निर्माण सम्पन्न हुने समयमा पनि काम सुरु भएन

पश्चिम जाजरकोटको छेडा–चाँदे सडक खण्डको बीचमा रहेको साल्म खोलामा पुल निर्माण सम्पन्न गर्ने भाका नजिकिँदै गर्दा पुल निर्माण कार्य नै सुरु गरिएको छैन । भौतिक पूर्वाधार कार्यालय जाजरकोटले २०७८ साउन २९ गते नेपाल मेगा–सिस्ने–जेभी नेपालगन्जसँग चार करोड ८८ लाखमा पुल निर्माण गर्ने सम्झौता गरेको थियो ।
सम्झौता मितिअनुसार २०८० माघभित्र पुल निर्माण गरी पूर्वाधार विकास कार्यालयलाई हस्तान्तरण गर्नुपर्ने सहमति छ । निर्माण कार्य पूरा गर्न झण्डै नौ महिना बाँकी रहँदासम्म पुल निर्माणसम्बन्धी कुनै कार्य भएको छैन । पूर्वाधार विकास कार्यालयले समेत काम नगर्ने निर्माण व्यवसायीलाई कुनै दबाब नदिएको सरोकारवाला बताउँछन् । यही ठाउँमा हिउँदयाममा सजिलै यातायातका साधन सञ्चालन भए पनि वर्षायाममा यातायात सेवा अवरुद्ध हुँदै आएको छ । छेडागाड नगरपालिका–१ र ४ को बीचमा रहेको खारास्थित झार्पा खोला पुल सम्झौताअनुसार काम भएको भए अहिलेसम्म आधा काम भइसक्नुपर्ने थियो ।
पुल निर्माणको जिम्मेवारी लिएको निर्माण व्यवसायीले काममा चरम लापरबाही र पूर्वाधार विकास कार्यालयले ताकेता नगर्दा पुल निर्माणमा ढिलाइ भएको हो । पुल निर्माणको भाका नजिक आउँदै गर्दा अब म्याद थप गरेर काम गर्न निर्माण व्यवसायीले दबाब दिने देखिएको छ । छेडा–चाँदे सडक खण्डसमेत पुल अभावमा प्रभावित हुने सम्भावना बढेको छ । पूर्वाधार विकास कार्यालयले निर्माण व्यवसायीलाई कुनै पनि दबाब नदिँदा ढिलासुस्ती भइरहेको स्थानीयबासी रेशम खड्काले बताए । छेडागाड नगरपालिकाले सामान्य यातायातका साधन सञ्चालन गर्न खोलामा केही पाइप राखे पनि त्यसको समेत प्रभावकारी भूमिका निभाउन सकेको छैन ।
हिउँदमा धुलाम्य यो सडक खण्ड वर्षायाममा हिलाम्यका साथै भगवान भरोसामा यातायातका साधन चलाउनु परेको यातायात व्यवसायी प्रवीण पुनले बताए । पुल निर्माण नहुँदा खोलामा गाडी जबरजस्ती हालेर यातायात सञ्चालन गर्दा धेरै क्षति भइरहेको उनले बताए । भौतिक पूर्वाधार विकास कार्यालय जाजरकोटका प्रमुख सोहिन्दर यादवले काम सुरु नगरेको भए ताकेता गर्ने बताए । यादवले ताकेता गर्ने भनिए पनि कामको गति ज्यूँका त्यूँ हँुदा समस्या हुँदै आएको छ । यो सडकले मध्यपहाडी लोकमार्गसँग जोडने काम गर्दछ । त्यस्तै भेरी करिडोरसँग समेत जोड्ने काम गर्दछ ।