पर्यटक आगमनले देखाएको आशा

यस वर्षको मार्चमा नेपालमा झन्डै १ लाखको संख्यामा पर्यटक आएको तथ्यांक सार्वजनिक हुनु कोभिड महामारीपछि थला परेको पर्यटन क्षेत्रका लागि सुखद सन्देश हो । कोभिड–१९ पछि नेपालमा मात्र होइन, संसारभर नै सबैभन्दा समस्या आएको क्षेत्र पर्यटन व्यवसाय हो । कोभिडका कारण हिँडडुल बन्द भएकाले करिब तीन वर्ष यो व्यवसाय थला परेको थियो । यस्तोमा कोभिडअघिकै जस्तै गरी पर्यटक आउनु नेपाली व्यवसायीका लागि सुनौलो पक्ष हो ।
नेपाल पर्यटन बोर्डले दुई दिनअघि सार्वजनिक गरेको तथ्यांकअनुसार यो वर्ष मार्चमा ९९ हजार ४ सय २६ पर्यटक नेपाल आएका छन् । यो कोभिड अगाडिको तथ्यांकजस्तै हो । कोभिडअघि सन् २०१९ को मार्चमा १ लाख २७ हजार पर्यटक थिए । कोभिडपछिका तीन वर्षलाई हेर्दा यो निकै सुधार हो । कोभिडकालका कुनै पनि वर्ष र महिनामा यत्तिको संख्यामा पर्यटक आएका थिएनन् । कोभिडका तीन वर्षमा सबैभन्दा बढी पर्यटक सन् २०२२ को अक्टोबरमा आएका थिए ।
त्यो बेला ८८ हजार ५ सय ८२ जना पर्यटकले भ्रमण गरेका थिए । यो वर्षको आगमनले कोभिड–१९ अगावैको लयमा पर्यटक आउने अनुमान गर्न सकिने देखिएको छ । सन् २०१९ मा ११ लाख ९७ हजार पर्यटक आएकामा यो वर्ष तीन महिनामै पर्यटक संख्या २ लाख २८ हजार पुगेको छ । यसमध्ये जनवरीमा ५५ हजार र फेबु्रअरीमा ७३ हजार २ सय ५५ पर्यटक नेपाल आएका थिए । सन् २०१९ को तीन महिनामा जति पर्यटक आएका थिए, यो वर्ष त्यसको क्रमशः ७०, ७४ र ७८ प्रतिशत आएका छन् ।
नेपाल आउने पर्यटकमा सदाझैं यो वर्ष पनि भारतीय हिस्सा सबैभन्दा बढी छ । यस्तै दोस्रोमा बेलायत रहेको छ । उत्तरी छिमेकी चीनले कोभिड–१९ पछि आफ्ना नागरिकलाई हालै भ्रमणमा निस्किन दिएको छ । त्यसमा घुम्नुपर्ने मुलुकको सूचीमा नेपाल पनि राखिएको छ । यसले आगामी दिनमा चिनियाँ पर्यटक बढ्ने अनुमान गर्न सकिन्छ । त्यसै पनि चीनबाट नेपालमा धेरैको संख्यामा पर्यटक आउने गरेकै छन् । यो महिना चीनबाट २ हजार ६ सय ३५ पर्यटक नेपाल आएका छन् ।
अहिले पर्यटकीय मौसम हो । यो बेला खासमा पर्यटक हिमाल आरोहणका लागि बढी आउने गर्छन् । यो वर्ष पनि त्यही भएको छ । हिमाल आरोहण गर्दा लाग्ने राजस्व अहिले बढेबाट पनि यो क्षेत्रमा पर्यटक धेरै आएको देखिन्छ । कोभिड–१९ पछि अहिले पर्यटक बढी जाने विश्वका अन्य मुलुकहरूमा ७० देखि ८० प्रतिशत पर्यटन पुनरुत्थान भइसकेको छ । हामी अझै त्यो स्थानमा पुग्न सकेका छैनौं । तर पनि पछिल्ला महिनाहरूमा बढेको पर्यटक संख्याले उत्साह भने थपेको छ ।
पछिल्लो समय सार्क मुलुककै हाराहारीमा युरोपबाट नेपालमा पर्यटक आएका छन् । यसले पर्यटन व्यवसायीलाई उत्साह थपेको हुनुपर्छ । कोभिडका करिब तीन वर्षमा अस्तव्यस्त बनेको पर्यटन क्षेत्र बिस्तारै सुधारोन्मुख बन्दै आएको छ । यो क्षेत्र समस्याग्रस्त बनेको भन्दै सरकारले केही सेवा सुविधा दिएको थियो । पर्यटन व्यवसायीले अझै पनि व्यवसायमा सुधार नआएको भन्दै लिएको कर्जाको साँवाब्याज भुक्तानीको तालिका सार्न आग्रह गर्दै आएका छन् ।
केही दिनअघि पोखराका व्यवसायीले पत्रकार सम्मेलन गरी चैतमा तिर्नुपर्ने किस्ता तिर्न नसक्ने गुनासो गरेका थिए । उनीहरूले अहिलेको किस्ता असारसम्म सार्न आग्रह गरेका थिए । पोखराजस्तै मुलुकका अन्य भागमा रहेका पर्यटन व्यवसायीको अवस्था पनि यस्तै हो । त्यसैले व्यवसायीको आग्रहअनुसार सरकारले सक्दो सहयोग गर्नुपर्छ । पछिल्लो समय संसारभरका पर्यटक घुम्न निस्कने प्रवृत्तिमा केही सुधार आए पनि यो तत्काल दिगो हुँदैन कि भन्ने शंका पनि साथसाथै उत्पन्न भएको छ ।
यही बेला विश्वका धेरै मुलुकमा महँगी र आर्थिक मन्दी देखा परेको छ । त्यसैले फेरि बाहिर घुम्न निस्कने लयमा ‘ब्रेक’ लाग्न सक्छ । त्यसैले पर्यटक बढ्दै छन् भनेर ढुक्क हुने अवस्था छैन । हाम्रो मुलुकको सन्दर्भमा दुई छिमेकी मुलुकका नागरिकलाई आकर्षण गर्न सकेमात्र पनि पुग्छ । विश्वको ८ अर्ब जनसंख्यामध्ये साढे २ अर्बभन्दा धेरै जनसंख्या यिनै दुई छिमेकी मुलुकमा छ । त्यसमा पनि दुवै मुलुकका नागरिक धेरै घुम्न निस्कनेमा पर्छन् ।
चीनको अर्थतन्त्रको आकार विश्वमा दोस्रो स्थानमा छ भने भारत पनि ठूलोमध्येको पाँचभित्रमा पर्ने भनिएको छ । यस्तोमा हामीले सबैभन्दा बढी ध्यान छिमेकीलाई तान्नमा नै केन्द्रित गर्नुपर्छ । अर्कातिर भारतलगायत अन्य केही मुलुकबाट धार्मिक पर्यटक भित्र्याउन पनि हाम्रो जोड हुनुपर्छ । पर्यटक आगमनको पछिल्लो शुभसंकेतलाई आगामी दिनमा पनि कायम राख्ने गरी काम गर्न सके लाखौं पर्यटक ल्याउन गाह्रो छैन ।