अपर तामाकोसी हाइड्रोको सीईओमा गौतम

अपर तामाकोसी हाइड्रोपावरको प्रमुख कार्यकारी अधिकृतमा मोहनप्रसाद गौतम नियुक्त भएका छन् । कम्पनी सञ्चालक समितिको बैठकले नेपाल विद्युत प्राधिकरणका ११औं तह (निर्देशक)का गौतमलाई सिइओमा नियुक्त गर्ने निर्णय गरेको हो ।
अपर तामाकोसी हाइड्रो स्वदेशी लगानीमा निर्माण भएको राष्ट्रिय गौरवको ४५६ मेगावाट जडित क्षमताको कम्पनी हो । कम्पनीले प्रवद्र्धन गरेको आयोजना निर्माण सम्पन्न भई हाल सञ्चालनमा छ । नवनियुक्त सीईओ गौतमले कम्पनीले अगाडि बढाएको २१ मेगावाट क्षमताको रोल्वालिङ खोला जलविद्युत आयोजनाको निर्माणलाई तीव्रता दिने, संस्थागत सुशासन कायम गर्ने र आयोजना निर्माणका क्रममा बाँकी रहेका विषयलाई फरफारक गर्नेलगायतका काम आफ्नो प्राथमिकतामा रहेको बताए ।
रोल्वालिङ खोलाको पानीलाई पथान्तरण गरी माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको जलाशयमा मिसाउँदा प्राप्त हुने हेडलाई प्रयोग गरी कम्पनीले २१ मेगावाटको छुट्टै आयोजना निर्माण गर्न लागेको छ । इन्जिनियरिङ, खरिद र निर्माण ढाँचामा आयोजना निर्माणका लागि ठेक्का सम्झौता भइसकेको छ । आयोजनाबाट थप १० करोड ५० लाख युनिट वार्षिक ऊर्जा प्राप्त हुने छ । साथैै, रोल्वालिङ खोला माथिल्लो तामाकोसीमा मिसाउँदा २१ करोड ६० लाख युनिट थप ऊर्जा प्राप्त हुने छ । योसँगै प्रणालीमा वार्षिक रुपमा ३२ करोड १० लाख युनिट ऊर्जा थप हुनेछ ।
रसियाको मस्को विश्वविद्यालयबाट इन्जिनियरिङ विषयमा स्नातकोत्तर गौतमसँग जलविद्युत क्षेत्रमा २५ वर्षभन्दा बढी काम गरेको अनुभव छ । उनीसँग बुटवल पावर कम्पनीमा कार्यरत रहँदा नर्वेजियन लगानीमा निर्माण भएको ६० मेगावाटको खिम्ती–१ जलविद्युत आयोजनाको डिजाइन र निर्माण सुपरीवेक्षण गरेको अनुभव छ । २०६०मा प्राधिकरणको सेवा प्रवेश गर्नु भएका उनले २०६४/०७२ सम्म माथिल्लो तामाकोसी जलविद्युत आयोजनामै विभिन्न जिम्मेवारीमा रहेर काम गरेका थिए । सीइओ गौतमले २०७२–२०७३ सम्म ६३५ मेगावाटको दूधकोसी जलाशययुक्त आयोजनामा आयोजना प्रबन्धक भएर काम गरे ।
उनले २०७३/०७९ सम्म ३७ मेगावाट क्षमताको माथिल्लो त्रिशूली ३ बी जलविद्युत आयोजनाको प्रवद्र्धक त्रिशूली जलविद्युत कम्पनीको प्रबन्ध–सञ्चालक भई काम गरिसकेका छन् । प्राधिकरणको प्रतिनिधित्व गर्दै हाल त्रिशूली र जगदुल्ला हाइड्रोपावर कम्पनीको सञ्चालकसमेत छन् । चुक्ता पुँजी १० अर्ब ५९ करोड रुपैयाँ रहेको अपर तामाकोसी हाइड्रोमा प्राधिकरणको ४१ प्रतिशत, नेपाल दूरसञ्चार कम्पनीको ६ प्रतिशत र नागरिक लगानी कोष तथा राष्ट्रिय बबिमा संस्थानको २÷२ प्रतिशत संस्थापक सेयर स्वामित्व रहेको छ ।
कम्पनीमा कर्मचारी सञ्चय कोषका सञ्चयकर्ताको १७.२८ प्रतिशत, आयोजनामा ऋण प्रवाह गर्ने कर्मजारीहरुको २.८८ प्रतिशत, कम्पनी र प्राधिकरणका कर्मचारीहरुको ८.८४ प्रतिशत, दोलखाबासीको १० प्रतिशत र सर्वसाधारणको १५ प्रतिशत साधारण सेयर स्वामित्व छ ।