अर्थतन्त्रको अवस्था सुधार्नका लागि अर्थमन्त्रीले खोजे गभर्नरको साथ

अर्थतन्त्र सुधार्ने उपाय खोज्नका लागि नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी र अर्थमन्त्री डा. प्रकाशशरण महतबीच भेटवार्ता बाक्लो बनेको छ । अर्थतन्त्रमा सुस्तता छाएको अप्ठ्यारो परिस्थितिमा अर्थमन्त्री बनेका डा. महतले अर्थतन्त्रलाई सुधार्नका लागि हरसम्भव कोसिस गर्ने बताउँदै आएका छन् । जसका लागि गभर्नर अधिकारीसहित अन्य सरोकारवाला निकायसँगको छलफललाई अर्थमन्त्री डा. महतले तीव्रता दिएका हुन् ।
मंगलबार मन्त्रालयमा गभर्नर लगायत राष्ट्र बैंकका पदाधिकारीसँग अर्थमन्त्री महतले छलफल गरेका छन् । छलफलमा उनले अर्थतन्त्र सुधार्नका लागि मिलेर जानुपर्नेमा जोड दिए । अर्थमन्त्रीसँगको छलफलमा गभर्नर अधिकारीले अर्थतन्त्र अहिले सुधारोन्मुख अवस्थामा रहेको बताए । गत वर्ष अर्थतन्त्रको बाह्य क्षेत्रमा परेको चाप अहिले भने घट्दो क्रममा रहेको उनको भनाइ छ । गभर्नर अधिकारीले बैंक तथा वित्तीय संस्थामा लगानीयोग्य पुँजी बढिरहेको समेत बताए । उनले जसका कारण आगामी दिनमा क्रमशः ब्याजदर घट्दै जानेसमेत उल्लेख गरे ।
गभर्नर अधिकारीसँग अर्थमन्त्री महतले ब्याजदर घटाउनेबारे समेत छलफल गरेका छन् । गभर्नर अधिकारीले बैंक ब्याजदर घट्दो क्रममा रहेको बताउँदै बाह्य क्षेत्रमा अब खासै समस्या आउँदैन भन्ने भएमा नीतिगत दरहरु पनि घटाउने बताएका छन् । यद्यपी उनले कुनै पनि विषयमा प्रतिवद्धता भने नजनाएको छलफलमा सहभागीमध्ये एकले जानकारी दिए । यसअघि तत्कालिन अर्थमन्त्री जनार्दन शर्मासँग गभर्नर अधिकारीको ‘ट्युनिङ’ मिल्न सकेको थिएन । जसका कारण अर्थतन्त्रमा विभिन्न अन्यौलता सिर्जना भएको भन्दै अझै पनि गभर्नर अधिकारीप्रति बेलाबखत आक्रोश व्यक्त हुने गरेको छ ।
साथै प्रधानमन्त्री देउवासँग समेत ‘ट्युनिङ’ नमिलेको भन्दै गभर्नर बेलाबखत आलोचित बन्नुपरेको थियो । राष्ट्र बैंक अर्थमन्त्रालयको सल्लाहकारको भूमिकामा रहनुपर्ने भएकाले पनि अर्थमन्त्री महतले आफू मन्त्री बनेलगत्तै सम्बन्ध सुदृढ बनाउने प्रयास गरेका छन् । आइतबार मात्रै पनि गभर्नरसँग भेटवार्ता गरी मिलेर अर्थतन्त्रको समस्या समाधानमा लाग्नुपर्नेमा उनले जोड दिएका थिए । त्यसपछि निजी क्षेत्रसँग समेत संवाद गरेका अर्थमन्त्री महतले मंगलबार गभर्नर अधिकारीसँग छलफल गरेका हुन् ।
छलफलमा मन्त्रालयका सचिवद्वय तोयम राय र रामप्रसाद घिमिरे, राष्ट्र बैंकको अनुसन्धान विभाग प्रमुख प्रकाश श्रेष्ठलगायतका उच्च अधिकारी सहभागी थिए । अर्थमन्त्रालयमा भएको छलफलमा राष्ट्र बैंकका अनुसन्धान विभाग प्रमुख प्रकाश श्रेष्ठले तरलता, बाह्य क्षेत्रको अवस्था, सार्वजनिक वित्त, ब्याजदर तथा अन्तर्राष्ट्रिय परिदृश्यसमेतको जानकारी गराएका थिए । अर्थमन्त्री महतले अर्थतन्त्र खराब अवस्थामा रहेको र बजारको मनोविज्ञान समेत कमजोर भएको भन्दै यी समस्या समाधानको पक्षमा आफू रहेको उल्लेख गरेका थिए ।
उनले अर्थतन्त्र सुधारका लागि के–कस्ता कदम चाल्न सकिन्छ भन्ने बारे समेत गभर्नर अधिकारी लगायतका पदाधिकारीसँग छलफल गरेका थिए । मंगलबारको छलफलमा पनि अर्थमन्त्रालयले राष्ट्र बैंकसँग मिलेर अगाडि बढ्ने प्रतिवद्धता दिएका थिए । अर्थमन्त्रालयको कार्यभार सम्हाले लगत्तै महतले आफ्नो सक्रियता थप बढाएका छन् । उनले गभर्नरसँग मात्र नभई शेयर बजारका लगानीकर्ता, नेपाल धितोपत्र बोर्ड, निजी क्षेत्रलगायतसँग समेत छलफल गरिसकेका छन् ।