कोहलपुरमा नगर स्वास्थ्य प्रवर्द्धन केन्द्र सञ्चालन
घरघरमै गएर नागरिकको निःशुल्क उपचार

बाँकेको कोहलपुरमा नगर स्वास्थ्य प्रवद्र्धन केन्द्र सञ्चालनमा आएको छ । कोहलपुर नगरपालिका–१५ स्थित अकलघरुवामा रहेको स्वास्थ्य चौकीलाई स्तरोन्नति गरी स्थापना गरिएको नगर स्वास्थ्य प्रवद्र्धन केन्द्र सञ्चालनमा ल्याइएको हो ।
केन्द्रले कोहलपुर नगरपालिकाका ६ वटा दुर्गम वडाका नागरिकका घरघरमा चिकित्सकसहितको टोली परिचालन गरी सरल र सहज स्वास्थ्य सेवा प्रदान गरिने केन्द्रका इन्चार्ज अनिलसिंह ठकुरीले बताए । स्वास्थ्य केन्द्रवाट औषधि उपचार हुँदै आए पनि यो केन्द्रले कोहलपुर नगरपालिकाका नागरिकका घरघरमा चिकित्सकसहितको टोली परिचालन गरी स्वास्थ्यसँग सम्बन्धित सबै विषयको विवरण राख्ने, स्वास्थ्य परिक्षण गर्ने, जनचेतना जगाउनुका साथै सहुलियतमा औषधि उपलब्ध गराउने काम गर्ने उनको भनाइ छ ।
यहाँका नागरिकको स्वास्थ्यसम्बन्धी सम्पूर्ण विवरण राखिने भएकोले कुनै गम्भीर रोग लागेमा समेत समयमै उपचार गर्न सहज हुने बताइएको छ । कोहलपुर नगरपालिकाका प्रमुख पूर्णप्रसाद आचार्यले नागरिकको स्वास्थ्य र शिक्षालाई प्राथमिकतामा राखेर काम गरिरहेको बताए । “अकलघरुवामा रहेको स्वास्थ्य चौकीलाई स्तरोन्नति गरी नगर स्वास्थ्य प्रवर्द्धन केन्द्रमार्फत् अब नागरिकका घरघरमा सहज ढंगले स्वास्थ्य सेवा प्रदान गर्ने लक्ष्य लिएका छौं,” उनले भने । सुरुमा नगरपालिकाका विकट मानिने ६ वटा वडामा ईसीजी, एक्सरेलगायतका उपकरणसहित स्वास्थ्य सेवा सरल र सहज रूपमा उपलब्ध गराउने र नागरिक लाभान्वित हुने मेयर आचार्यको भनाइ छ ।
आम नागरिकले उपचार खर्च धान्नै नसकेर स्वास्थ्य सेवाबाट वञ्चित हुने अवस्था बढिरहँदा कोहलपुर नगरपालिकाले प्रभावकारी सेवा प्रदान गर्न नगर स्वास्थ्य प्रवर्द्धन केन्द्र सञ्चालन गरेको भन्दै स्थानीय खुसी भएका छन् । स्थानीय बुद्धिबहादुर थापाले स्थानीय सरकारको यो कार्यले सर्वसाधारणमा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान हुने आशा जागेको बताए । “महँगो उपचार पद्धतिले सर्वसाधारण नागरिकले उपचार विना अकालमै ज्यान गुमाउनुपर्ने अवस्थमा स्थानीय सरकारको प्राथमिकतामा स्वास्थ्य हुनुपर्छ,” उनले भने ।
करिब ६० लाखको लागतमा सञ्चालनमा आएको केन्द्रमा एकजना डाक्टरसहित १६ जनाको दरबन्दी छ । स्वास्थ्य प्रवद्र्धन केन्द्रमा बिरामी हुँदा नियमित उपचार, खोप कार्यक्रमजस्ता आधारभूत निरोधात्मक स्वास्थ्य सेवा दिने, स्वस्थ जीवनशैली र खानपिनबारे जनचेतना जगाउनुका साथै नागरिकका घरघरमै गएर विरामीको प्रोफाइल बनाइने छ । जसले गर्दा नसर्ने गम्भीर प्रकृतिका रोगको अवस्थासमेत पहिचान गरी उपचार सहज हुने बताइएको छ ।