सन्राइज बैंकको प्रहरी विद्यालयलाई सहयोग

सन्राइज बैंकले नेपाल प्रहरी विद्यालयमा अध्ययनरत जेहेन्दार विद्यार्थीहरूलाई ६९ लाख ८० हजार ६३४ रुपैयाँ छात्रवृत्ति प्रदान गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त रकम सहयोग गरेको हो ।
बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत नेपाल र नेपाली जनताको लागि तत्पर भएर लाग्ने नेपाल प्रहरीका विभिन्न ८ वटा विद्यालयमा अध्ययन गर्ने बहालवाला, अवकाश प्राप्त, अमर शहिद एवम् अशक्त प्रहरीका जेहेन्दार सन्ततिहरूलाई उत्प्रेरणा गर्ने उद्देश्यले १५ जना विद्यार्थीलाई कक्षा ४ देखि १२ सम्म अध्ययन गर्न सहयोग स्वरुप छात्रवृत्ति प्रदान गरेको छ ।
नेपाल प्रहरीे प्रधान कार्यलय नक्सालमा बुधबार भएको सम्झौता हस्ताक्षर समारोहमा बैंकबाट प्रमुख कार्यकारी अधिकृत सुमन शर्मा, नायव प्रमुख कार्यकारी अधिकृत आरती राज्यलक्ष्मी राणा, नायव महाप्रबन्धक रविनकुमार नेपाल, नेपाल प्रहरीका महानिरीक्षक बसन्त कुंवर, नेपाल प्रहरीका विशिष्ट व्यक्तित्वहरू तथा बैंकबाट उच्च पदाधिकारीको उपस्थिति थियो । नेपाल प्रहरी शैक्षिक छात्रवृत्ति सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर हस्तान्तरण समारोहमा सन्राइज बैंकबाट नायव महाप्रबन्धक नेपाल र नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक ढकालले गरेका हुन् ।
यस छात्रवृत्ति कार्यक्रमले नेपाल प्रहरीका विभिन्न स्कुलमा अध्ययन गरिरहेका नेपाल प्रहरीका जेहेन्दार छोराछोरीलाई अझ अघि बढ्नको लागि थप प्रेरणा मिल्ने बैंकका प्रमुख कार्यकारी अधिकृत शर्माले बताए । संस्थागत सामाजिक उत्तरदायित्वलाई प्राथमिकता दिँदै सन्राइज बैंकले देशव्यापी रुपमा शिक्षा, स्वास्थ्य, बैंकिङ साक्षरता, वातावरण संरक्षण लगायतका विषयमा चरणबद्ध रुपमा कार्यक्रम गर्दै आएको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत गत वर्ष मात्र १५० भन्दा बढी कार्यक्रमहरू गरेको बताएको छ ।