Logo

महानगरमा सीसी क्यामेरा र बत्ती जडान गरिने

ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउन सरोकारवाला एकमत

विराटनगर महानगरपालिकाले लागू गरेको पार्किङ निषेधित क्षेत्रलाई थप प्रभावकारी रूपमा कार्यान्वयन गर्ने भएको छ । महानगरका मेयर नागेश कोइरालाको अध्यक्षता बसेको बैठकले स्थानीय प्रशासन, नेपाल प्रहरी, ट्राफिक प्रहरीसहित सरोकारवाला निकायसँगको समन्वयमा यसअघि कार्यान्वयनमा ल्याएका सबै सडकलाई पार्किङ निषेधित क्षेत्र (नो पार्किङ) प्रभावकारी रूपमा कार्यान्वयन गर्ने निर्णय गरेको हो ।

बैठकले पार्किङलाई व्यवस्थित गर्दै संयुक्त बजार अनुगमनलाई सूक्ष्म रूपमा अघि बढाउने, राजस्व अभिवृद्धि अभियानलाई थप प्रभावकारी रूपमा सञ्चालन गर्नेलगायतका निर्णय गरेको छ । प्रदेश राजधानीमात्रै नभएर विराटनगर कोसी प्रदेशको एकमात्र महानगरपालिकालाई व्यवस्थित बनाउने दायित्व सबैको भएकाले महानगरले सुरु गरेको अभियानमा स्थानीय प्रशासनले सहयोग गर्ने मोरङका प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराईले प्रतिबद्धता जनाए ।

“विराटनगरलाई व्यवस्थित बनाउने अभियानमा महानगरलाई प्रशासनका तर्फबाट पूर्ण साथ रहन्छ,” प्रजिअ भट्टराईले भने, “कुनै पनि काम गर्दा शतप्रतिशतलाई सन्तुष्ट बनाउन सकिँदैन ।” आइतबार बसेको महानगरको कार्यपालिका बैठकले समेत यसअघि महानगरले कार्यान्वयनमा ल्याएको नो पार्किङलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने निर्णय गरेको थियो । व्यापार सुस्ताएको भन्दै केही दिनयता व्यापारीहरूले आफ्ना सवारी साधन सडकमा राखेर नो पार्किङको अवज्ञा गर्दै आएका छन् ।

अवज्ञापछि सडकलाई नो पार्किङ बनाउने अभियानबाट पछि नहट्न भन्दै जनस्तरबाट महानगरपालिकामाथि चर्को दबाब आएको मेयर कोइरालाले बताए । “नो पार्किङकको निर्णयबाट पछि नहट्न भन्दै डेलिगेसन पनि आइरहेका छन्,” कोइरालाले भने, “हाम्रो अरु केही उद्देश्य होइन विराटनगरलाई सफा, सुन्दर र व्यवस्थित बनाउने हो । यसप्रति विराटनगरवासी धेरै नै चिन्तित भएको पाएको छु । यहाँहरूले सामाजिक सञ्जालमा पनि हेरिरहनु भएको होला ।”

मेयर कोइरालाले वैकल्पिक पार्किङलाई समेत व्यवस्थित बनाउँदै लगिने बताए । उनले सवारी साधनको सुरक्षाका लागि वैकल्पिक पार्किङमा सीसी क्यामरा र बत्तीसमेत तत्कालै जडान गरिने उल्लेख गरे । उपमेयर शिल्पा निराला कार्कीले महानगरलाई व्यवस्थित बनाउने यसअघिका निर्णयबाट पछि हट्न नसकिने बताइन् । महानगरका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाले पछिल्लो समय विराटनगर व्यवस्थित हुँदै गइरहेको बताए । विराटनगरको व्यापार प्रवद्र्धनमा महानगर गम्भीर रहेको सुनाए ।

“विराटनगरको व्यापार व्यवसाय प्रवर्द्धनमा के गर्न सकिन्छ भनेर मेयर साब र उपमेयर साब पनि गम्भीर हुनुहुन्छ,” उनले भने, यसमा व्यापारीसँग बसेर छलफल गर्नेछौं ।” बैठकमा यसअघि ट्राफिक प्रहरी र नगर प्रहरीले गर्दै आएको ट्राफिक व्यवस्थापनमा नेपाल प्रहरीले समेत सहयोग गर्ने मोरङका प्रहरी प्रमुख एसपी दीपक पोखरेलले बताए ।

कोसी प्रदेशका ट्राफिक प्रहरी प्रमुख श्यामकुमार महतोले ट्राफिक प्रहरीलाई स्रोत साधनयुक्त बनाउनुपर्नेमा जोड दिए । विराटनगरको ट्राफिक व्यवस्थापनबाट आफू सन्तुष्ट भएको बताउँदै उनले भने, “विराटनगर प्रदेश राजधानी पनि हो । यहाँ भीआईपीको मूभ भइरहने स्थान पनि हो । हामीले अन्य स्थानमा जतिसुकै राम्रो ट्राफिक व्यवस्थापन गरे पनि प्रदेश राजधानीमा राम्रो गरेनौं भने त्यसको सन्देश देशभरि जान्छ ।”

बैठकमा आन्तरिक राजस्व कार्यालय विराटनगरका प्रमुख डा. डीबी क्षेत्री, वडा प्रहरी कार्यालय (क) का प्रमुख विजय श्रेष्ठ, जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख सुनिलकुमार श्रेष्ठ, गुणस्तर तथा नापतौल कार्यालय मोरङका प्रमुख मनोज पोखरेल, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका प्रमुख राजकुमार रिजाललगायतको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्