चालू आवको ९ महिनामा ३२ प्रतिशतमात्रै
कोसी प्रदेशको पुँजीगत खर्च

कोसी प्रदेशको पुँजीगत खर्च हालसम्ममा ३२.२७ प्रतिशत अर्थात् सात अर्ब ४४ करोड ४१ लाख ८५ हजार ७८१ रुपैयाँ भएको छ ।चालूतर्फ भने चैत १९ गतेसम्ममा ४५.२५ प्रतिशत अर्थात् सात अर्ब ५७ करोड ३६ लाख ८० हजार, १३६ रुपैयाँ भएको छ ।
प्रदेश सरकारले चालूतर्फ १८ अर्ब २२ करोड ९९ लाख ११ हजार बजेट विनियोजन गरेको छ भने पुँजीगततर्फ २१ अर्ब ५० करोड ८३ लाख ८९ हजार र वित्तीय हस्तान्तरणतर्फ तीन अर्ब १५ करोड १४ लाख ४९ हजार रुपैयाँ विनियोजन गरेको थियो । प्रदेश लेखा नियन्त्रण कार्यालयअनुसार प्रदेश सरकारले जम्मा बजेटको तुलनामा चालू र पुँजीगत खर्च ३७.७३ प्रतिशत अर्थात् १५ अर्ब एक करोड ७८ लाख ६५ हजार ९१८ रुपैयाँ खर्च गरेको छ । प्रदेश सरकारले खर्च गरेको मध्ये प्रदेश सरकारले संघ सरकारलाई फिर्ता गर्नुपर्ने रकम एक अर्ब ४६ करोड १२ लाख रुपैयाँ र संघ सरकारमा फिर्ता पठाएको सशर्त अनुदानको झण्डै दुई अर्ब १६ करोड रुपैयाँ बजेट पनि हो ।
यस्तै संघीय सरकारको राजस्व संकलन कमजोर हुँदा प्रदेश सरकारको चालू आर्थिक वर्षको बजेट पनि प्रभावित बनेको छ । कोसी प्रदेश सरकारले चालू आर्थिक वर्ष २०७९/०८० का लागि ३९ अर्ब ७३ करोड ८३ लाख बजेट कार्यान्वयन गरिरहेको छ । तर, चालू आर्थिक वर्षको नौ महिना सकिन केही दिन बाँकी छँदा अनुमानित आय लक्ष्यअनुसार पुग्न नसक्ने देखिएको हो ।
कोसी प्रदेश कोष तथा लेखा नियन्त्रण कार्यालयले दिएको तथ्यांकअनुसार प्रदेश सरकारको कुल बजेटमध्ये हालसम्म जम्मा १९ अर्ब २२ करोड ४३ लाख नौ हजार ४६७ रुपैयाँ आम्दानी भएको छ । जुन बजेट अनुमानको ४८.३७ प्रतिशतमात्रै हो ।
जसका कारण ३९ अर्ब ७३ करोड ८३ लाख अनुमानित आय भेटाउन अझै २० अर्ब ५१ करोड रुपैयाँभन्दा बढी राजस्व संकलन हुनुपर्छ । प्रदेश सरकारले चालू आर्थिक वर्षको बजेटमा वैदेशिक अनुदान २५ करोड ६८ लाख, राजस्व बाँडफाँटबाट ११ अर्ब ८८ करोड २४ लाख, वित्तीय समानीकरण अनुदानबाट नौ अर्ब ८२ लाख, सशर्त अनुदानबाट आठ अर्ब ६९ करोड ५९ लाख, समपूरक अनुदानबाट ९२ करोड र विशेष अनुदानबाट ४७ करोड ५० लाख र नगद मौज्दातबाट तीन अर्ब ५१ करोड ५५ लाख आम्दानी हुने अनुमान गरेको थियो ।
प्रदेश लेखा नियन्त्रण कार्यालयका अनुसार बाँडफाँटबाट प्राप्त हुने कर, मूल्य अभिवृद्धि कर, अन्तःशुल्क, समानीकरण अनुदान, सशर्त अनुदान चालू, सशर्त अनुदान पुँजीगत, विशेष अनुदान चालू तथा पुँजीगत, समपूरक अनुदानबाट हालसम्म १७ अर्ब चार करोड ८२ लाख ४५ हजार ४४४ रुपैयाँ प्राप्त भएको छ भने आन्तरिक राजस्व संकलनबाट दुई अर्ब ७३ करोड ११ लाख ७४ हजार ७८६ रुपैयाँ प्राप्त भएको छ । उक्त राजस्व प्रदेश सरकारले उठाउने भनेको आन्तरिक आय चार अर्ब ९८ करोड ४५ लाखको ५४.७९ प्रतिशतमात्रै हो ।
कार्यालयका अनुसार चैत १९ गतेसम्ममा जम्मा १९ अर्ब २२ करोड ४३ लाख नौ हजार ४६७ रुपैयाँ पुगेको छ । बजेटको आकार ३९ अर्ब पुग्न अझै २० अर्ब रुपैयाँ आम्दानी हुनुपर्छ । उक्त सम्भावना कमजोर छ । नौ महिनाको अवधिमा उठेको रकमको आधारमा हेर्ने हो भने प्रदेशको यथार्थ बजेट ३० अर्ब आसपासमा हुने लेखा नियन्त्रण कार्यालयको अनुमान छ ।