Logo

घरभाडामा छुट दिन व्यवसायीको माग

नेपालगन्जका व्यवसायीहरुले घर बहालमा विशेष छुट दिन घरधनीहरुसँग आग्रह गरेका छन् । पछिल्लो समय देखिएको आर्थिक मन्दीका कारण व्यवसायी पलाएन हुन थालेको भन्दै घरभाडामा छुट दिएर व्यवसायीको मनोबल उच्च राख्न र हौसला प्रदान गर्न घरधनीलाई आग्रह गरेका हुन् ।

नेपाल उद्योग तथा व्यवसायी महासंघ जिल्ला कार्यसमिति बाँकेले बुधबार पत्रकार सम्मेलन गरेर व्यवसाय नहुँदा व्यवसायीले महंगो घरभाडा, बैंकको चर्को व्याज र कर्मचारीको तलब बुझाउन नसकिरहेको अवस्थामा घरभाडामा छुट दिएर सहयोग गर्न आग्रह गरेको हो । महासंघ बाँकेका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठले आर्थिक मन्दिका कारण महंगो सटर भाडा तिर्न नसक्दा नेपालगन्जका २ सय बढी व्यवसायी पलायन भइसकेको बताए ।

“अझ धेरै व्यवसायी पलायन हुनेक्रममा छन्” उनले भने, “व्यवसायीलाई पलायन हुनबाट रोक्न घरभाडामा छुट दिएर हौसला प्रदान गर्न आवश्यक छ ।” अध्यक्ष श्रेष्ठले आफ्नो घरमा भाडामा बसेका पाँच जना व्यवसायीको एक वर्षसम्म दश प्रतिशत भाडा छुट दिने घोषणासमेत गरेका छन् ।

उनले नियमित बढाउँदै आएको घरभाडा सहज अवस्था भएससम्म नबढाउन, खाली भएका सटर वा गोदामलाई सहुलियत दरमा उपलब्ध गराई बजार पलायन हुनबाट रोक्न र हाल लिइरहेको भाडालाई अहिलेको आर्थिक मन्दी र घट्दो व्यापार सही स्थानमा नआउदासम्म स्वेच्छाले भाडादरमा छुट उपलब्ध गराउन घरधनीसँग माग गरे ।

महासंघका सचिव भीम रानाभाटले व्यवसायीलाई टिकाइ राख्न स्थानीय सरकारले लिने गरेको करमा छुट दिन र घरभाडामा छुट दिने घरधनीको घरबहाल कर मिनाहा गरिदिन माग गरे । “व्यवसायीले नियमित तिर्दै आएका नविकरण शुल्कहरु तथा नविकरण तथा जरिवाना मिनाहा गरिदिन पनि जोडदार माग गर्दछौं” उनले भने ।

होटल व्यवसयायी भिम कँडेलले आर्थिक मन्दिका कारण बाँकेका धेरै होटल व्यवसायीसमेत पलायन भएको भन्दै सरकारले राम्रो नीति बनाएर व्यवसायीलाई टिकाउनुपर्ने बताए । “घर तथा सटर भाडामा लिई व्यवसाय गर्ने अधिकांश व्यवसायीहरूले घरभाडा तिर्न सक्ने अवस्था छैन” उनले भने, “सरकारले नयाँ नीति बनाएर समस्याको हल गर्न जरुरी छ ।”

पहिले एनजीओ आईएनजीओले नेपालगन्जका होटल राम्रोसँग चलेपनि संघसंस्था अन्यत्र जानु र सरकारी कार्यालयका कार्यक्रममा समेत कटौती हुँदा होटल व्यवसायी मारमा परेको बेला आर्थिक मन्दीले थप असर परेको उनको भनाइ छ । पछिल्लो समय आर्थिक मन्दी, बैंकको चर्को ब्याजका बाबजुद महंगो सटर भाडाका कारण नेपालगन्जका २ सय बढी व्यवसायी पलायन भइसकेको भन्दै महासंघले व्यापारीको पलायन रोक्न र व्यापारीलाई टिकाइ राख्नका लागि घर भाडामा छुट दिन जोडदार माग गरेको हो ।

आर्थिक मन्दीका कारण सुदूरपश्चिमको आर्थिक हव मानिने नेपालगन्जका अधिकांश उद्योग, व्यवसाय तथा कलकारखाना धरासायी अवस्थामा पुगेका छन् भने केही उद्योग, व्यवसाय र कलकारखाना चल्नै नसक्ने गरी बन्द भइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्