सञ्चालनमैत्री बनाउन आग्रह गरेको हो ।

अतिप्रभावित तथा पुनरुत्थानकै क्रममा रहेको होटल उद्योगले हालको अवस्थामा बैंकलाई साँवा र व्याज बुझाउन सक्षम नरहेको तर बैंकबाट सीमाभित्र साँवा ब्याज बुझाउन तीव्र ताकेता रहेकोले देशैभरका होटल व्यगवसायीहरु आन्दोलित रहेको हुँदा तोकिएको समयसीमा बढाई थप सहजिकरण गर्न संघको माग छ । मौद्रिक नीतिको त्रैमासिक समीक्षामार्फत सम्बोधन हुन नसकेको पुर्नतालिकीकरण र पुनरकर्जा सुविधा अब आउने अर्धवार्षिक समीक्षामार्फत स्पष्ट खुलाउँदै सुविधा प्रदान गरी कार्यान्वयनको व्यवस्था हुनुपर्ने संघको माग छ ।

प्रतिक्रिया दिनुहोस्